Saturday, September 4, 2010

महराले ५० करोड मागेकै हुन् त?

By Lansdscope Pill, on September 4th, 2010

माओवादीको विदेश विभाग हेर्ने नेता तथा पूर्वमन्त्री कृष्णबहादुर महरा र एक जना चिनियाँको भनिएको टेलिफोन वार्ताको अडियो हिजो राति सार्वजनिक भएपछि अहिले यो विषय चर्चाको शिखरमा छ। टेपमा सबैभन्दा रोचक विषय प्रत्येक सभासदका लागि एक करोड रुपैयाँका दरले ५० जनाका लागि ५० करोड रुपैयाँ मागिएको छ।

भारतीय लगानीमा भारतीय भूमिबाट प्रसारण हुने नेपाली भाषाको टिभी च्यानल नेपाल वनले हिजो राति यो टेलिफोन वार्ता सबैभन्दा पहिले प्रसारण गरेको थियो। त्यसपछि नेपालका केही सञ्चार माध्यमहरु र अहिले त भारतका सबैजसो सञ्चारमाध्यममा यो विषयले प्राथमिकता पाउँदैछ। नेपालीलाई त यो नौलो कुरा नै हैन, भारतले सांसदहरुलाई पहिलेदेखि नै किनबेच गर्ने गरिआएकै थियो, अहिले चीनले पनि गरेछ ? ए….त्यति भन्नु बाहेक अरु चासोको सामान्य नेपालीलाई छैन भने हुन्छ। तर लाग्छ भारत र भारतीय मिडियालाई नेपालीको भन्दा चासोको विषय बनेको छ यो।

चिनियाँ दूतावास र महरा दुवैले सार्वजनिक भएको वार्ता झुटो रहेको जिकिर गरेका छन्। के हुन सक्ला त यसको वास्तविकता?

यसको वास्तविकता खोतल्नुअघि सुरुमा त्यो विवादास्पद अडियोलाई नै ध्यान दिएर सुनौँ। अडियो दुई भागमा रहेको छ।

अडियोको पहिलो अंश सुन्न क्लिक गर्नुस्-

अडियोको दोस्रो अंश सुन्न क्लिक गर्नुस्-

के छ अडियोमा?
अडियोमा दुई जनाको कुराकानी छ। दुवै त्यति अंग्रेजी स्पष्ट बोल्न सक्दैनन्। एउटाको आवाज महराको हो कि हो कि जस्तो सुनिन्छ। तर महराको अंग्रेजी बोली सार्वजनिक रुपमा त्यति नसुनिएको हुँदा उनकै आवाज हो यो भनी ठोकुवा भने गर्न सकिने स्थिति छैन। अर्को व्यक्तिलाई मिडियाले चिनियाँ शैलिमा बोल्ने भनेका छन्। चिनियाँले बोलेको अंग्रेजी भाषा सुनिरहेकाहरुले यसको पुष्टि गर्न सक्लान्, के यो बोलीमा चिनियाँ शैली (accent) झल्किएको छ ? उनी को हुन्, यो अडियो सार्वजनिक गर्नेले समेत बताउन सकेको छैन।

दुईको कुराकानीमा नेपालको राजनीतिक अवस्था, सांसद किनबेचको कुरा र सांसद किन्न पैसाको सहयोग, पैसा कहाँ बुझाउने/लिने आदि बारेमा कुरा गरिएको छ।

कहाँबाट आयो अडियो?
निस्सन्देह यो अडियोको स्रोत भारतीय एजेन्सी हुन्। भारतले नै यसलाई सार्वजनिक गर्न लगाएको हो। किनभने यो अडियो सबैभन्दा पहिले भारतीय मिडियाले नै प्रसारण गर्‍यो। भारतीय मिडिया र भारतीय लगानी भएको नेपाली मिडियामा नै अहिले यसबारे सबैभन्दा चासो व्यक्त गरिएको छ।

अडियोको प्रसारण सबैभन्दा पहिले नेपाल वन टेलिभिजनले गरेको हो। नेपाल वन नेपाली भाषामा प्रसारण हुने भए पनि भारतबाट प्रसारण हुने भारतीय लगानीको भारतीय टेलिभिजन हो। भारतीय दृष्टिकोणका समाचार यसमा प्रसारण हुने गर्छन्। यो टेलिभिजनले माओवादीले सांसद खरिद गर्न पैसा खर्च गरेको आरोप लगाएको यो पहिलो पटक हैन। माधवकुमार नेपालले राजीनामा नदिँदै अविश्वास प्रस्ताव ल्याउन माओवादीले ठमेलको होटलमा यति करोड पैसा राखेको छ भन्दै समाचार प्रसारण गर्ने च्यानल पनि नेपाल वन नै हो। नेपाल वनको समाचार कति विश्वसनीय हुन्छ भन्ने कुरा त एसएलसीको रिजल्ट बारे यसले प्रसारण गरेको समाचारले पनि प्रष्ट पार्छ। रिजल्ट आउनु केही दिनअघि नै यसले रिजल्ट आइसकेको समाचार प्रसारण गर्दा निकै ठूलो हल्लीखल्ली मच्चिएको थियो। परीक्षा नियन्त्रण कार्यालयले पछि यस्ता हल्लामा विश्वास नगर्न आग्रह समेत गर्नुपरेको थियो। भारतीय च्यानल भएकोले हाकाहाकी झुठो समाचार दिँदा पनि नेपाल वनलाई कुनै कारबाहीको दायरामा ल्याउन भने सकिएन।

नेपाल वन टेलिभिजन बारे थप जानकारी यो ब्लगमा छ।

महराले ५० करोड मागेका होलान् त?
त्यसो त यो आवाज महराको हो कि हैन भन्ने पुष्टि हुन बाँकी छ। तर नेपालका सांसदहरु खसीबाख्रा जस्ता किनबेच हुन्छन् भन्ने नेपालीहरुलाई थाहा नभएको हैन। त्यसैले यो नहोला भनी भन्न सक्ने स्थिति छैन। भारतले सांसद किनबेचमा खेलेको भूमिका महाकाली सन्धिदेखि त्यसपछिका दिनहरुमा कसैबाट लुकेको छैन। चीन भने यो मामिलामा मुछिएको थिएन, अहिले मुछियो फरक यति मात्र हो। के चीनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन त्यत्रो खर्च गर्न तयार भयो होला त ? चीन र भारतबीच यतिबेला सम्बन्ध राम्रो छैन। उत्तरी छिमेकीसित नेपालले सम्बन्ध निकट बनायो भने सबैभन्दा टाउको भारत कै दुख्छ। नेपालमा हुने भारतीय चलखेलले तिब्बतलाई पार्ने असरप्रति चीन बढी सचेत छ। तर कुनै पार्टीका व्यक्तिलाई प्रधानमन्त्री बनाउन यसरी सांसद खरिद बिक्रीका लागि चीन पैसै खर्च गर्न तयार हुने कुरा भने कसैको अनुमानमा थिएन।

अडियोमा भएका केही कुराकानीले भने दालमा कालो भएको संकेत दिन्छ। उदाहरणका लागि अडियोको एक अंशमा पछिल्लो पटक हङकङमा प्रचण्ड र महरा जाँदा मिडियामा भएको चर्चा, हङकङमा बढी नेपाली भएकोले थाहा हुने जस्ता कुरा गरिएको छ। पछिल्लो पटक (गिरिजा जिउँदै रहँदा) अकस्मात् प्रचण्ड हङकङ किन गए भन्ने कसैलाई थाहा छैन। त्यहाँ उनले कसलाई भेटे भन्ने कुरा पनि कसैलाई थाहा छैन।

यो अडियो साँचो हो भने?
यो अडियो यदि साँचो हो भने नेपालमा भारतीय जासुसी कति भित्रसम्म छिरेको छ भन्ने प्रष्ट हुन्छ। कुनै एक पार्टीका नेता र कुनै देशका कुटनीतिज्ञको गोप्य कुराकानी सजिलै विदेशमा पुग्दो रहेछ। कसैको पनि व्यक्तिगत गोपनीयता सुरक्षित छैन भन्ने यसले प्रष्ट पार्छ।

यो अडियोमा उल्लेख गरिएका व्यहोरा सही हो भने ५० करोड रुपैयाँ माओवादीको पोल्टामा परिसकेको हुनुपर्छ र किनबेचका लागि सांसद समक्ष पनि पुर्‍याइसकेको हुनुपर्छ। त्यो हो भने त २० गतेको निर्वाचनमा बहुमत माओवादी कै आउनु पर्छ।

यो अडियो साँचो हो भने अब नेपाल दक्षिणी प्रभुबाट मात्र हैन उत्तरी प्रभुबाट पनि सञ्चालित हुन थाल्नेछ। दुई प्रभुहरुको द्वन्द्वको मारमा बिचरा नेपाली शान्तिभूमि पिल्सिने छ। यो अडियो साँचो हो भने चिनियाँ प्रभाव बढेकोले त्यसलाई हटाउन वा कम गर्न चीनले ५० करोड खर्च गरे भारतले एक अर्ब खर्च गर्नुपर्ने स्थिति आउनेछ। सभासदहरु मालामाल हुनेछन्।

No comments:

Post a Comment