Friday, July 9, 2010

अक्टोपसले भन्योः स्पेनले विश्वकप जित्छ, जर्मनी तेस्रो हुन्छ


फुटबल र खेलाडीहरुलाई नै छायामा पारेर संसार भर चर्चामा रहेको अक्टोपसले भोलि हुने तेस्रो स्थानको खेलमा जर्मनी विजयी हुने भविष्यवाणी गरेको छ। तेस्रो स्थानको लागि भोलि शनिबार नेपाली समय अनुसार मध्यरातमा उरुग्वे र जर्मनीबीच खेल हुँदैछ। पाउल नामको यो अक्टोपसले गरेको भविष्यवाणीको प्रत्यक्ष प्रसारण युरोपका विभिन्न टेलिभिजन स्टेसनहरुले गरेका थिए। त्यसैगरी पहिलो पटक उसले जर्मनी बाहेकको टिमको खेलको पनि भविष्यवाणी गरेको छ। अक्टोपसले फाइनलमा स्पेनले नेदरल्यान्डसलाई हराउने भविष्यवाणी गरेको छ।

जर्मनीबाहेकको टिमको भविष्यवाणी अहिलेसम्म उसले गरेको समाचार आएको थिएन। तर यस पटक अप्रत्याशित रुपमा अक्टोपसको चर्चा संसार भर फैलिएपछि थकिन नभए र भोक नहराए फाइनलको पनि भविष्यवाणी गर्न लगाउने उसका मालिकहरुले बताएका थिए।

aktopasale त आफ्नो काम गर्‍यो, अब काम हाम्रो हो त्यसलाई विश्वास गर्ने कि नगर्ने। यो अक्टोपसले सन् २००८ को युरो कपमा पनि ठ्याक्क ठ्याक्क मिल्ने भविष्यवाणी गरेको रहेछ। तर अहिले जस्तो ठूलो समाचार बनेको थिएन। त्यतिबेला उसले समूह चरणमा जर्मनीले पोल्यान्ड र अस्ट्रियालाई हराउने तर क्रोएसियासँग हार्ने भविष्यवाणी गरेको थियो, जुन ठ्याक्कै मिलेको थियो। क्वार्टरफाइनलमा पोर्चुगल अनि सेमी फाइनलमा टर्कीलाई जर्मनीले हराउने भविष्यवाणी पनि मिलेको रहेछ त्यतिबेला। तर फाइनलमा जर्मनीले स्पेनलाई हराउँछ भन्ने भविष्यवाणी भने उल्टो भएको रहेछ।

यस पटक पनि समूह चरणका तीन वटै खेलको सही भविष्यवाणी यसले गरेको थियो, जसमा सर्बियासँगको हार पनि सामेल छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा अक्टोपसको चर्चा भने इंग्ल्यान्डसितको विजयको भविष्यवाणी गरेपछि हुन थालेको थियो। अर्जेन्टिना जर्मनीसँग पराजित हुन्छ भन्ने भविष्यवाणी मिलेपछि उसको चर्चा झन् बढ्यो। सेमी फाइनलमा स्पेनसँग जर्मनी हार्ने भविष्यवाणी त झन् चर्चामा रह्यो र भविष्यवाणी सही साबित भएपछि त अझै उसको चर्चा बढ्यो। यही चर्चाबाट हौसिएर होला, उसका मालिकहरुले जर्मनीले नखेले पनि फाइनल खेलको भविष्यवाणी गराएका।

आज सुरुमा अक्टोपसले तेस्रो स्थानको खेलका लागि भविष्यवाणी गरेको थियो। भविष्यवाणी गराउनका लागि अक्टोपस बसेको ठाउँमा पानीमुनि दुई वटा ट्याङ्की पठाइन्छ। दुवै ट्याङ्कीमा अक्टोपसका लागि केही खानेकुरा हुन्छ। हरेक ट्याङ्कीमा छुट्टाछुट्ट‍ै देशको झण्डा हुन्छ। जुन देशको झण्डा भएको ट्याङ्कीमा गएर अक्टोपसले खानेकुरा खान्छ, त्यही देश विजयी हुन्छ भनिन्छ।

आज पनि उरुग्वे र जर्मनीको झण्डा भएको ट्याङ्की राखिएको थियो। अक्टोपस सुरुमा उरुग्वेको झण्डा भएको ट्याङ्कीमाथि केही बेर बसेको थियो। तर पछि उसले जर्मनीको झण्डा भएको ट्याङ्कीको खानेकुरा रोज्यो। त्यसैगरी स्पेन र नेदरल्यान्डसको झण्डा भएको ट्याङ्कीमा उसले स्पेनलाई रोज्यो।

भिडियो हेर्नुस् कसरी उसले जर्मनी विजयी हुने भविष्यवाणी गरेको थियो-

यो फाइनलको भविष्यवाणी-

ल है मैले समर्थन गरेको टिम नेदरल्यान्डसको विपक्षमा पो अक्टोपसले भविष्यवाणी गर्‍यो, तर पनि पार्टी फेरिँदैन है। म नेदरल्यान्डस् कै पक्षमा। स्पेनले नै जिते पनि एउटा नयाँ टिमले विश्वकप घर लैजान पाओस् भन्ने इच्छा पूरा भइहाल्ने भो क्यारे।

बरु हाँसो चाहिँ मलाई पश्चिमी मिडिया देखेर लागिरहेको छ। यिनीहरु के विधि अन्धविश्वासी भा’का! अक्टोपसमात्र हैन अब त पट्टुको भविष्यवाणीलाई पनि समाचार बनाउन थालेछन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरु रोयटर्स र एपीले सिंगापुरको एउटा पट्टु (सुगा)ले गरेको भविष्यवाणीलाई समाचार बनाउँदै गरेको देखेर तीन छक्क परेँ। हाम्रो टुँडिखेल वरपर नि यस्ता भविष्यवाणी गर्ने पट्टुहरु थुप्रै पाइन्छन्।

रमाइलो कुरा त के भने नि, मणि नामको यो सुगाले तेस्रो स्थानमा जर्मनीले नै जित्छ भने पनि फाइनल चाहिँ नेदरल्यान्डसले जित्छ भनेर भनेको रहेछ। अक्टोपसले स्पेन रोजेको छ सुगाले भने नेदरल्यान्ड। दुई वटामा एउटा भने पक्कै सही हुन्छ। कुन सही हुन्छ, पश्चिमी मिडिया फेरि त्यतै पट्टी लाग्ने होला।

No comments:

Post a Comment