पहिले जस्तो क्रेज छैन उनको । प्रायः एकनासे कार्यक्रम दिएर पनि होला उनको हाँस्य टेलिशृङ्खलाले दर्शक गुमाउँदै गएको छ । उनी अर्थात् तीतो सत्यका दीपकराज गिरी । दर्शक गुमाएको स्विकारे पनि दीपक तीतो सत्य विज्ञापनको हिसाबले अझै पनि नम्बर वान भएको दाबी गर्छन् । २०४८ सालबाट यस क्षेत्रमा प्रवेश गरेका दीपकले रेडियो नाटक, हाँस्य टेलिशृङ्खला तथा थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् ।
अचेल तीतो सत्य खस्कँदै गएको छ भन्छन् नि ?
दिन प्रतिदिन लोडसेडिङ बढ्दैछ । यसले गर्दा दर्शक गुमाउँदै गएको कुरो सत्य हो तर नेपाल टेलिभिजनबाट मात्र होइन, नेपालका टेलिभिजन च्यानलहरूले प्रसारण गर्ने सबै कार्यक्रमहरूमा तीतो सत्य अहिले पनि एक नम्बरमा नै छ । विज्ञापनको हिसाबले पनि एक नम्बरमै छ । फेरि तीतो सत्य दुई नम्बरमा पुग्नका लागि अर्को एक नम्बरमा आउनु पर्यो नि होइन र ?
सुरुमा प्रसारण हुँदा जस्तो अहिले पनि लोकप्रिय छ त ?
म त पहिले जवान थिएँ भने अहिले बुढो हुन लागिसकेँ । एउटै कुरो सधैँ कहाँ कायम रहन सक्छ र । फेरि धेरै वर्ष एउटै कार्यक्रम चलाइरहँदा उपयोगिता ह्रास नियम लागू भइहाल्छ । एउटै अनुहार सधैँ हेरिरहँदा दर्शक अघाउँछन् । यो कुरो सन्तोष पन्त, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अमिताभ बच्चनजूता कलाकारले कार्यक्रम गर्दा पनि लागू भएको छ ।
तीतो सत्यका कलाकार धमाधम अन्त हिँड्दै छन् त ?
उहाँहरूले आफैँ कार्यक्रम निर्माण गर्न थाल्नुभयो । तीतो सत्य टेलिशृङ्खला कलाकारमा आधारित कार्यक्रम नभएर विषयवूतुमा आधारित कार्यक्रम हो । समयअनुसार फेरबदल त भइरहन्छ ।
दीपाश्री निरौलासँगको सम्बन्धलाई लिएर बेलाबेलामा किन चर्चा चलेको होला ?
उहाँसँग मेरो व्यावसायिक सम्बन्ध मात्र हो । यो सम्बन्ध राम्रो पनि छ । उहाँ महिला भएकै कारणले सबैमा जिज्ञासा हुनु स्वाभाविकै हो । महिला साथी नभएको भए यस्तो जिज्ञासा उठ्ने थिएन होला ।
पैसा त टन्न कमाउनुभयो, होइन ?
बाँड्न पुग्ने गरी र अख्तियार पछि लाग्ने गरी चाहिँ कमाएको छैन । सामान्य जागिरेको जिन्दगीभन्दा चाहिँ माथि नै छ । लोडसेडिङको चपेटाले गर्दा सबै क्षेत्रझैँ यो क्षेत्र पनि पीडित छ । राम्रोसँग काम गर्न पाएका छैनौँ ।
तैपनि आफ्नो गाउँलाई एम्बुलेन्स दान गर्नु भयो त ?
अहिले पनि मैले मेरो गाउँ छाडेको छैन । यो एम्बुलेन्स मेरो स्वर्गीय भाइको नाममा दिएको हो । परिवारको पनि राम्रो आर्थिक अवस्था भएकाले यो काम गर्न सजिलो भएको हो । नत्र म एक्लैले नौ-नौ लाखको एम्बुलेन्स कसरी दिन सक्थेँ र ! मेरो नाम जोडेर प्रचार मात्र गरिएको हो ।
सबै कलाकारले हसाउन एउटै विषय रोजेजस्तो लाग्दैन ?
सबभन्दा ठूलो कुरो प्रस्तुति हो । एउटै विषयमा हजारौँ चलचित्र बनेका हुन्छन् तर जसको प्रस्तुति राम्रो छ, त्यसलाई दर्शकले बिर्सन सक्दैनन् । हसाउने काममा पनि जसले राम्रो प्रस्तुति गर्छ, उसले चर्चा कमाउँछ ।
कुनै बेला झण्डै नेपाल प्रहरीको असई साप भइसक्नु भा’थ्यो, भएको भए ?
म नेपाल प्रहरीको भगौडा हुँ । असई भएको भए अहिले डीएसपी हुन्थेँ होला तर मेरो पेसाको म अहिले डीआईजी भएको छु । रमाइलोशुक्बार/पुष्पराज
No comments:
Post a Comment