Tuesday, August 17, 2010

आज हार्नु नपर्ने भो

By Landscope Pill, on August 18th, 2010

नत्र आज पनि हार्ने थिए दुवै प्रधानमन्त्रीका उम्मेदवारहरु। तर त्यसो नहुने भएको छ। आज पाँचौँ पटक हार्नु पर्ने छैन उनीहरुले। किनभने आज हुन लागेको निर्वाचन सर्ने निश्चित भइसकेको छ। अब हार्ने साइत कहिले जुराउने भन्ने बारे चाहिँ आज दिउँसो हुने बैठकले निर्धारण गर्नेछ।

बुधबार हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन शोकका कारण सर्ने भएको हो। अस्ति नै ग्यास दुर्घटनामा परेर धनुषा जिल्ला क्षेत्र नं. ६ बाट संविधानसभामा निर्वाचित एकीकृत नेकपा (माओवादी)की सभासद् रामकुमारी यादवको मृत्यु भएको थियो। आजको बैठकमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ।

श्रद्धाञ्जलिको कार्यक्रमपछि सामान्यतया कुनै पनि कार्यक्रम नभई बैठक स्थगित हुने गर्छ। त्यस्तो अवस्थामा चुनाव त्यो नि हार्ने चुनाव के गराइराख्‍नु भनेर उनीहरुले यो निर्वाचन सार्न खोजेका हुन्। जित्‍ने भइदिएको भए त के बाँकी राख्थे होलान् र।

अब अर्को चुनाव कहिले हुन्छ त? अहिलेसम्म त निश्चित मिति आइसकेको छैन। तर सुनिन्छ, भदौ ६ गते गर्ने रे। छ गते पनि नभएमा नौ गते चाहिँ पक्कै गर्नुस् है अर्को चुनाव। भदौ ९ गते पनि चुनाव भइदियो भने निःशुल्क मनोरञ्जन गर्न पाइन्छ नि। पहिले पहिले त्यही हलमा कलाकारहरुले देखाउँथे, अहिले नेताहरुले देखाउने छन्।

No comments:

Post a Comment