Tuesday, March 29, 2011

बुढो हुन लागिसकेँ


पहिले जस्तो क्रेज छैन उनको । प्रायः एकनासे कार्यक्रम दिएर पनि होला उनको हाँस्य टेलिशृङ्खलाले दर्शक गुमाउँदै गएको छ । उनी अर्थात् तीतो सत्यका दीपकराज गिरी । दर्शक गुमाएको स्विकारे पनि दीपक तीतो सत्य विज्ञापनको हिसाबले अझै पनि नम्बर वान भएको दाबी गर्छन् । २०४८ सालबाट यस क्षेत्रमा प्रवेश गरेका दीपकले रेडियो नाटक, हाँस्य टेलिशृङ्खला तथा थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् ।
अचेल तीतो सत्य खस्कँदै गएको छ भन्छन् नि ?
दिन प्रतिदिन लोडसेडिङ बढ्दैछ । यसले गर्दा दर्शक गुमाउँदै गएको कुरो सत्य हो तर नेपाल टेलिभिजनबाट मात्र होइन, नेपालका टेलिभिजन च्यानलहरूले प्रसारण गर्ने सबै कार्यक्रमहरूमा तीतो सत्य अहिले पनि एक नम्बरमा नै छ । विज्ञापनको हिसाबले पनि एक नम्बरमै छ । फेरि तीतो सत्य दुई नम्बरमा पुग्नका लागि अर्को एक नम्बरमा आउनु पर्‍यो नि होइन र ?
सुरुमा प्रसारण हुँदा जस्तो अहिले पनि लोकप्रिय छ त ?
म त पहिले जवान थिएँ भने अहिले बुढो हुन लागिसकेँ । एउटै कुरो सधैँ कहाँ कायम रहन सक्छ र । फेरि धेरै वर्ष एउटै कार्यक्रम चलाइरहँदा उपयोगिता ह्रास नियम लागू भइहाल्छ । एउटै अनुहार सधैँ हेरिरहँदा दर्शक अघाउँछन् । यो कुरो सन्तोष पन्त, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अमिताभ बच्चनजूता कलाकारले कार्यक्रम गर्दा पनि लागू भएको छ ।
तीतो सत्यका कलाकार धमाधम अन्त हिँड्दै छन् त ?
उहाँहरूले आफैँ कार्यक्रम निर्माण गर्न थाल्नुभयो । तीतो सत्य टेलिशृङ्खला कलाकारमा आधारित कार्यक्रम नभएर विषयवूतुमा आधारित कार्यक्रम हो । समयअनुसार फेरबदल त भइरहन्छ ।
दीपाश्री निरौलासँगको सम्बन्धलाई लिएर बेलाबेलामा किन चर्चा चलेको होला ?
उहाँसँग मेरो व्यावसायिक सम्बन्ध मात्र हो । यो सम्बन्ध राम्रो पनि छ । उहाँ महिला भएकै कारणले सबैमा जिज्ञासा हुनु स्वाभाविकै हो । महिला साथी नभएको भए यस्तो जिज्ञासा उठ्ने थिएन होला ।
पैसा त टन्न कमाउनुभयो, होइन ?
बाँड्न पुग्ने गरी र अख्तियार पछि लाग्ने गरी चाहिँ कमाएको छैन । सामान्य जागिरेको जिन्दगीभन्दा चाहिँ माथि नै छ । लोडसेडिङको चपेटाले गर्दा सबै क्षेत्रझैँ यो क्षेत्र पनि पीडित छ । राम्रोसँग काम गर्न पाएका छैनौँ ।
तैपनि आफ्नो गाउँलाई एम्बुलेन्स दान गर्नु भयो त ?
अहिले पनि मैले मेरो गाउँ छाडेको छैन । यो एम्बुलेन्स मेरो स्वर्गीय भाइको नाममा दिएको हो । परिवारको पनि राम्रो आर्थिक अवस्था भएकाले यो काम गर्न सजिलो भएको हो । नत्र म एक्लैले नौ-नौ लाखको एम्बुलेन्स कसरी दिन सक्थेँ र !  मेरो नाम जोडेर प्रचार मात्र गरिएको हो ।
सबै कलाकारले हसाउन एउटै विषय रोजेजस्तो लाग्दैन ?
सबभन्दा ठूलो कुरो प्रस्तुति हो । एउटै विषयमा हजारौँ चलचित्र बनेका हुन्छन् तर जसको प्रस्तुति राम्रो छ, त्यसलाई दर्शकले बिर्सन सक्दैनन् । हसाउने काममा पनि जसले राम्रो प्रस्तुति गर्छ, उसले चर्चा कमाउँछ ।
कुनै बेला झण्डै नेपाल प्रहरीको असई साप भइसक्नु भा’थ्यो, भएको भए ?
म नेपाल प्रहरीको भगौडा हुँ । असई भएको भए अहिले डीएसपी हुन्थेँ होला तर मेरो पेसाको म अहिले डीआईजी भएको छु । रमाइलोशुक्बार/पुष्पराज

Wednesday, March 2, 2011

अहिलेलाई एक्लो जीवन नै रमाइलो


धनिया अर्थात् दीपाश्री निरौला । हास्य टेलिसिरियल ‘तितो सत्य’ मार्फत दर्शकलाई हसाउँदै आएकी दीपा समकालीनमाझ ‘मोस्ट ब्याचलर’ अभिनेत्री पनि हुन् । पच्चीस वर्षअघिदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी दीपाले विराटनगरबाट आˆनो क्यारियर सुरु गरेकी हुन् । २०४८ सालतिर विराटनगरमा निर्माण गरिएको टेलिसिरियल ‘अग्निपथ’ ले उनलाई ‘बेस्ट न्यु कमर’को अवार्ड दिलायो । यसपछि एकाएक उनी राष्ट्रिय मिडियामा छाइन् । रेडियो कार्यक्रममा धनियाको रूपमा पनि उनले निकै चर्चा कमाइन् । यसपछि २०५४ सालमा ‘नासो’ र २०५५ मा ‘गाउँले’ चलचित्रमा अभिनय गरेपछि उनको कलायात्रा अविरल अगाडि बढिरहेको छ । उनलाई के मनपर्दो रै’छ त ?

 ठूलो पर्दा कि सानो पर्दा ?
सानो पर्दा ।
भुवन केसी कि राजेश हमाल ?
राजेश हमाल ।
 जिरे खुर्सानी कि मेरी बास्सै ?
मेरी बास्सै ।
 एक्लो जीवन कि पारिवारिक जीवन ?
अहिलेलाई एक्लो जीवन बिहेपछि पारिवारिक जीवन ।
 साडी कि कुर्था ?
साडी ।
जाडो कि गर्मी ?
विराटनगरमा जन्मेकाले गर्मी ।
प्रधानमन्त्री झलनाथ खनाल कि एनेकपा माओवादी अध्यक्ष प्रचण्ड ?
प्रधानमन्त्री झलनाथ खनाल ।
मदनकृष्ण श्रेष्ठ कि हरिवंश आचार्य ?
उहाँहरू दुवै पूजनीय हुनुहुन्छ । म छुट्याउन चाहन्न ।
 विराटनगर कि काठमाडौं ?
विराटनगर ।

गणतन्त्र कि लोकतन्त्र ?
गणतन्त्र आएको बेलामा गणतन्त्र नि ।
 धनिया कि दीपा ?
दीपा ।
 घरको खाना कि होटेलको ?
मिठो त घरकै खाना हो तर कार्यव्यस्तताले होटेलको खाना खानु परिरहेको छ ।
 विदेशमा कार्यक्रम गर्दा धेरै पटक कतार र कुवेत जानुभएको छ । त्यसैले कतार कि कुवेत ?
कतार र कुवेत बाहेक हङकङ, मलेसिया, अमेरिका आदि धेरै ठाउँ गएको छु । विदेशमा बसेका सबै नेपालीले उत्तिकै माया गर्नुहुन्छ । त्यसैले यो ठाउँ भन्ने नै छैन ।
आलोचना कि तारिफ ?
काम बिगार्दा आलोचना पनि सहनुपर्छ तर तारिफ गरेकै सुन्न मनपराउँछु । राम्रो कुरो सुन्न मनपराउनु मानिसको स्वभाव नै हो । रमाइलो शुक्रबारबाट

मंगल ग्रहमा पानी खोज्दै नेपाली

By Landscope Pill, on March 2nd, 2011

ओझा आफ्नो ल्याबमा मंगल ग्रहको थ्री डी चित्र देखाउँदै। फोटो साभारः Arizona Daily Wildcat
१५ वर्षको उमेरमा अमेरिका पुगेका एक नेपाली लुजेन्द्र ओझाले मंगल ग्रहमा तरल अवस्थामा पानी हुन सक्ने संकेत आफ्नो अनुसन्धानका क्रममा भेट्टाएका छन्। वासिङटनको क्यापिटल हिलमा आउँदो अप्रिल १३ तारिखमा उनले यससम्बन्धी आफ्नो अनुसन्धान प्रस्तुत गर्दैछन्। यसमा सहभागी हुन करिब ७ सय अन्डरग्राजुएटहरुले आवेदन दिएकामा उनीसहित ७४ जना छानिएका थिए।
डेलीवाइल्डक्याट डट कमसँगको अन्तर्वार्तामा उनले यो विषयमा डेढ वर्षदेखि अनुसन्धान गरिरहेको र यसै विषयमा सिनियर थेसिस लेखेको बताएका छन्। नेपालबाट त्यहाँ पुग्दादेखि नै यस किसिमको अनुसन्धानमा आफ्नो विशेष रुचि रहेको भन्दै ओझाले आफ्नो प्लानेटरी साइन्टिस्ट हुने लक्ष्य रहेको बताए।