Thursday, February 17, 2011

आखिर लगेरै छाडे रावलले सरकारी पजेरो


४ फागुन, काठमाडौं । गृहमन्त्री हुँदा आफैले छानेर किनेको करिव डेढ करोड मूल्य पर्ने मित्सुबिसी गाडी पद छाडेपछि पनि बलपूर्वक लगेका पूर्व गृहमन्त्री भीम रावलले त्यसलाई बैधानिकता दिएरै छाडेका छन् ।
निवर्तमान भएको एक सातापछि गृहमन्त्रीको हैसियतमा जेनेभा पुगेका रावलले गृहबाट पत्र लेखाएर जर्वजस्त लगेको पजेरोलाई वैधानिकमात्र बनाएनन, त्यसमा रातो प्लेट हालेर निजीको हैसियतमा चढने भएका छन् ।
गृहसचिव गोविन्द कुसुमलाई दवाव दिएर निवर्तमान गृहमन्त्री रावलले जबर्जस्ती लगेको मित्सुविसी पजेरोलाई ‘वैधानिकता’ दिलाउने काम गरेका छन् ।
गृहमन्त्रीबाट विदा हुँदा समेत आफूसँगै लिएर जाने मनस्थितिका साथ रावलले मन्त्रालयलाई पजेरो किन्न लगाएका थिए । बा १ झ ८६७१ नम्बरको मित्सुविसी पजेरो अर्को निर्णय नहुन्जेलसम्मलाई दिने गरी टिप्पणी उठाउन कुसुमले गृहमन्त्रालयको आन्तरिक व्यवस्थापन शाखालाई लगाएका थिए । आन्तरिक व्यवस्थापन शाखाले पनि रावल र कुसुमको दवाव बमोजिम पजेरो दिने निर्णय गरेको छ ।
सरकारी गाडीमा सेतो नम्वर प्लेट हुनुपर्ने प्रावधान विपरित कुसुमले रावलको गाडीमा रातो नम्वर प्लेट राख्न पनि आन्तरिक व्यवस्थान शाखालाई दवाव दिएका छन् ।
यसअघि रावलले बा १ झ ५२२० नम्बरको सरकारी टोयटा गाडीमा रातो प्लेटको उस्तै नम्बर राखी रावलपत्नीले चढ्दै आएकी छन् । करिव २० महिना गृह मन्त्रालय सम्हालेका रावलले पदबाट बिदा हुँदा करिव दुई करोड मूल्यका दुईवटा गाडी निजी प्रयोजनका लागि अनन्तकालसम्म प्रयोग गर्न पाउने गरि नाफा कमाएका छन् ।
Source - : Onlinekhabar. Com

Sunday, February 13, 2011

तिमी संग मनका कुरा


तिमी संग मनका कुरा गर्न बाकी छ
एक आपसमा प्रमको बिज छर्न बाकी छ

रिसाएर सधै भरी हिडछौ किन तर्कि
पिरै पिरले आशु मेरो झर्न बाकी छ


कल्कलाउदो बैश तिम्रो उर्लिएको देख्दा
एकान्तमा तिम्रो सामु पर्न बाकी छ

सुकुमारी हात तिम्रो मेरो हातमा पर्दा
लजाएर अलि पर सर्न बाकी छ

Friday, February 11, 2011

एक पिक्सलको क्यामरा


स्पेनको कास्टेलोमा रहेको युनिर्भसिटेट जाउमको अप्टिक रिसर्च ग्रुपका अनुसन्धानकर्ताहरूले साइन्टिफिक इमेजिङको क्षेत्रमा नयाँ प्रयोग गर्दै एक पिक्सलको उच्च गुणस्तरको तस्बिर खिच्नमा सफलता पाएका छन् । मात्र एक पिक्सलको सेन्सरले उच्च गुणस्तरको छवि रेकर्ड गर्न सक्ने र सुरक्षित रूपमा त्यसलाई वितरण गर्न सक्ने बताइएको छ । 
सन् २००९ मा विलार्ड एस बायल र जर्ज इ स्मिथले डिजिटल सेन्सरद्वारा तस्बिर खिच्न सकेकोमा भौतिकशास्त्रको नोबेल पुरस्कार जितेका थिए । छोटो समयमा फोटोइलेक्टि्रक इफेक्टको माध्यमद्वारा कयौँ पिक्सलमा खिचिएको तस्बिरलाई विद्युतीय सङ्केतमा रेकर्ड गर्ने प्रक्रिया यसमा लागू हुन्छ । क्यामराको सीसीडी सेन्सरले मानव रेटिना सरह काम गर्दछ । अचेल बाह्र मेगा पिक्सलको सीसीडी सेन्सर भएका क्यामरा सामान्य भइसक्यो । पिक्सल बढे पनि पिक्सलको ब्यास समान नै रहेको छ । एक पिक्सलको व्यास २४ दशमलव ७ हुने गर्छ । सामान्य बुझाइमा अधिक पिक्सल भएमा तस्बिरको गुणस्तर राम्रो हुन्छ भन्ने छ तर सधैँ यस्तो हुँदैन अन्य पक्ष पनि यसमा जिम्मेवार हुन्छन् । जस्तो कि लेन्सको गुणस्तर । साथै बढी पिक्सेलले अधिक मेमोरी पनि खान्छ ।
स्पेनका अनुसन्धानकर्ताहरूले मात्र एक पिक्सलको सेन्सरबाट उच्च गुणस्तरको तस्बिर खिचेर इमेज सेन्सिङ प्रविधिमा नयाँ क्रान्ति ल्याएका छन् । वैज्ञानिकहरूले आफनो खोजलाई घोस्ट इमेजिङ भनेका छन् । अहिलेलाई द्विआयामिक तस्बिर एकल पिक्सलबाट खिचिएको छ ।
 

Sunday, February 6, 2011

जाँदा जाँदै के भने माधव नेपालले ?


२३ माघ, काठमाडौं ।
निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपालले आफुले राजिनामा दिएको सात महिनापछि भएपनि मुलुकले नयाँ सरकार पाएकोमा खुसी व्यक्त गर्नु भएको छ । वर्तमान प्रधानमन्त्रीका रुपमा अन्तिम प्रेस वक्तव्य जारी गर्दै नेपालले झलनाथ खनाल नेतृत्वको नयाँ सरकारलाई शान्ति र संविधान निर्माणका बाँकी कार्यभारहरु पूरा गर्ने दिशामा पूर्ण सफलता मिलोस् भन्ने कामना पनि गर्नु भएको छ । उहाँले आपसी सहमतिका आधारमा अब छिट्टै माओवादीका लडाकुहरुको समायोजन र पुनःस्थापना हुने र नयाँ संविधान निर्माणको आधार तयार हुने विश्वास पनि व्यक्त गर्नु भएको छ । 
प्रेस वक्तव्यको पूर्णपाठ
२०६६ जेठ ९ गते व्यवस्थापिका-संसद्बाट सर्वसम्मत रुपमा निर्वाचित भई मैले प्रधानमन्त्रीको कार्यभार सम्हालेको थिएँ । त्यसबीचमा अनेक प्रतिकुलताहरुको सामना गर्दै मैले शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने, नयाँ संविधान निर्माण गर्ने, शान्ति-सुरक्षा बहाली गर्ने, विकास-निर्माणलाई तीब्रता दिने, वर्षौंदेखि निस्त्रिmय रहेका सरकारी संयन्त्रहरुलाई सक्रिय बनाउने, राजनीतिक सहमति कायम गर्ने जस्ता काममा आफ्नो क्षमता, योग्यता र परिस्थितिले भ्याएसम्म ध्यान केन्दि्रत गरेको थिएँ । आफूसँग सुविधाजनक बहुमत हुँदाहुँदै राष्ट्रिय सहमतिका लागि मैले २०६७ असार १६ गते राजीनामा दिएको थिएँ । तर, त्यसपछि राष्ट्रिय सहमति त परै जाओस्, सात महिनासम्म बहुमतको सरकार पनि बन्न नसक्दा म अत्यन्त खिन्न थिएँ । अहिले मुलुकले बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री पाएको छ । यसमा म खुसी छु । नयाँ प्रधानमन्त्री झलनाथ खनाललाई बाँकी कार्यभारहरु पूरा गर्ने दिशामा पूर्ण सफलता मिलोस् भन्ने कामना गर्दछु ।
चुनौतीपूर्ण घडीमा पनि शान्ति प्रंक्रियाका सम्बन्धमा केही ठोस कामहरु भएका छन् । माओवादीका शिविरहरुमा रहेका कम उमेरका लडाकुहरुलाई बाहिर निकालिएको छ भने माओवादी लडाकुका शिविरहरुलाई विशेष समितिको मातहतमा ल्याइएको छ । समायोजन र पुनःस्थापनसम्बन्धी आधारहरु तयार गरिएको छ । आपसी सहमतिका आधारमा अब छिट्टै माओवादीका लडाकुहरुको समायोजन र पुनःस्थापना हुनेछ र नयाँ संविधान निर्माणको आधार तयार हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
संकटपूर्ण घडीमा पनि सत्ता साझेदार दलहरुबाट प्राप्त निरन्तर सहयोग र समर्थनका लागि म आभार प्रकट गर्दछु । अतिवादको खतरालाई कम गर्न, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, शान्ति प्रक्रियालाई अघि बढाउन र सहमतिका आधारमा राज्य सञ्चालन गर्न तपाईंहरुले मलाई गरेको विश्वास र सहयोगप्रति म सदा ऋणी रहनेछु । साथै, संविधानसभामा रहेका सम्पूर्ण दल, ती दलका नेता तथा सभासद् मित्रहरुलाई पनि म धन्यवाद दिन चाहन्छु । म र मेरो सरकारलाई सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, पेसागत संघ/संस्था, अन्तर्राष्ट्रिय समुदाय, राजनीतिक कार्यकर्ता, नागरिक समाज र आम जनसमुदायलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।
राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, अखण्डता, लोकतन्त्र र जनताका लागि अग्रमोर्चामा रहेर लड्न म सधैँ प्रतिबद्ध छु । पदमा हुँदा वा नहुँदा मेरो यस प्रतिबद्धतामा कुनै फरक आउने छैन ।

Tuesday, February 1, 2011

नक्कली लुम्बिनी बनाउने भारतीय प्रयासमा तुषारापात

१७ माघ, काठमाडौं ।
onlinekhabar.com  बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ । हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी जहाजबाट गरिएको एक्स-रेले तिलौराकोटमुनि सहर नै रहेको पत्ता लागेको हो । बेलायती विश्वविद्यालय डरहामका विशेषज्ञले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि गरेको छ ।
एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गरिएको छ ।
त्यहाँ पाइने इँटालगायतका अन्य सामग्रीबाट पनि तिनीहरू कति सय वर्ष पुराना हुन् भनी पत्ता लगाउन सकिन्छ । बुद्धकालीन वा सोभन्दा पुरानो सहर, दरबार र अन्य संरचना जस्ताको तस्तै उत्खनन गरी प्रदर्शनयोग्य बनाउन ५ वर्ष लाग्ने अनुसन्धानमा संलग्नहरुले जनाएका छन् । यसअनुसार, ३ वर्ष उत्खनन, एक वर्ष संग्रहालयका रूपमा व्यवस्थापन र अर्को एक वर्षमा विश्वसामु यसको सार्वजनिकीकरण गरिने कार्यक्रम छ ।
के गर्दै छ भारतले ?
बुद्ध भारतमै जन्मिएका हुन भन्ने भारतीय दावीलाई पुष्टी गर्न तथा बिश्व समुदायलाई भ्रममा पार्न भारतले नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ जुन २०१२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । नेपालको कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माणकार्य अन्तिम अवस्थामा छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका भए पनि उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो । उनी तिलौराकोटमा राजा शुद्धोधनको दरबारमा जन्मिएका थिए ।
तर, भारतले भने शुद्धोधनको दरबार तिलौराकोट, गौतमबुद्धको मावली देवदह र उनको जन्मस्थल लुम्बिनी सारा भारतमै बनाउन थालेको छ । अलिगढवामा बुद्धसित सम्बन्धित विभिन्न निर्माणकार्य तीब्र गतिमा भइरहेका छन् । निर्माणकार्यमा ट्रयाक्टरमात्र होइन, ५० औँ मजदुर खटिएका छन्
नक्कली लुम्बिनीको सुरक्षार्थ खटिएका अलिगढवाका राकेश भारतीले बुद्ध नेपालमा होइन, भारतमै जन्मिएको दाबी गरे । उनका अनुसार त नेपालले भारतीय सम्पदाको नक्कल गरेर लुम्बिनी र तिलौराकोट बनाएको हो । ‘बुद्धसँग सम्बन्धित धेरै प्रमाण भारतसँग छन्, नेपालले त नक्कल गरेको हो । अब भारतले बुद्ध गन्तब्यलाई थप आकर्षक बनाउँदै छ त के खराबी भयो ?’ उनले भने ।
माइतीबाटै र्फकंदै गरेकी आमा मायादेवीको कोखबाट बाटो(लुम्बिनीमा) जन्मिएका बुद्ध २९ वर्षको उमेरमा दरबार छाडेको नेपाली संस्कृतिविद्हरूको दाबी छ । ‘हामीलाई त थाहा भएन, देवदह, तिलौराकोट र लुम्बिनी सारा यतै बन्दै छन’ अलिगढमा काम गर्दै भेटिएका भारत नौगढका एक मजदुरले भने । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । निर्माण पुरानो देखाउन पुराना भारतीय घरमा प्रयोग भएका इँटा किन्नसमेत भारतले करोडौँ रुपैयाँ लगानी गरिसकेको अलिगढवाका स्थानीय वासिन्दाले बताए । तर, कसैले पनि आप\mनो नाम भने बताउन चाहेनन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको सडकदूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाइएको छ । राजा शुद्धोधनका पालाका भेटिएका माटाका भाडालगायतका अधिकांश वस्तु तथा ठाउँसमेत भारतले नक्कल गर्दै उतै बनाइरहेको छ । माटाका भाँडा र वस्तुमा पुरानोजस्तै देखिने लेप पनि लगाइँदै छ ।
नेपाल सरकारले औपचारिक रूपमा विरोध नगरेका कारण भारतले नक्कली कपिलवस्तुमा प्रत्येक डिसेम्बर २९, ३० र ३१ तारिखमा विभिन्न कार्यव|mम गरी बुद्धमहोत्सव मनाउँदै आएको छ । देवदह, लुम्बिनी र तिलौराकोटलाई व्यवस्थित गर्न भारतले दसवर्षे नीति ल्याएको छ