By Jalpa Khaling, on July 13th, 2010
देशले ३४ औँ प्रधानमन्त्री साउन ५ गते पाउने भएको छ। सहमतिमा प्रधानमन्त्री छान्न दलहरु असफल भएपछि अब बहुमतीय अर्थात् जसले बढी सभासदको समर्थन जुटाउँछ उसले प्रधानमन्त्री बन्ने मौका पाउँछ। साउन ५ गते बुधबार व्यवस्थापिका संसदमा हुने चुनावमा कम्तिमा ३०१ मत ल्याउन सक्ने सभासद प्रधानमन्त्री बन्नेछ। प्रधानमन्त्री बन्नका लागि को-को उम्मेदवार बन्दैछन् भन्ने कुरा चाहिँ एक दिन अगाडि नै थाहा हुनेछ। अर्थात् साउन ४ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ।
नेताहरुका लागि यो के-के न अवसर होला। देशको सर्वोच्च कार्यकारी कुर्सीमा बसेर के-के न गरौँला भन्ने ठान्या होलान्। त्यसका लागि के के तिकडम अपनाउने विचार गरिरहेका होलान्। साना दलहरुको जति भाउ अहिले जस्तो कहिले बढ्छ र। कुन चाहिँलाई समर्थन गरे के फाइदा हुन्छ भनेर विचार गरिरहेका होलान्। हामी जस्ता सर्वसाधारण नागरिकका लागि भने प्रधानमन्त्रीको कुर्सीका लागि हुन लागेको यो निर्वाचन नयाँ बोतलमा पुरानो रक्सी राख्ने बाहेक केही हो जस्तो लाग्दैन।
नयाँ बोतल पनि के भन्नु, पुरानै अनुहार आउने हुन्, पुरानै कुर्सीमा बस्ने हुन्, पुरानै ढर्रामा काम गर्ने हुन्। त्यसैले पुरानै बोतलमा पुरानै रक्सी भने पनि हुन्छ।
पर्दा बेग्लै झ्याल उही
खोपडी बेग्लै खयाल उही
जिब्रो बेग्लै र्याल उही
छाला बेग्लै स्याल उही
No comments:
Post a Comment