विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेशका लागि भिडन्त गर्ने अन्तिम आठ देशहरुको टुंगो लागेको छ। शुक्रबारदेखि हुने क्वार्टरफाइनलका खेलहरुले सेमी फाइनलको भिडन्तका लागि मैदान तयार गर्नेछ।
विश्वकपका अब आठ वटा खेल मात्र बाँकी छन्। ३२ वटा टिम अब घटेर आठ वटामा सीमित भएको छ। आठ वटामा सीमित हुँदासम्म एसियाली देशको पत्ता साफ भइसकेको छ। अब मैदानमा ल्याटिन अमेरिकी र युरोपेली देशहरुको जगजगी छ। एउटै अपवाद अफ्रिकी देश घाना रहेको छ।
खेल तालिका हेर्दा शुक्रबार हुने खेलमा ल्याटिन अमेरिकी देश उरुग्वेले दुई पटक विश्वकप जितिसकेकोले अफ्रिकी देश घाना अगाडि बढे हुन्थ्यो भन्ने हिसाबले समर्थन गरिनेछ। ब्राजिल र नेदरल्यान्ड्सबीचको खेलमा मेरो समर्थन सशक्त खेल प्रदर्शन गरिरहेको नेदरल्यान्डसलाई हुनेछ।
त्यसैगरी शनिबार हुने खेलहरुमा अर्जेन्टिना र जर्मनीबीचको खेलमा जर्मनीलाई मेरो समर्थन रहनेछ। दुवै टिम फाइनल नभए कम्तिमा सेमी फाइनलसम्म भए पनि रहे हुन्थ्यो। तर यो संभव छैन। अर्जेन्टिना एउटा पनि खेल नहारी सशक्त रुपमा अघि बढिरहेको छ। तर युवा टिम जर्मनीले अर्जेन्टिनालाई कडा चुनौति दिने आशा छ। अर्को खेलमा स्पेनले पाराग्वेलाई पराजित गर्ने देखिन्छ। यसरी मेरो समर्थनका टिम जिते भने अन्तिम चारमा घाना र नेदरल्यान्डस अनि जर्मनी र स्पेनबीच भिडन्त हुनेछ।
यो भयो समर्थनको कुरा, तर किन किन विश्वकपको इतिहास हेर्दा भने एकापट्टीबाट ब्राजिल र अर्कोतर्फबाट अर्जेन्टिना नै फाइनलमा पुग्छन् जस्तो लाग्छ। यस पटकको विश्वकप नयाँ तर राम्रो टिमले जितोस् भन्ने मेरो आशा हो। हेरौँ, अब धेरै दिन बाँकी छैन- कसले विश्वकपको उपाधि हात पार्ने हो, छिट्टै थाहा हुनेछ।
विश्वकपबाट दिक्क भएकाहरुले अब केही दिन आराम पाउने भएका छन्। किनभने अन्तिम चारका लागि भिडन्त अब शुक्रबारदेखि मात्रै हुँदैछ।
No comments:
Post a Comment