Thursday, July 1, 2010

माधव नेपालले राजीनामा दिए, अब के?


प्रधानमन्त्री माधवकुमार नेपालले आजै राजीनामा देलान् भन्ने कसैले सोचेका थिएनन्। उनी राजीनामा दिने मूडमा छन् भन्ने खालका समाचार त आइसकेको थियो, तर मन्त्रीहरुले अनि सरकार समर्थक नेताहरुले विकल्प तयार नभई राजीनामा नदिने अडान दोहोर्‍याइरहेका थिए। यस्तो लाग्थ्यो मानौँ प्रधानमन्त्री चाहेर पनि राजीनामा दिन सकिरहेका छैनन्। संविधान सभाको म्याद थप गर्न जेठ १४ गते मध्यरातमा भएको तीन बूँदे सहमतिमा राजीनामाको बूँदा पनि थियो। एक महिनापछि बल्ल त्यो कार्यान्वयन भएको छ। राजीनामापछि राजनीतिक गतिरोधको एक अध्याय अन्त्य भएको छ। सहमति र सहकार्यमा अगाडि बढ्ने बाटो खुलेको छ। यो एउटा सकारात्मक पक्ष हो। तर गतिरोधको स्थिति हल भइसकेको भने छैन। राजीनामापछि अब के? बाटो स्पष्ट छैन।

राजीनामापछि अर्को सरकार नबनेसम्म अहिलेको सरकारले कामचलाउको हैसियत राख्‍नेछ। प्रमुख दलहरुको सहमतिमा राष्ट्रिय सरकार बनाएर संविधान निर्माण तथा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनु अहिलेको आवश्यकता हो। यसका लागि अहिले दलहरुबीच जुन अविश्वासको खाडल छ, त्यसलाई पुर्नु पर्छ। माओवादीले जनमत बढी प्राप्त गरेकोले सरकारको नेतृत्वको हक उसैलाई जान्छ। अहिलेलाई उसैलाई सरकारको नेतृत्व गर्न दिएर द्रुत गतिमा संविधान निर्माण र सेना समायोजनका विवाद हल गराउनु ठीक हुन्छ। संविधान बनाउन अब ११ महिनाभन्दा कम समय बाँकी छ। अहिलेसम्म कार्यतालीका समेत बनिसकेको छैन। अस्तिको म्याद थप हेर्दा फेरि समय थप्‍नु ठूलो कुरा रहेन, तर त्यसो गर्दा नैतिकता गुमाउँछन् दलहरुले। नयाँ संविधान घोषणा गरेर त्यस अनुसार नयाँ निर्वाचन नभएसम्म यो संक्रमण काल कायमै रहन्छ। देशलाई लामो समयसम्म संक्रमण कालमा राखिराख्‍नु उचित हुँदैन।

सहमति र सहकार्य अनि अहिले दलहरुबीच कायम रहेको अविश्वास हटाउनका लागि उनको राजीनामा राम्रो सुरुवात हो। तर विशेष गरी भारतीय दबाबलाई बेवास्ता गरी राष्ट्रिय हितलाई सर्वोपरी मानेर एक सार्वभौमसत्ता सम्पन्न देशका रुपमा निर्णय गर्न दलहरु कतिको अगाडि बढ्ने हुन्, त्यसले आगामी बाटो निर्धारण गर्छ। बाहिरबाट हेर्दा जे देखिए पनि वास्तवमा अहिले देशको स्रोतसाधन र शक्तिमा हालिमुहाली जमाएको यथास्थिति चाहने वर्ग र अग्रगामी परिवर्तन चाहने वर्गबीच संघर्ष पनि भइरहेको छ। यो संघर्ष कुन रुपमा अघि बढ्छ, त्यसले पनि आगामी बाटो स्पष्ट पार्छ।

सबै कुरा राम्रो भए यस्तो हुनेछ-
-अब केही दिनमा नै राष्ट्रिय सहमतिको सरकार बन्नेछ।
-बहुमतीय हैन, सहमतीय प्रणाली लागू हुनेछ।
-बाँकी रहेको ११ महिनाभित्र संविधान निर्माणको कार्यतालीका बन्नेछ।
-सहमतिको दस्तावेजका रुपमा नेपालको पहिलो जनताले आफै लेखेको नयाँ संविधान घोषणा हुनेछ।
- नयाँ संविधान अनुसार संसदको निर्वाचन हुनेछ र नयाँ सरकार बन्नेछ।

आशा गरौँ, यस्तै होस्। तर यस्तो पनि हुनसक्छ है। यस्तो चाहिँ नहोस्-
-अब प्रधानमन्त्री को बन्ने, त्यसैमा मारामार। भारतले प्रचण्ड चाहिँ हुन्न है भन्ने, माओवादी चाहिँ प्रचण्ड नै बन्नु पर्छ भन्ने अडान लिइरहने। प्रधानमन्त्री बन्न कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलको मारामार पर्ने, एमालेमा झलनाथ खनाल र केपी ओलीको पर्ने। फोरममा गच्छदार र उपेन्द्र यादवको पर्ने। सरकार ढलेपछि कुन चाहिँ पक्ष बलियो हुन्छ र कुन चाहिँ सरकारमा जाला जस्तो हुन्छ, त्यसैको पक्षमा बहुमत सभासद पुग्ने।
-कुटनीतिक मर्यादाविपरीत भारतीय राजदूत राकेश सुद नेताहरुको घरदैलोमा छिरी यसो गर र उसो गर भनी निर्देशन दिने।
-३०१ सभासद पुर्‍याएर सरकार बनाउन पहिले जस्तो खरिद बिक्री सुरु हुने।
-नयाँ दिल्लीको ‘आशिर्वाद’ लिन उपचार वा अरु के केको बहानामा नेताहरु भारततिर छिर्ने। फर्केर के के न उपलब्धि गर्‍या जस्तो याँमानका फूलमाला लाएर एअरपोर्टमा पत्रकार सम्मेलन गरी भारतले यसो यसो भन्यो भन्ने।
-भारतको इशारामा फेरि कुनै अर्को निर्वाचन हारेका व्यक्तिलाई सभासद बनाई प्रधानमन्त्री पदमा आसीन गराउने।
-को प्रधानमन्त्री बन्ने भन्ने कुरा मिलाउन नै तीन महिना लाग्ने, तीन महिनापछि बनेको सरकारको तीन दिन पनि नबित्दै विरोध सुरु हुने। अनि संविधान निर्माण र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने कार्य फेरि अलपत्र पर्ने।
-अन्ततः देशलाई फेरि युद्धमा धकेल्ने।

No comments:

Post a Comment