By Landscope Pill, on September 21th, 2010
‘कान्तिपुर काण्ड अदालतमा थापा थुनामा’ माइसंसारको हेडलाइनपछि यस प्रकरणमा केही त लेखौँ भन्ने लाग्यो। अझ पत्रकार र प्रभावशाली मिडिया हाउस संलग्न भएको केस भएर हुन सक्छ, यो प्रकरणका समाचारहरु पत्रपत्रिकाले छापेका छैनन्- यो कमेन्टले नलेखिरहन मन मानेन।
हो, विकास थापा थुनामा जाने गरी अदालतले दिएको फैसलाले माइसंसारले उठाएका अनगिन्ति प्रश्नहरुको उत्तर दिएको छैन। हाम्रो अदालतका फैसलाहरु कहीँ न कहीँबाट प्रभावित हुने पुरानो रोग तथाकथित वर्तमान नयाँ नेपालको न्यायलयमा समेत पुनरावृत भएको छ – पत्रकार विकास थापाको जेल चलानसँगै। मिडिया हाउसको ठहर – न्यायालयको सदर, खासमा काल पल्क्यो भन्ने गम्भीर सबक हो सबैलाई।
‘माइसंसारकै हरफ सापटी लिएर हेरौँ न- न्यायाधीश शेखरप्रसाद पौडेलको निर्णय आयो –कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र सम्पादक सुधीर शर्माको पत्र हेर्दा विकास थापा निर्दोष रहेको देखिएन्।’ बस, गडबडी भएको तथ्य श्रीमानको यही वाक्यांशले स्पष्ट पारेको छ नि त!
हामीलाई अदालतका फैसलाहरुलाई आलोचना गर्न हक छैन। यसबारेमा के उपाय हुन सक्छ, पत्रकार महासंघहरुले भोलिका दिनमा कुनै गुञ्जायस निकालुन् भन्ने अपेक्षा मात्रै राख्न सकिन्छ। तर फैसलाहरु कहाँबाट कसरी प्रभावित हुन्छन् भन्ने तथ्य भेट्टाउने खालको खोजी पत्रकारिता आवश्यक छ– नेपाली मिडियामा, खासगरी अहिलेको तन्नेरी पत्रकार पुस्तामा भन्ने एक शिक्षा हो – यो प्रकरण। विकासजीको केस नै चुनौतीसँग खेल्न चाहने पत्रकारका लागि प्रस्थान विन्दु केस बन्न सक्छ। यतातिर जाँगर चलाए हाम्रो पेशाकै पक्षमा योगदान हुनेछ।
बडा ताजुबलाग्दो कुरा नि विकासका पक्षमा फैसला आएन भन्ने हैन, विकासमाथिको षड्यन्त्र चिर्ने हिम्मत अदालतसम्ममा पनि देखिएन। हाम्रो न्यायलयको कठोर बिडम्बना यही हो। फेरि विकास थापा एक चानचुने पत्रकार मात्रै पनि हैन। नेपालको सेतो सुन पानीलाई राष्ट्रिय हितमा प्रयोग गर्ने गरी उनले आजसम्म जति लेखे, त्यसले झोलामा खोला बोकेर हिँड्ने र देशको पानी विदेशीको खानी बनाउनेहरुको मन मस्तिष्कमा
ढ्याङग्रो ठोक्यो। आदरणीय अग्रज राजेन्द्र दाहाल (हाल राष्ट्रपतिका प्रेस सल्लाहकार) पछि पानीका मामलामा राष्ट्रिय हित खोजेर लेख्ने दृष्टि, क्षमता र जानकारीका भण्डार नै हुन् – विकास। विकास जेलचलान हुँदा उनका प्रतिवादीहरु वा एनजिओवाला महिलावादीहरुले त के खुसी भएका भन्ने? असली खुसी त जल माफियाहरुले मनाइरहेका छन्। जल माफियाहरुलाई अहिले साँच्चै खुदो पल्टेको छ। एउटा साहसी कलमको निब भाँच्न सकेकोमा, बजार मा धेरै मदिरा बिक्री बढेको छ, रेष्टुँरे बैठकहरु बढेका छन्। विकासलाई
जेल चलान गर्न जलमाफियाहरुले चलखेल गरेनन् भनेर सायदै कसैले विश्वास गर्नसक्छ। प्रयत्न निरन्तर गर्नुपर्छ कि यस्ता तथ्यहरु कम्तिमा तन्नेरी पुस्ताका पत्रकारले उदघाटन गर्नुपर्छ।
व्यक्तिगत रुपमा वा व्यवसायिक रुपमा यस प्रकरणमा मुछिएका पात्र वा संस्थाप्रति कुनै पूर्वाग्रह वा आक्षेप छैन। त्यतापट्टी कसैलाई आघात परेका हदसम्म अग्रिम क्षमाप्रार्थी हुँदाहुँदै पनि हामीले लेख्न, सुनाउन, देखाउन सक्नुपर्छ, निर्णयभित्रका अदृश्य निर्णयहरु। पुनरावेदनले पुर्पक्षमा नराखी मुद्दा लड्ने आदेश विकासजीका पक्षमा देला या नदेला? त्यो पनि श्रीमानहररुकै तजबिजको कुरा भो! तर एउटा सक्रिय पत्रकार झेलबाट जेल जाने प्रवृत्तिप्रति सबै सचेत हुनुपर्छ, हुनु परेन र ?
No comments:
Post a Comment