By Landscope Pill, on September 26th, 2010
अपडेटः माओवादी पदाधिकारीहरुको आज बिहान बसेको बैठकले प्रचण्डको उम्मेदवारी औपचारिक रुपमा नै फिर्ता लिने निर्णय गरेपछि अब काँग्रेसका रामचन्द्र पौडेल मात्रै एक्ला उम्मेदवार हुने भएका छन्। जित्दै नजित्ने भए पनि पौडेल उम्मेदवारी फिर्ता नलिने पक्षमा अडिग छन्। यसअघि प्रचण्डले राजनीतिक रुपमा मात्र उम्मेदवारी फिर्ता लिएर औपचारिक रुपमा नलिने हो कि भन्ने अनुमान गरिएको थियो।
पुरानो ब्लगः यो अजब नेपालमा गजबको प्रधानमन्त्री निर्वाचन हुँदैछ आज। सात पटकसम्मको प्रधानमन्त्री चुन्ने नाटक त हामी सबैले हेर्दै आएका थियौँ, आठौँ पटक त झन् नयाँ किसिमको स्वाद चाख्न पाइने भएको छ। पहिलो पटकको निर्वाचनमा झलनाथ खनालले उम्मेदवारी फिर्ता लिएपछि सात पटकसम्म मैदानमा प्रचण्ड र रामचन्द्र पौडेल दौडेको दौड्यै थिए, तर पछाडिबाट एमाले र मधेसवादी दलहरुले खुट्टा तानिरहेको हुनाले दुवै गन्तव्यसम्म पुग्न असफल थिए।
आठौँ पटकमा प्रचण्डले पनि रेस छाडेका छन्। यसरी संसदीय व्यवस्थाको एउटा नौलो किसिमको जोक आज हामीले प्रत्यक्ष हेर्न पाउने भएका छौँ।
थाहा भए अनुसार आज निर्वाचन प्रक्रिया सुरु हुने बित्तिकै माओवादीले बहिस्कार गर्ने घोषणा गर्नेछ। तर काँग्रेस उम्मेदवार रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता नलिएका कारण सभामुखले निर्वाचन प्रक्रियामा लानेछन्।
एमालेले पनि भोट नदिने भइसकेको छ। पहिला तटस्थ बस्दै आएको भए पनि यसपालि एमालेले भोटै हाल्ने छैन। र मधेसवादी दलहरुले तटस्थ बस्ने निर्णय गरिसकेका छन्। त्यसमाथि माओवादीले बहिस्कार गरेपछि काँग्रेसको बहुमत कुनै हालतमा पनि आउन सक्दैन। तर चुनावमा काँग्रेसलाई काँग्रेसी सभासदहरुले मत दिनेछन्।
एमाले र माओवादीले खुट्टा समातेर अगाडि जानै नसक्ने बनाइसक्दा पनि काँग्रेस र यसका उम्मेदवार रामचन्द्र पौडेल म दौडिन्छु भनेर जिद्दी गरिरहेका छन्। अझै के के नाटक हेर्नुपर्ने हो, तयार हुनुहुन्छ हैन त ?
यसोउसो गरेर प्रचण्डले पनि उम्मेदवारी फिर्ता लिएपछि जति पटक भए पनि चुनाव गरेर आखिरमा मै प्रधानमन्त्री बनौला भन्ने लागेको हो कि उनलाई।
हाम्रा नेताहरुले उतिबेला अन्तरिम भनाउँदो संविधान नै गज्जबले बनाएका रैछन् त क्यार्नु अनि। अब कि पौडेल जीलाई मनाऊ, नत्र चुनाव गराइराख। जसरी प्रचण्ड थाकेका थिए त्यसरी नै एक दिन पौडेल थाक्ने छन्, अनि बल्ल स्थिति फेरि पहिलो पटक चुनाव नहुँदाको स्थितिमा पुग्नेछ। कूल ५९८ सभासद मध्ये साढे ४ सयभन्दा बढी (दुई तिहाई बढी)ले भोट नदिने हुँदा पनि चुनाव भइरहन्छ भने के गर्न सकिन्छ र भन्या ?
No comments:
Post a Comment