२३ माघ, काठमाडौं ।
निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपालले आफुले राजिनामा दिएको सात महिनापछि भएपनि मुलुकले नयाँ सरकार पाएकोमा खुसी व्यक्त गर्नु भएको छ । वर्तमान प्रधानमन्त्रीका रुपमा अन्तिम प्रेस वक्तव्य जारी गर्दै नेपालले झलनाथ खनाल नेतृत्वको नयाँ सरकारलाई शान्ति र संविधान निर्माणका बाँकी कार्यभारहरु पूरा गर्ने दिशामा पूर्ण सफलता मिलोस् भन्ने कामना पनि गर्नु भएको छ । उहाँले आपसी सहमतिका आधारमा अब छिट्टै माओवादीका लडाकुहरुको समायोजन र पुनःस्थापना हुने र नयाँ संविधान निर्माणको आधार तयार हुने विश्वास पनि व्यक्त गर्नु भएको छ ।
प्रेस वक्तव्यको पूर्णपाठ
२०६६ जेठ ९ गते व्यवस्थापिका-संसद्बाट सर्वसम्मत रुपमा निर्वाचित भई मैले प्रधानमन्त्रीको कार्यभार सम्हालेको थिएँ । त्यसबीचमा अनेक प्रतिकुलताहरुको सामना गर्दै मैले शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने, नयाँ संविधान निर्माण गर्ने, शान्ति-सुरक्षा बहाली गर्ने, विकास-निर्माणलाई तीब्रता दिने, वर्षौंदेखि निस्त्रिmय रहेका सरकारी संयन्त्रहरुलाई सक्रिय बनाउने, राजनीतिक सहमति कायम गर्ने जस्ता काममा आफ्नो क्षमता, योग्यता र परिस्थितिले भ्याएसम्म ध्यान केन्दि्रत गरेको थिएँ । आफूसँग सुविधाजनक बहुमत हुँदाहुँदै राष्ट्रिय सहमतिका लागि मैले २०६७ असार १६ गते राजीनामा दिएको थिएँ । तर, त्यसपछि राष्ट्रिय सहमति त परै जाओस्, सात महिनासम्म बहुमतको सरकार पनि बन्न नसक्दा म अत्यन्त खिन्न थिएँ । अहिले मुलुकले बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री पाएको छ । यसमा म खुसी छु । नयाँ प्रधानमन्त्री झलनाथ खनाललाई बाँकी कार्यभारहरु पूरा गर्ने दिशामा पूर्ण सफलता मिलोस् भन्ने कामना गर्दछु ।
चुनौतीपूर्ण घडीमा पनि शान्ति प्रंक्रियाका सम्बन्धमा केही ठोस कामहरु भएका छन् । माओवादीका शिविरहरुमा रहेका कम उमेरका लडाकुहरुलाई बाहिर निकालिएको छ भने माओवादी लडाकुका शिविरहरुलाई विशेष समितिको मातहतमा ल्याइएको छ । समायोजन र पुनःस्थापनसम्बन्धी आधारहरु तयार गरिएको छ । आपसी सहमतिका आधारमा अब छिट्टै माओवादीका लडाकुहरुको समायोजन र पुनःस्थापना हुनेछ र नयाँ संविधान निर्माणको आधार तयार हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
संकटपूर्ण घडीमा पनि सत्ता साझेदार दलहरुबाट प्राप्त निरन्तर सहयोग र समर्थनका लागि म आभार प्रकट गर्दछु । अतिवादको खतरालाई कम गर्न, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, शान्ति प्रक्रियालाई अघि बढाउन र सहमतिका आधारमा राज्य सञ्चालन गर्न तपाईंहरुले मलाई गरेको विश्वास र सहयोगप्रति म सदा ऋणी रहनेछु । साथै, संविधानसभामा रहेका सम्पूर्ण दल, ती दलका नेता तथा सभासद् मित्रहरुलाई पनि म धन्यवाद दिन चाहन्छु । म र मेरो सरकारलाई सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, पेसागत संघ/संस्था, अन्तर्राष्ट्रिय समुदाय, राजनीतिक कार्यकर्ता, नागरिक समाज र आम जनसमुदायलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।
राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, अखण्डता, लोकतन्त्र र जनताका लागि अग्रमोर्चामा रहेर लड्न म सधैँ प्रतिबद्ध छु । पदमा हुँदा वा नहुँदा मेरो यस प्रतिबद्धतामा कुनै फरक आउने छैन ।
No comments:
Post a Comment