Friday, July 9, 2010

डा. भक्तमानको अपहरण यसरी भएको रहेछ

भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण भयो। १९ औँ दिनमा उनी मुक्त हुनुअघि यो अपहरणको विषयमा धेरै चर्चा भयो। केही सञ्चार माध्यमले प्रमाणै बिना सीधै माओवादीलाई दोष दिने गरी समाचार लेखे। हिजो प्रहरीले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टले भने उनको अपहरणमा कुनै राजनीतिक दल हैन, भीमसेन पण्डित नामको आपराधिक गिरोहको संलग्नता देखाइएको छ। भारतको कानपुरमा साढे तीन किलो सुन फिरौति दिएर भक्तमानलाई रिहा गरिएको त्यसमा उल्लेख छ। अपहरित भक्तमानलाई शक्तिखोरको माओवादी क्याम्पमा राखिएको आरोप लगाइएको थियो, प्रहरीले पनि बाग्लुङमा छापा मारेको खबर आएको थियो। तर प्रतिवेदनमा अपहरणकारीले उनलाई सुरुमा धादिङ र पछि काठमाडौँ कै सामाखुसी र चण्डोलमा राखेको देखाएको छ। यदि प्रहरी रिपोर्टले भने जस्तै हो भने कुनै व्यक्ति वा समूहको स्वार्थमा सञ्चार माध्यम नराम्रोसित प्रयोग भएको देखिन्छ। पुराना कुरा नेपालीले बिर्सँदै जान्छन् भन्ने हो भने छुट्टै कुरा, नत्र सञ्चार माध्यमले यस्तो गम्भीर गल्ती गर्न हुन्नथ्यो। पत्रिकाको मात्र के कुरा प्रधानमन्त्री, मन्त्री र नेताहरुले समेत यस्तै आरोप लगाउँदै हिँडेको खबर हामीले पढेका थियौँ। अब उनीहरुले के भन्लान् ? वा भन्न केही जरुरी पनि ठान्लान् ?

प्रहरी रिपोर्टमा के छ ? हिजो पत्रकार सम्मेलनमा प्रहरीले बाँडेको प्रेस विज्ञप्तिका प्रमुख अंश हेर्नुस्, जसमा कसरी, कसले र किन डा. भक्तमानको अपहरण गर्‍यो, खुलाइएको छ।

आधारभूत तथ्य
अपहरित: डा. भक्तमान श्रेष्ठ (क्यान्सर विशेषज्ञ)
उमेर: ४८ वर्ष
कार्यकारी निर्देशक,
वी.पि. मेमोरियल क्यान्सर अस्पताल
भरतपुर, चितवन।

अपहरण मिति, समय र स्थान:
२०६७ जेठ ४ गते, राती २२१५ बजे, हाकिम चोक (हिमचुली
बिकास बैंक नजिक) भरतपुर, चितवन

अपहरण मुक्त मिति, समय र स्थान:
२०६७ जेठ २२ गते विहान अन्दाजी २३० बजे धादिङ, माझिमटार

अनुसन्धानबाट स्थापित तथ्यहरु
अपहरण तयारी र सुचना संकलनको चरण:
कालिका हेल्थ इन्स्टिच्युट चितवनबाट सीएमए तालिम लिएको र सोही समयमा
क्यान्सर अस्पतालमा व्यक्तिगत सवारी चालकको रुपमा २०६६ कात्तिक सम्म कार्यरत्त
रहेको बद्री ढुंगानाद्धारा भीमसेन पण्डितको सल्लाहमा सबै भन्दा बढी कमाई हुने
डाक्टरको चयन गर्ने काम शुरुवात भएको।

करिब ५ महिना देखि सुचना संकलन र टार्गेट सेलेक्सनको लागि भीमसेन
पण्डित, रोहित पालिवाल चितवन आउने जाने गरेको र बद्री ढुंगानासँग
सल्लाह सूचना लिने गरेको।

बद्री ढुंगानाको सुचनाको आधारमा वी.पी. अस्पताल कै डा. विजय कुमार ठाकुर र
डा. बाल कृष्ण थापा पनि संभावित लक्ष्यको रुपमा पहिचान गरेकोमा तत्काल
ठूलो रकम जम्मा गर्न सक्ने हैसियत भएको अनुमानको आधारमा डाक्टर भक्तमान
लाई लक्षित गरेको।

अपहरण तयारीको चरण:
०६७ जेठ ४ गते अपरान्ह भीमसेन पण्डित, नविन क्षेत्री र लुप्पा
तामाङ्ग काठमाडौंबाट र बद्री ढुगांना नुवाकोटबाट गई नारायणघाटमा
भेट भएको।

रोहित पालिवाल भारतबाट भैरहवा हुदै भारतीय नम्बर प्लेटको
सिल्भर कलरको मारुती अल्टो गाडीमा सोही ठाउँमा आएको।

अपहरण कारबाहीको चरण:
साँझ १८३० बजे देखि नारायणी अस्पतालमा बसेर डा. भक्तमानको
आगमनको निगरानी शुरु गरेको।

रातको २२१५ बजे डा. चितवन अस्पतालबाट निस्किएपछि बद्रीले चलाएको
मोटरसाइकलबाट भीमसेन पण्डितलाई समेत राखी पिछा गरेको।

हिमचुली बिकास वैक नजिकको मोडमा डा. क्वाटर तर्फ जाने बाटोमा
रोहित पलिवालले चलाएको भारतीय नम्बर प्लेटको गाडी डा.को गाडीमा
ठोक्याउन ल्याएको र गाडी ठोक्याएको निहुँमा विवाद झिकिएको अवस्थामा
मोटरसाइकलबाट भीमसेन पण्डित र पलिवालले चलाएको गाडीबाट लुप्पा र
नविन डा. को गाडीमा सिफ्ट भई भीमसेन समेतले डा. लाई गाडीको
ड्राइभिङ्ग सिटबाट तानी पछाडिको सिटमा राखेको।

स्थानान्तरण र बन्धक अवस्थाको चरण:
डा. को आँखामा पट्टी र हात पनि बाँधिदिएको र लुप्पाले पेस्तोल डा. को पेटमा सटाई
डा. को गाडी भीमसेनले चलाएको।

रोहित पलिवालले आफ्नै गाडी चलाएको र दुवै गाडी भित्री बाटोहरुमा केही समय
घुमाए पश्चात मुग्लिङ्गतर्फ लगिएको।

गजुरीबाट २ कि.मि. अगाडी गाडी परिवर्तन गरी रोहित पलिवालले लिई आएको
गाडीमा बैरेनीसम्म लगी त्यहाँबाट बद्री ढुंगानाले लिई आएको मो.सा. मा राखी
भीमसेन पण्डित र लुप्पाले नुवाकोट तर्फ लगेको।

भीमसेन पण्डितले सकेसम्म डा. को गाडी टाढा पुर्‍याएर छोड्नु भने अनुसार बद्रि
ढुंगानाले नविनलाई लिई जाने क्रममा दाह्रे चोकमा डा. को ब्रिफकेश फालेको र सोही
राती ०३३० बजे गाडी पोखरा पुर्‍याई छाडेको तत्तपश्चात विहान ७ बजेको
बस चढी दुवै जना काठमाडौं फिर्ता भएको।

पहिलो दिन धादिङ्ग, बैरेनी, देवीघाट, बट्टार हुदै चारघरे गा.वि.स. मुलाबारी स्थित भिमसेन पण्डितको घरमा राखेको।

जेठ ५ गते राती सो स्थानबाट परिवर्तन गरी पलिवालले लिई आएको गाडीमा बद्री
ढुंगाना समेत भई काठमाडौं सामाखुसी स्थित नारायण श्रेष्ठको घरमा भीमसेन पण्डितले
भाडामा लिएको फ्ल्याटमा राखेको।

सामाखुसीको उक्त फ्ल्याटमा डा. लाई ७ दिन राखी सकेपछि १२ जेठको राती त्यहाँबाट
चण्डोलस्थित राजाराम घिमिरेको घरमा अपहरण गिरोहको सदस्य सुनिल श्रेष्ठ मार्फत
भाडामा लिएको घरमा सारेको। उक्त घरमा डा. लाई अन्तिम दिनसम्म राखी मुक्त गर्ने
दिन सोही स्थानबाट लिएर गएको।

२०६७ जेठ ५ गते राती रोहित पलिवाल काठमाडौंबाट भैरहवा हुदै भारत
तर्फ गएको र निज भारत पुगे पश्चात पीडित परिवारलाई इन्टरनेट तथा
भीओआईपी प्रविधिको उपयोग गरी फिरौती रकमको लागि बार्गेनिङ्ग
गर्ने गरेको।

अपहरण मुक्तिको चरण:
अपहरितबाट माग भएको फिरौती साढे तीन किलो सुन भारतको कानपुर
आसपास इलाकामा जेठ १९ गतेको रात नम्बर नचिनिने गाडीमा आएको
अपहरणकारीले आकस्मिक रुपमा लिई गएको।

२१ जेठको साँझ १९३० बजे चण्डोलस्थित बन्धक राखेको घरबाट
भीमसेन पण्डित, सुनिल श्रेष्ठ र बद्री ढुंगाना सहितले २ वटा मोटर
साइकलमा डा. लाई लिई नेपालटारको बाटो हुदैं तीन पिप्ले निकालेर
कंकनी, तादी, नुवाकोट हुदै देवीघाटबाट गल्छीको बाटो लिई गएको र २२
गते विहान ०२३० बजे धादिङ्ग माझिमटारमा आँखामा पट्टी बाँधेको
अवस्थामा छोडिदिएको।



भीमसेन पण्डित र रोहित पलिवालको अपराधिक पृष्ठभूमि
अपहरण तथा शरीर बन्धक:
२०६४।०९।०२ मा विनोद कुमारको ज्यान मार्न खोजेको।
२०६४।०९।२२ मा ओमकार भचन को अपहरण।
ज्यान मार्न खोजेको:
२०६४।०५।१६ मा सचिन गुप्तालाई अपहरण गर्ने प्रयास गर्दा गोली हानेको।

हातहतियार तथा खरखजना मुद्दा:
विभिन्न अपहरण घटनामा समेत प्रयोग गर्ने गरिएको ९ एम एम पेस्तोल र गोली २६ राउण्ड २०६४।०९।२९ गते
बरामद भएको।

चोरीको गाडी एवं मो.सा.
४ वटा गाडी एवं मो.सा. समेत बरामद गरी मुद्धामा पठाएको।

कानुनी नतिजा:
९ महिना पुर्पक्षमा कारागार बसी अदालतले धरौटी राखी तारेखमा छोडेको।

के सजायँ हुन्छ उनीहरुलाई ?
अपहरण सम्बन्धी अपराधको कानुनी प्रावधान
अपहरण तथा मानव शरीर बन्धक ऐन २०६४ बमोजिम संलग्न व्यक्तिहरुलाई न्यूनतम ७ वर्ष देखि अधित्तम १५ वर्ष सम्म कैद र नाबालक तथा महिलाविरुद्ध को अपराधमा २ वर्ष थप सजाय हुने प्रावधान रहेको।
मुद्रा निर्मलीकरण ऐन अन्तर्गत आपराधिक कार्यबाट आर्जित धनविरुद्धको कानुनी कारबाही।

क-कसले गरेका थिए अनुसन्धान?
अनुसन्धानमा संलग्न अधिकृतहरुको नामावली
प्र.ब.उ. देबेन्द्र सुबेदी
प्र.ब.उ. शिब लामिछाने
प्र.नि. कृष्ण कोइराला
प्र.ना.नि. दिपेन्द्र अधिकार

No comments:

Post a Comment