Thursday, July 22, 2010

‘जवान भएपछि ऊ आउँछ रे'

शुक्रवार, 23 जूलाई 2010 06:39
जाल्पा खालिंग

उपेन्द्र लामिछाने, वीरगन्ज, साउन ७- आठ वर्षीया चन्दा मलीले विवाह गरेको पाँच वर्ष बितिसक्यो। उनलाई अझै पनि आफ्नो श्रीमान्को नाम याद छैन। तीन वर्षको उमेरमा विवाह गरेकी उनले दुलाहाको अनुहार सम्झना नरहेको बताइन्। ‘मलाई विवाह गरेको मात्र थाहा छ,' जीतपुर-३, डोमटोलकी चन्दाले भनिन्, ‘उसको नाम र अनुहार थाहा छैन।'
जीतपुरबाट करिब ३० किलोमिटर दक्षिणको सिमावर्ती भारतीय सहर रक्सौलमा उनको विवाह भए पनि अहिलेसम्म दुलाहा भेट्न आएका छैनन्। ‘हामी सियान (जवान) भएपछि ऊ आउँछ रे,' उनले हाँस्दै सुनाइन्।

यही टोलकी पाँच वर्षीया चन्दना मलीलाई पनि आफ्नो श्रीमानको नाम याद छैन। करिब १६ महिनाअघि विवाह गरेकी उनले पतिको अनुहार भने सम्झना रहेको बताइन्। ‘उनलाई भेटे भने चिन्छु,' उनले भनिन्, ‘उनको नाम भने बिर्से।' यी बालिका अभिभावकले बनाएका बाँसको टोकरी स्थानीय बजारमा बेच्ने गर्छिन्। कहिलेकाहीँ श्रीमान्को सम्झना आउने गरेको उनले बताइन्। ‘गाउँघरमा कसैको विवाह हुँदा अनि टिभीमा नाटक हेर्दा सम्झना आउँछ,' उनले भनिन्।

बारा पर्सोनीमा २०६५ चैतमा चन्दनाको विवाह भएको उनकी आमा लक्ष्मीले सुनाइन्। ‘हाम्रो समुदायमा छोरा-छोरीको सानैमा विवाह हुन्छ,' उनले भनिन्, ‘ढिलो गर्‍यो भने केटा पाउन मुस्किल पर्छ। दाइजो पनि बढी दिनुपर्ने हुन्छ।'

यसै गाउँमा आउँदो माघमा अढाई वर्षीया बालिका शनी मलीको पनि विवाह हुँदै छ। ‘शनीको पर्सा सथबलका बालकसँग विवाह हुन लागेको आमा रिनाले सुनाइन्। त्यही दिन उनका ६ वर्षीय छोरा इन्द्र मलीको पनि पर्सा घुर्मीमा विवाह हुने उनले बताइन्। ‘ यसको विवाहमा तपार्इंलाई पनि निम्ता छ,' अढाइ वर्षीय बालिकालाई देखाउँदै उनले भनिन्, ‘विवाह भोजका लागि चाहिने सामग्री तयार गरिसकेका छौं।'

तराईका डोम समुदायमा सानैमा विवाह हुने चलन रहेको थारु कल्याणकारी सभाका पर्सा अध्यक्ष रामनारायण गौरोले बताए। ‘सानैमा विवाह गरे पनि केटा-केटी एकै ठाउँमा बस्दैनन्,' उनले भने, ‘उमेर पुगेपछि उनीहरू एकै ठाउँमा बस्छन्।' यस्ताखाले विवाहले बालबालिकाको स्वतन्त्रता हनन् हुने उनको भनाइ छ।

‘बच्चैमा कसैको श्रीमान-श्रीमती बनाइनु राम्रो होइन,' उनले भने, ‘यसले बालबालिकाको मनस्थितीमा नराम्रो असर पुर्‍याउँछ।' युनिसेफले केही वर्षअघि गरेको अध्ययनअनुसार नेपालका ४० प्रतिशत केटीको १५ वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको छ। नेपालका ग्रामीण भेगमा अझै पनि बालविवाह कायमै छ।

No comments:

Post a Comment