By Jalap Khaling, on July 20th, 2010
प्रधानमन्त्री कप नाटकरुपी फुटबलको निर्धारित समय र एक्स्ट्रा टाइममा पनि गोल हुन नसकेको त तपाईँहरुलाई थाहै होला। त्यसैले पेनाल्टीमा निर्णय हुँदैछ। पेनाल्टी हान्ने दिन साउन ५ गते बुधबार अर्थात् भोलि हो। आज भने गोल हान्न इच्छुकहरुको नाम टिमले दर्ता गर्दैछ। काँग्रेसी टिमबाट गोल हान्नेको नाम तय भइसक्यो- रामचन्द्र पौडेल। तर पौडेल जोकर मात्र हुनेछन् यदि उनलाई एमालेले साथ दिएनन् भने। एमालेले दुई तिहाइ जुट्ने देखियो भने आफ्ना कप्तान झलनाथ खनाललाई गोल हान्न दिने भनेको छ। माओवादीमा पनि विवाद छ। हिजो सकेसम्म आफ्नै नेतृत्व खोज्ने नभए एमाले क्याप्टेन खनाललाई सहयोग गर्ने भनेर आएको समाचारलाई बाबुराम भट्टराईले खण्डन गरे। माओवादी क्याम्पमा स्ट्राइकर भट्टराई प्रधानमन्त्री बन्ने संभावना नजिकिँदै गएको तर क्याप्टेन प्रचण्डले त्यसलाई रोक्न प्रयास गरिरहेको खबर छ। हेरौँ, को को हुने हुन् प्रधानमन्त्रीका उम्मेदवार।
एउटा कुरा चाहिँ निश्चित छ- आज नाम लेखाएकाहरुबाटै प्रधानमन्त्री चुनिनेछन्। किनभने यदि पहिलो चरणको मतदानमा कसैले बहुमत नल्याए पनि दोस्रो चरणमा नयाँ उम्मेदवार थपिन पाउँदैन। त्यसैले आज प्रधानमन्त्रीको निर्वाचनका लागि क कसको उम्मेदवारी दर्ता हुन्छ, त्यो महत्त्वपूर्ण छ।
अहिलेसम्मको स्थिति हेर्दा यस्तो देखिन्छ
रामचन्द्र पौडेल- उनी काँग्रेसका मात्र सर्वसम्मत नेता भइदिए। उनलाई एमालेले नै सहयोग गर्छ कि गर्दैन निश्चित भएको छैन। उनी प्रधानमन्त्री भए भने माओवादीले नसघाउने र प्रतिपक्षमा बस्ने निश्चित भएको छ। वर्तमान गठबन्धन कायम राखेर उनी प्रधानमन्त्री बने भने त्यो माधव नेपाल सरकार जस्तै नबन्नबाट रोक्न पौडेलले धेरै मेहनत गर्नुपर्नेछ। एमालेको निर्णयमा पौडेलको भविष्य अड्किएको छ।
झलनाथ खनाल- माओवादीसहितको वाम दल र मधेसवादी दल मिल्यो भने दुई तिहाई बहुमत जुट्ने र यसबाट संविधान निर्माणलाई सजिलो हुने तर्क गर्छन् खनाल क्याम्पका नेताहरु। तर खनालको चुनौति बाहिरका दलहरुलाई मिलाउन मात्र हैन, आफ्नै दलकाहरुलाई पनि मिलाउनु पर्नेछ। केपी ओली वा विद्या भण्डारीलाई कार्यवाहक अध्यक्ष दिनुपर्ने, चुनाव हारेका ओलीलाई संविधान सभामा लानुपर्ने जस्ता शर्त खनालसमक्ष तेर्स्याइएको सुनिएको छ। खनाललाई प्रधानमन्त्री बन्न नदिन ओली र नेपालले माओवादीका बाबुराम भट्टराईलाई उचालिरहेका छन् भन्ने भट्टराई निकटकाहरुबाट सुनिन्छ। तपाईँ वातावरण बनाउनुस् हामी सघाउँछौँ भन्ने आश्वासन ओली र नेपालले भट्टराईलाई दिएका छन् रे।
बाबुराम भट्टराई- उनको संभावना पछिल्ला दिनमा बढेको छ। प्रचण्डले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न हरसंभव प्रयास गरिरहेका छन्। तर मध्यमवर्ग र सञ्चारमाध्यममा देखिएको उनको राम्रो छवि, अन्तर्राष्ट्रिय जगतमा उनको पकड आदि कारणले उनको पक्ष बलियो हुँदै गइरहेको छ। हिजो माओवादीको बैठकले आफ्नो नेतृत्वमा सरकार नबने झलनाथ खनाललाई सघाउने भनी निर्णय गर्यो भन्ने खबर आउने बित्तिकै भट्टराईले त्यसको खण्डन गरेर आफू प्रधानमन्त्री बन्ने दौडमा कायम रहेको सन्देश दिएका छन्। पछिल्ला दिनमा प्रचण्डभन्दा बढी सक्रिय भई नेताहरुसितको भेटघाटमा सक्रिय रहेका भट्टराईलाई साना ११ दल र मधेसवादी दलको समेत साथ रहने विश्वास छ। एमालेको सहयोग भए उनी निश्चित प्रधानमन्त्री बन्नेछन्। तर उनको चुनौति प्रधानमन्त्रीको आकाक्षा सजाएर आफ्नै दलको नेतृत्वको सरकारलाई असफल बनाउन भूमिका खेलेका झलनाथ खनाललाई विश्वासमा लिनु रहेको छ। अनि प्रमुख अर्को दल काँग्रेसको पनि विश्वास नलिई उनको बहुमतीय सरकार सफल बन्न सक्दैन। त्यसो त उनलाई नै माओवादीले प्रधानमन्त्रीको उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, त्यही शंकामा छ।
अरु कुनै अनुहार चर्चमा यिनै नाम र संभावना यिनैको भए पनि नेपालको राजनीतिमा निर्णायक भूमिका खेल्ने भनिएको दिल्ली दरबारले माओवादीका कुनै फरक अनुहार वा एमालेको वा अन्य कुनै दलको हामीले नसोचेको अनुहारलाई प्रधानमन्त्री बनाइदियो भने पनि अचम्म मान्नुपर्दैन। दुई ठाउँबाट हारेका माधव नेपाल प्रधानमन्त्री बन्लान् भन्ने कसैले सोचेका थिए र ?
No comments:
Post a Comment