Monday, July 26, 2010

चुनाव गराइराख्‍ने कि अर्को उपाय रोज्ने?

By Landscope Pill, on July 27th, 2010

देश कामचलाउ सरकारको हातमा पुगेको एक महिना हुन लागिसक्यो तर नयाँ सरकार बन्ने छाँटकाँट छैन। संसदमा कसैले पनि बहुमत पुर्‍याउन सकेका छैनन् दुई पटक चुनाव भइसक्यो, १७ गते तेस्रो पटक हुँदैछ। एमाले तटस्थ बस्ने भनेपछि काँग्रेस उम्मेदवारले बाँकी सबै सां‍सद मिल्दा पनि ३०१ पुर्‍याउन सक्दैनन्। फोरमले सहयोग नगरेसम्म माओवादीले कुनै हालतमा बहुमत पुर्‍याउन सक्दैन। अहिले कै स्थितिमा एमाले र फोरम दुवै तटस्थ बस्ने भएका छन्।

तपाईँलाई के लाग्छ, यस्तो निर्णय नहुने गरी चुनाव पटक पटक गराइराख्‍नु राम्रो कि अर्कै उपाय रोज्नु राम्रो? अब तपाईँको पालो- आफ्नो विचार संक्षेपमा लेख्‍नुहोला।

अहिलेको स्थिति संसदको नियमावलीका कारण भएको हो। नियमावलीमा बहुमत नजुटेसम्म चुनाव गराइराख्‍नुपर्ने उल्लेख छ। नियमावली संशोधन गर्नु एक विकल्प हुनसक्छ। तर अहिलेसम्म कसैले पनि नियमावली संशोधनको प्रस्ताव नल्याएको भन्दै यस्तो संभव पनि नहुने सभामुख भन्छन्।

हतारमा बनाएर हो कि सुझबुझको कमीले हो, यस्तो अवस्था आएमा के गर्ने भनी संविधानमा केही पनि उल्लेख छैन। अब १७ गते मात्र हैन यही स्थितिमा १७ पटक निर्वाचन भए पनि परिणाम आउने छैन।

इटाली मै पनि १९ पटक निर्वाचन हुँदा समेत प्रधानमन्त्री छान्न सकिएको थिएन। ३० भन्दा बढी संसदीय परम्परा भएको मुलुकमा दोस्रो चरणमा हुने मतदानमा जसले बढी मत ल्याउँछ उही निर्वाचित हुने परम्परा छ। हाम्रोमा यो व्यवस्था लागू गर्न कम सिट भएकाहरुले पक्कै दिने छैनन्। त्यसो हो भने अहिलेको समस्याको निकास के होला त ?

Sunday, July 25, 2010

इराकका नेपाली भन्छन्- गरी खान देऊ

By Landscope Pill, on July 26th, 2010

१५ दिनभित्र ३० हजार नेपाली एकै साथ बेरोजगार हुँदैछन्। ती त्यस्ता नेपाली हुन्, जसले सरकारी प्रतिबन्धको बेवास्ता गर्दै आफ्नो ज्यान जोखिममा मोल्दै युद्धग्रस्त देश इराकलाई आफ्नो गन्तव्य रोजे। अमेरिकी सेनाको इराक सेन्ट्रल कमान्डले २० जुलाईमा एउटा चिठी पठाउँदै नेपाली र फिलिपिनो कामदारहरुलाई घर फर्काउन सबै कम्पनीलाई आदेश दिएपछि यस्तो अभाव भएको हो। पासपोर्टमा नै ‘इराकमा जान नहुने’ लेखिएको हुन्छ नेपाल र फिलिपिन्सको पासपोर्टमा। त्यसो हुँदाहुँदै पनि चोरबाटोबाट इराकमा पुगेर काम गरिरहेकाहरुप्रति अमेरिकी सेन्ट्रल कमान्डले चासो देखाएको हो। इराकमा रहेका नेपालीहरु भने अहिले नै देश फर्कन चाहँदैनन्। सरकारप्रति उनीहरुको झिनो आशा छ- प्रतिबन्ध हटाइदेला कि भने। त्यसो नगरे नेपाल फर्कनु पर्ने अनि यहाँ आएर के गर्ने भन्नेमा अन्यौल छ। उनीहरु यति मात्र भन्न चाहन्छन् सरकारलाई- गरी खान देऊ!

Saturday, July 24, 2010

कस्तो होला 'कर्नाली ब्लुज'?

By Bhumi Thulung, on July 25th, 2010

बुद्धिसागर उपन्यासमार्फत् नेपाली साहित्यमा भिन्नै नक्षत्रको रुपमा उदाउँदैछन्। उनको पहिलो उपन्यास ‘कर्नाली ब्लुज’ अन्तरार्ष्ट्रिय स्तरको संगठित बजार व्यवस्थापन र अब्बल कागज, छपाइ सहित फाइन प्रिन्टले बजारमा ल्याउँदैछ। कथा के छ अलिकति सुनाउ न ? ‘फिल्म हुन्थो भने त्यसलाई सेन्सर बोर्डले +१८ एडल्टको प्रमाणपत्र दिन्थो होला’, कर्नाली ब्लुज बारे बुद्धिसागरको टिप्पणी- ‘छोराको कोणबाट भनिएको बाउको कथा हो मेरो पुस्तक।’

आफू चाहिँ रातभरि नसुती कर्नाली ब्लुज लेख्ने बाँकी काठमाडौं निदाउने। उनलाई इर्श्या लाग्दोरहेछ। सोच्दा रछन्- ‘कति सुत्छौ अहिलै सुत; मेरो किताब आएपछि तिमेरु पढेर जाग्नेछौ अनि म चाहिँ मस्तसँग निदाउनेछु।’

हो, बुद्धिसागर पुस्तकप्रेमीको निदहराम गर्ने योजनामा छन्। इन्टरनेटमा औधी रुचाइएका गैंडा टाइम्स र स्वर्ग बंकका लेखकको कर्नाली ब्लुजलाई कहिलेसम्म कुर्नुपर्ने हो त ? भने- ‘अब दुई हप्ता पर्खे पुग्छ। साउनको तेस्रो साता कन्फर्म बजारमा आइपुग्छ।’

कर्नाली ब्लुज ४ सय १२ पृष्ठको छ। बुद्धिसागरको सिर्जनात्मक क्षमतालाई न्याय होस् भनेर प्रकाशक फाइन प्रिन्टले पुस्तक अन्तरार्ष्ट्रिय स्तरको बनाउन डिजाइन र छपाइमा विशेष ध्यान दिएको बताएको छ।

Thursday, July 22, 2010

कुइरेनीको माया र रातो पासपोर्ट

Posted by रमेश ज्ञवाली

भिक्टोरिया कोच स्टेसनमा नेसनल एक्सप्रेसको डोभर जाने बसको टिकट लिएर म बस कुर्दै थिएँ। बस छुट्ने समय पूरै ५ घन्टा बाँकी थियो। साथमा ठूलै सुटकेस भएकाले कहाँ जानु? फेरि त्यो समय लन्डन सहर विरानो नै थियो मेरा लागि। त्यसैले त्यहीँको कुर्चीमा बसेर पर्खिनुको विकल्प रहेन।

झोलामा रहेको पुरानो डायरी पढ्ने र फोटोहरू हेर्ने काम पनि केही मिनेटमै सकिएपछि टोलाएर बसिरहेँ। अलि पर रहेको इन्डियनको पसलमा डेढ पाउन्डमा एउटा भेज समोसा र पेप्सी किनेर खाइसक्दा अर्को एक जना मेरै कदको युवक आयो त्यो पसलमा। मैले खाएकै कुरा किनेर खान लाग्यो। मजस्तै गोर्खाली नै परेछ समोसा नै खान थाल्यो भन्ठानेँ मनमनै। अनि त्यो म नजिकैको कुर्सीमा बस्न आइपुग्यो।

पाँच घन्टा समय कटाउन अलि सजिलो होला, नेपाली परेछ भनेर परिचय गर्ने विचार गरेर सोधिहालेँ, ‘नेपाली हो?'

‘अरे यार, कसरी चिन्नुभयो, दाइ?' उसैले प्रश्न तेर्स्यायो। पहिलो पटकमै त्यसले बोलेका शब्द र दाइ भन्ने कुराले सुरुमै लाग्यो - बेकार बोलेछु। मेरो शंका तब पुष्टि भयो जब हात मिलाउन हात सोझ्याउँदै नजिक आउँदा थाहा लाग्यो, मध्याह्न पनि नहुँदै साथीले दारु दिइसकेको रहेछ।

‘हेर्नुस् न दाइ, कुइरेनीले छोडेर गै,' आफ्नो कहानी पो सुरु गर्‍यो फिल्मी शैलीमा चिन्नु न जान्नुको मान्छेसँग। मैले थाहा पाएँ - उसलाई दारुभन्दा पनि कुनै पीडा लागिरहेको रहेछ र यौटा नेपाली पाउँदा ओकल्न हतारो भयो।

पाँच वर्षअगाडि पढ्न भनेर बेलायत आएको अनि अहिलेसम्म कुनै डिग्री नलिएको र एकपटक पनि घर नगएको उसले क्षणभरमै सुनायो। घरमा सम्पर्क हराइसकेको स्याङ्जाको त्यो ठिटो उसले भन्ने गरेको वा उसलाई लागेको ब्रिटिस (कुइरेनीचाहिँ पक्कै हो) को मायाजालमा परेको रहेछ। बिहान-साँझ रेस्टुराँमा काम गर्ने अनि बाँकी समय त्यही कुइरेनीसँग मोजमस्ती गर्दा दिन, हप्ता र महिनामात्र हैन वर्ष पनि बितिगए। न पढाइ न पैसा, यही कारण घरपरिवारसँग सम्बन्ध रहेन नै।

धन्य, कुनै एसियनको कलेजमा केही सय पाउन्डको भरमा चिठी बनाएर भिसा भने थप्दै रहेछ। अरू जेजसो भएपनि कुइरेनीसँग बिहे गर्न पाए बिस्तारै यतै बस्न पाउने र सेटल भैसक्ने आसमा बसेको केटो छाँगाबाट तब खस्यो जब कुइरेनीले ‘आइ एम नो मोर विथ यु' भन्ने एसएमएस पठाएर टाप कसिछे। त्यसले त्यो नेपाली ठिटोको माया, विश्वास र भएभरको नगद पनि पोको पारिछे।

...

‘कुइरेनीको घरठेगाना केही थाहा नभैकन, किन पछि लागेको त?'

‘विश्वास गरेँ मैले, इमानदार लाग्यो, त्यसले पनि काम गरेकी थिई, उसकै खातामा पैसा जम्मा गरेका थियौं।'

अर्को साल बिहे गर्ने निर्णयसमेत गरेको रे। विश्वास पनि यति गरेछ कि यौटा गोरो छाला भएकी केटीबाहेक केही थाहा नभएकोसँग तीन वर्ष संसार भुलेर बिताएछ। ‘हिजो राति त्यस्तो म्यासेज आयो, मेरो एकाउन्टमा कत्ति पनि छैन, होइन दाइ त्यसले माया पनि गर्थी के,' ऊ रुन पो थाल्यो।

मनमा लाग्यो नेपालमा त स्याङ्जातिरका मान्छे साह्रै चलाख भएको कुरा सुन्न पाइन्छ। यसलाई भने कुन देशकी कुइरेनीले झ्याप पारिछे। अझै भन्दैछ, ‘माया गर्थी।'

पहिले चाख र पछि कताकता नरमाइलो मानेर सुन्दै थिएँ। सोध्यो, ‘दाइ, पब जाने हो? बियर खाऊँ, है?' मैले नखाने बताएपछि भन्यो, ‘दाइ, तपाईंले पढ्नुहोला, भर्खर आउनुभएको रहेछ। रक्सी पनि नखाने भनेपछि पक्कै बिग्रनु हुन्न होला।' फेरि भनेँ, मनमनै, ‘सबै कुइरेनीको नक्कली मायामा भुल्छन् र? अनि दारु खाने पनि त यौटा समय हुन्छ नि!'

उसको पनि दुई घन्टा बाँकी थियो बस छु्ट्न। ऊ लाग्यो बाहिर चुरोट तानेर एकछिनमै आउँछु भनेर। मैले ठानेँ अब यसको गनगन यहाँभन्दा नसुनौं। अनि स्टेसनको अर्को भीडतिर लागेँ सुटकेस गुडाउँदै।

...

साँझमा म जुन घरमा पाहुना भएर बस्न गएको थिएँ त्यहाँ आएका अर्का एकजना पाहुनाले सोधिहाले, ‘ल भाइ बिहे भा छैन भने एक जना कुइरेनी खोज्नुपर्‍यो र रातो पासपोर्टको चक्करतिर लाग्नुपर्छ। यो पढेर त कहिले हो कहिले।'

...

दिउँसोको कुरा सम्झेर मलाई लाग्यो, हामी नेपाली वास्तवमै इमानदार र सोझा छौं। तीन-तीन वर्ष त्यसरी बिनाआधार संसारै त्यागेर विश्वास गर्र्नु कमजोरी त हो नै। पढेर र अन्य प्रक्रिया पूरा गरेर पनि पाउन सकिने कुरालाई कुनै मेहनत नगरी पाउन खोज्नु र दुःखबिना सुख खोज्नुको परिणतिले घर न घाटको बनाउने नै भयो। त्यसकै लागि पैसा डुबाउने। अनि अन्त्यमा न पैसा न पासपोर्ट न पढाइ। समय पनि त्यत्तिकै खेर जाने। हातलाग्यो मानसिक तनाव र कहिल्यै नमेटिने घाउ।

छोटो अवधिको लागि आएकाले पनि लामै समय बस्न चाहनु, केही वर्ष पढेर डिग्री, अनुभव र पैसा जम्मा गर्ने बाटो लामो र झन्झट मानेर छिटोको लागि अन्य विकल्य खोज्दै हिँड्ने बानी बसेको छ। जसरी पनि सेटल हुने, सके कुइरेनीसँग सक्कली, नक्कली बिहे गर्ने, केही वर्ष टिकाउन सक्यो भने आइएलआरको (सधैं बस्न पाउने) भिसा लगायो अनि त कुहिरेनीलाई छाडे पनि भयो। आखिर माया त कुइरेनीको लागेको होइन, भिसा र पासपोर्टको हो। अहिले त धेरै नेपाली पनि आएएलआर पाएर बसेका छन्। एकथरीको आँखा भने तिनै युवतीतिर हुन्छ, तिनलाई हात पार्न सकियो भने त भिसाको ग्यारेन्टीजस्तै हुने भयो। आइएलआर होल्डरले पाउने सुविधाका कारण जुनसुकै उद्देश्य बोकेर बेलायत आएकाहरू धेरैजसोको मनमा सेटल भैछाड्ने मनस्थिति भएको देखिन्छ।

स्टुडेन्ट भिसा सकिन लाग्दैछ, एक दिन कलेजको मुख देखेको छैन भन्ने वा वर्क परमिटको लागि कोसिस गर्दैछु भन्ने विद्यार्थी लन्डनमा थुप्रै भेटिन्छन्। पाँच सात सयमा वर्षभरिको हाजिर गरिदिएर वा होम अफिसलाई चिठी लेखिदिएर भिसाको म्याद थप्न ठूलो गुन लगाएका छन् एसियन कलेजहरूले। जसमा हाम्रै नेपाली दाजुभाइका कलेज पनि कम्ती छैनन्। त्यसो त हालै लन्डनमा नेपाली विद्यार्थी ठग्ने तथा अलपत्र पार्ने काममा नेपाली दाजुभाइकै कलेजले ठूलै र मुख्य सेयर राख्छन्।

लाखौं खर्च गरेर नेपालबाट आएपछि सरकारी नियम मानेर बीस घन्टामात्र काम गर्ने र पढाइमै समय लगाउंँदा घरतिरको आस छिटो पूरा नहुने कारण पनि विद्यार्थीहरू अन्य विकल्पतिर लाग्छन्। अनि पढेरै पनि देशमा गएर के पो पाइएला भन्ने निरासावादी र धेरै हदसम्म तितो यथार्थले यहाँ आएका युवा जसरी पनि यतै अल्भि्करहने मनस्थितिमा देखिन्छन्।

गत साता लन्डन जाँदा ग्रिनविचमा वस्ने चितवनतिरका एकजना भाइलाई फोन गरेको थिएँ, ‘म आज साँझ आउँदैछु। कामबाट कति बजे फर्किनुहुन्छ?' जवाफ आयो, ‘ए दाइ, म त एकजना आइएलआरको चक्करमा बसाइ नै सरेर प्लमस्टिडतिर (नेपालीको बस्ती भएको ठाउँ, जहाँ यतैको पासपोर्ट होल्डर जमेर बसेका छन्) आएको छु।'

लौ, कुइरेनीको जालमा त नफस्नू क्यारे भन्दै फोन राखेँ।

...

खै, हाम्रो देशमा सुविधा र अवसर नभएर हो कि, अरूको देशमा बस्न र उनीहरूकै पासपोर्ट लिनुलाई नै हामीले अन्तिम लक्ष्य जस्तो ठान्ने? म पढ्ने विश्वविद्यालयका अधिकांश विद्यार्थी भारतीय छन्, (विद्यार्थी मात्र के मलाई त देशैभरि भारतीय छन्जस्तो लाग्छ) जसको दोस्रो सेमेस्टर सुरु हुँदै भारतमा जागिरको पक्कापक्की भैसकेको छ त्यो पनि उच्च तलवमानमा। म तुलना गर्छु, हामी नेपालबाट आएकाहरू पढाइ सकेर देश फर्किने हिम्मत गर्न सक्दैनौं न त नेपालबाट पनि त्यस्तो अपेक्षा गरिन्छ। कारण हामीसँग छैन त्यस्तो वातावरण, जहाँ आफ्नो सीपलाई प्रयोग गरौं, आफूलाई पनि फाइदा होस् र देशलाई पनि। अनि सायदै सुरु हुनेछ रातो पासपोर्टको चक्कर। विकसित देशमा भौतिक सुखसुविधा पाएपनि पाइलैपिच्छ हुने प्रत्यक्ष अप्रत्यक्ष जातीय तथा रंगभेद सहनुपर्ने पीडाका कारण राम्रैसँग जमेर बसेकाहरूको मनको कतै कुनामा अवसर पाए देश फर्किने चाहना पाउँछु।

अर्को देशमा बस्न हुरुक्क र हिरिक्कै गर्नु हाम्रो मानसिकता बनाउने हाम्रै देशको गरिबी, अशिक्षा र सिस्टम पूरै काम नलाग्ने भैसक्नु र देश चलाउनेबाट केही पनि आस गर्ने ठाउँ बाँकी नभएरै त होला। भित्री मनमा देशको माया त विदेशी पासपोर्ट र नागरिकता खोज्नेलाई पनि नभएको होइन नि!

‘जवान भएपछि ऊ आउँछ रे'

शुक्रवार, 23 जूलाई 2010 06:39
जाल्पा खालिंग

उपेन्द्र लामिछाने, वीरगन्ज, साउन ७- आठ वर्षीया चन्दा मलीले विवाह गरेको पाँच वर्ष बितिसक्यो। उनलाई अझै पनि आफ्नो श्रीमान्को नाम याद छैन। तीन वर्षको उमेरमा विवाह गरेकी उनले दुलाहाको अनुहार सम्झना नरहेको बताइन्। ‘मलाई विवाह गरेको मात्र थाहा छ,' जीतपुर-३, डोमटोलकी चन्दाले भनिन्, ‘उसको नाम र अनुहार थाहा छैन।'
जीतपुरबाट करिब ३० किलोमिटर दक्षिणको सिमावर्ती भारतीय सहर रक्सौलमा उनको विवाह भए पनि अहिलेसम्म दुलाहा भेट्न आएका छैनन्। ‘हामी सियान (जवान) भएपछि ऊ आउँछ रे,' उनले हाँस्दै सुनाइन्।

यही टोलकी पाँच वर्षीया चन्दना मलीलाई पनि आफ्नो श्रीमानको नाम याद छैन। करिब १६ महिनाअघि विवाह गरेकी उनले पतिको अनुहार भने सम्झना रहेको बताइन्। ‘उनलाई भेटे भने चिन्छु,' उनले भनिन्, ‘उनको नाम भने बिर्से।' यी बालिका अभिभावकले बनाएका बाँसको टोकरी स्थानीय बजारमा बेच्ने गर्छिन्। कहिलेकाहीँ श्रीमान्को सम्झना आउने गरेको उनले बताइन्। ‘गाउँघरमा कसैको विवाह हुँदा अनि टिभीमा नाटक हेर्दा सम्झना आउँछ,' उनले भनिन्।

बारा पर्सोनीमा २०६५ चैतमा चन्दनाको विवाह भएको उनकी आमा लक्ष्मीले सुनाइन्। ‘हाम्रो समुदायमा छोरा-छोरीको सानैमा विवाह हुन्छ,' उनले भनिन्, ‘ढिलो गर्‍यो भने केटा पाउन मुस्किल पर्छ। दाइजो पनि बढी दिनुपर्ने हुन्छ।'

यसै गाउँमा आउँदो माघमा अढाई वर्षीया बालिका शनी मलीको पनि विवाह हुँदै छ। ‘शनीको पर्सा सथबलका बालकसँग विवाह हुन लागेको आमा रिनाले सुनाइन्। त्यही दिन उनका ६ वर्षीय छोरा इन्द्र मलीको पनि पर्सा घुर्मीमा विवाह हुने उनले बताइन्। ‘ यसको विवाहमा तपार्इंलाई पनि निम्ता छ,' अढाइ वर्षीय बालिकालाई देखाउँदै उनले भनिन्, ‘विवाह भोजका लागि चाहिने सामग्री तयार गरिसकेका छौं।'

तराईका डोम समुदायमा सानैमा विवाह हुने चलन रहेको थारु कल्याणकारी सभाका पर्सा अध्यक्ष रामनारायण गौरोले बताए। ‘सानैमा विवाह गरे पनि केटा-केटी एकै ठाउँमा बस्दैनन्,' उनले भने, ‘उमेर पुगेपछि उनीहरू एकै ठाउँमा बस्छन्।' यस्ताखाले विवाहले बालबालिकाको स्वतन्त्रता हनन् हुने उनको भनाइ छ।

‘बच्चैमा कसैको श्रीमान-श्रीमती बनाइनु राम्रो होइन,' उनले भने, ‘यसले बालबालिकाको मनस्थितीमा नराम्रो असर पुर्‍याउँछ।' युनिसेफले केही वर्षअघि गरेको अध्ययनअनुसार नेपालका ४० प्रतिशत केटीको १५ वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको छ। नेपालका ग्रामीण भेगमा अझै पनि बालविवाह कायमै छ।

Wednesday, July 21, 2010

Nepaal aamaa ra baaburaam maamaa

written by Landscope pill
बाबुराम मामाको साथमा पठाईदिय नेपाल आमाको राम्रो हेरचाह हुन्थ्यो किनकि बाबुराम मामाले नेपाल आमाको सरसफाइ तथा खान पानमा राम्रो हेरचाह गर्न सक्नु हुन्थ्यो उहाँ अरु भन्दा अलि मायालु पनि हुनुहुन्थ्यो र हामि सबै भान्जा भान्जी हरुलाई पनि मायाँ गर्नु हुन्थ्यो l तर के गर्नु प्रचण्ड मामाले मै पाल्छु मेरो दीदीलाई भनेर जबरजस्ती गर्नुभो त्यसैले झलनाथ अंग्कल र रामचन्द्र अंग्कल पनि प्रचन्डलाई त दिन्नौं भन्दै बिरोधमा उठिहाल्नु भो हुनत प्रचण्ड मामाले पनि नेपाल आमाको हेरचाह त राम्रै गर्नुहुन्छ तर कहिले काहीं रिसाउनुहुन्छ अनि नेपाल आमाको मन दुखाउनु हुन्छ l झलनाथ र रामचन्द्र अंग्कललाइ त स्याहार गर्नै आउँदैन l अस्ति माधब दाइलेत आमालाई कत्ति रुवाउनु भो हामीलाई पनि यौटै मायाँ गर्नु भएन l त्यसैले सबै मामा र सबै अंग्कल हरु मिलेर हाम्री आमालाई बाबुराम अंग्कल संग पठाईदिनुन है ?

Monday, July 19, 2010

पेनाल्टीमा गोल हान्नेको नाम आज दर्ता हुँदै

By Jalap Khaling, on July 20th, 2010

प्रधानमन्त्री कप नाटकरुपी फुटबलको निर्धारित समय र एक्स्ट्रा टाइममा पनि गोल हुन नसकेको त तपाईँहरुलाई थाहै होला। त्यसैले पेनाल्टीमा निर्णय हुँदैछ। पेनाल्टी हान्ने दिन साउन ५ गते बुधबार अर्थात् भोलि हो। आज भने गोल हान्न इच्छुकहरुको नाम टिमले दर्ता गर्दैछ। काँग्रेसी टिमबाट गोल हान्नेको नाम तय भइसक्यो- रामचन्द्र पौडेल। तर पौडेल जोकर मात्र हुनेछन् यदि उनलाई एमालेले साथ दिएनन् भने। एमालेले दुई तिहाइ जुट्ने देखियो भने आफ्ना कप्तान झलनाथ खनाललाई गोल हान्न दिने भनेको छ। माओवादीमा पनि विवाद छ। हिजो सकेसम्म आफ्नै नेतृत्व खोज्ने नभए एमाले क्याप्टेन खनाललाई सहयोग गर्ने भनेर आएको समाचारलाई बाबुराम भट्टराईले खण्डन गरे। माओवादी क्याम्पमा स्ट्राइकर भट्टराई प्रधानमन्त्री बन्ने संभावना नजिकिँदै गएको तर क्याप्टेन प्रचण्डले त्यसलाई रोक्न प्रयास गरिरहेको खबर छ। हेरौँ, को को हुने हुन् प्रधानमन्त्रीका उम्मेदवार।

एउटा कुरा चाहिँ निश्चित छ- आज नाम लेखाएकाहरुबाटै प्रधानमन्त्री चुनिनेछन्। किनभने यदि पहिलो चरणको मतदानमा कसैले बहुमत नल्याए पनि दोस्रो चरणमा नयाँ उम्मेदवार थपिन पाउँदैन। त्यसैले आज प्रधानमन्त्रीको निर्वाचनका लागि क कसको उम्मेदवारी दर्ता हुन्छ, त्यो महत्त्वपूर्ण छ।

अहिलेसम्मको स्थिति हेर्दा यस्तो देखिन्छ

रामचन्द्र पौडेल- उनी काँग्रेसका मात्र सर्वसम्मत नेता भइदिए। उनलाई एमालेले नै सहयोग गर्छ कि गर्दैन निश्चित भएको छैन। उनी प्रधानमन्त्री भए भने माओवादीले नसघाउने र प्रतिपक्षमा बस्ने निश्चित भएको छ। वर्तमान गठबन्धन कायम राखेर उनी प्रधानमन्त्री बने भने त्यो माधव नेपाल सरकार जस्तै नबन्नबाट रोक्न पौडेलले धेरै मेहनत गर्नुपर्नेछ। एमालेको निर्णयमा पौडेलको भविष्य अड्किएको छ।

झलनाथ खनाल- माओवादीसहितको वाम दल र मधेसवादी दल मिल्यो भने दुई तिहाई बहुमत जुट्ने र यसबाट स‌ंविधान निर्माणलाई सजिलो हुने तर्क गर्छन् खनाल क्याम्पका नेताहरु। तर खनालको चुनौति बाहिरका दलहरुलाई मिलाउन मात्र हैन, आफ्नै दलकाहरुलाई पनि मिलाउनु पर्नेछ। केपी ओली वा विद्या भण्डारीलाई कार्यवाहक अध्यक्ष दिनुपर्ने, चुनाव हारेका ओलीलाई संविधान सभामा लानुपर्ने जस्ता शर्त खनालसमक्ष तेर्स्याइएको सुनिएको छ। खनाललाई प्रधानमन्त्री बन्न नदिन ओली र नेपालले माओवादीका बाबुराम भट्टराईलाई उचालिरहेका छन् भन्ने भट्टराई निकटकाहरुबाट सुनिन्छ। तपाईँ वातावरण बनाउनुस् हामी सघाउँछौँ भन्ने आश्वासन ओली र नेपालले भट्टराईलाई दिएका छन् रे।

बाबुराम भट्टराई- उनको संभावना पछिल्ला दिनमा बढेको छ। प्रचण्डले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न हरसंभव प्रयास गरिरहेका छन्। तर मध्यमवर्ग र सञ्चारमाध्यममा देखिएको उनको राम्रो छवि, अन्तर्राष्ट्रिय जगतमा उनको पकड आदि कारणले उनको पक्ष बलियो हुँदै गइरहेको छ। हिजो माओवादीको बैठकले आफ्नो नेतृत्वमा सरकार नबने झलनाथ खनाललाई सघाउने भनी निर्णय गर्‍यो भन्ने खबर आउने बित्तिकै भट्टराईले त्यसको खण्डन गरेर आफू प्रधानमन्त्री बन्ने दौडमा कायम रहेको सन्देश दिएका छन्। पछिल्ला दिनमा प्रचण्डभन्दा बढी सक्रिय भई नेताहरुसितको भेटघाटमा सक्रिय रहेका भट्टराईलाई साना ११ दल र मधेसवादी दलको समेत साथ रहने विश्वास छ। एमालेको सहयोग भए उनी निश्चित प्रधानमन्त्री बन्नेछन्। तर उनको चुनौति प्रधानमन्त्रीको आका‍क्षा सजाएर आफ्नै दलको नेतृत्वको सरकारलाई असफल बनाउन भूमिका खेलेका झलनाथ खनाललाई विश्वासमा लिनु रहेको छ। अनि प्रमुख अर्को दल काँग्रेसको पनि विश्वास नलिई उनको बहुमतीय सरकार सफल बन्न सक्दैन। त्यसो त उनलाई नै माओवादीले प्रधानमन्त्रीको उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, त्यही शंकामा छ।

अरु कुनै अनुहार चर्चमा यिनै नाम र संभावना यिनैको भए पनि नेपालको राजनीतिमा निर्णायक भूमिका खेल्ने भनिएको दिल्ली दरबारले माओवादीका कुनै फरक अनुहार वा एमालेको वा अन्य कुनै दलको हामीले नसोचेको अनुहारलाई प्रधानमन्त्री बनाइदियो भने पनि अचम्म मान्नुपर्दैन। दुई ठाउँबाट हारेका माधव नेपाल प्रधानमन्त्री बन्लान् भन्ने कसैले सोचेका थिए र ?

Friday, July 16, 2010

posted and written by Bhumi Thulung
बिना बैरी सक्रिय तिमि
कहिले मनोमानी कहिले क्षण क्षण
सताउने बिना बैरी सक्रिय तिमि

सुन्यतामा लुकिरहंदा चलाउने,
रफ्तारमा दौडीरहंदा भुलाउने
बिना बैरी सक्रिय तिमि
रुँदा रुँदै हसाउने,
हाँस्दा हाँस्दै विक्षिप्त बनाइदिने
अनि,
जिउँदा जिउंदै मारिदिने
बिना बैरी सक्रिय तिमि

मैले मायाँ उदघोस गर्दा
समापन सुनाउने
बल्ल बल्ल लाएको मायाँ जलाउने
मलाई मन नहुँदा नहुँदै चलाउने
बिना बैरी सक्रिय तिमि l

Wednesday, July 14, 2010

यो बाध्यता

writen by Bhumi Thulung

वाध्यता पानी कसै कसैलाई हैन
सबैलाई आउँदो रैछ प्रिया
मनै त होनी मेरो पानी
कति धेरै दुखेको छ प्रिया l

हुन्छ हुन्छ भन्दै गर्दा यहींबाट फर्कंदैछु
मलाई छाड्ने पापी तिमी भन्दै नभन
हुँदैन अब भन्ने पल सबैलाई
आउँदो रैछ प्रिया

तिमीले भन्दा धेरै मायाँ पाउने त्यो परिवेश
अझै पनि निर्दोसी छ
तिमी हैन समाज भन्ने पल
सबैलाई आउँदो रैछ प्रिया l

प्रलय पाउन नसकेको विषाक्त समाज
भन्नु नै पो किन र
मुटु जस्तो जिम्मेवार रीति
त्यो पनि त यहीं छ l

यो बाध्यता

writen by Bhumi Thulung

वाध्यता पानी कसै कसैलाई हैन
सबैलाई आउँदो रैछ प्रिया
मनै त होनी मेरो पानी
कति धेरै दुखेको छ प्रिया l

हुन्छ हुन्छ भन्दै गर्दा यहींबाट फर्कंदैछु
मलाई छाड्ने पापी तिमी भन्दै नभन
हुँदैन अब भन्ने पल सबैलाई
आउँदो रैछ प्रिया

तिमीले भन्दा धेरै मायाँ पाउने त्यो परिवेश
अझै पनि निर्दोसी छ
तिमी हैन समाज भन्ने पल
सबैलाई आउँदो रैछ प्रिया l

प्रलय पाउन नसकेको विषाक्त समाज
भन्नु नै पो किन र
मुटु जस्तो जिम्मेवार रीति
त्यो पनि त यहीं छ l

कटाक्षपात मेरो घर

posted by Bhumi Thulung

कत्रो विपत्ति आइपर्यो बीचारो त्यो मेरो घरलाई
आफ्नै छानो हुँदा हुँदै पनि आफुलाई ढाक्ने छानो खोजिरहेछ l

कत्ति सफल घर आहा ! सबैले यहि भनिरहँदा
मेरो घरलाई भित्र भित्रै डर लागिरहेछ, कतै मैले म भित्र बस्ने
परिवारलाई सुरक्षा दिन असफल त हुन्न ?

यत्ति बेला मेरो घरलाई जिम्मेवारी र कर्तव्यको भुमरीले
गुडूलक्यै रहेको छ l
उत्साह र उमंगमा रामाय जस्तो गरिरहँदा l
असफल्तानै असफलताले नराम्ररी ऐठन परिरहेछ l
सफल भय जस्तो गरिरहँदा l

धेरैलाई गुहारी रहेछ मेरो घर ,
आफु अरुलाई गुहार दियाजस्तो गरिरहँदा l

दुनियाँ थिचो मिचो र घमण्डमा रमाइरहेछ ,
मेरो घरलाई गुहार दियाजस्तो गरिरहँदा l त्यसैले ,
त्यसैले कसैले नदेखने गरि भक्कानिईरहेछ मेरो घर
हाँसीरहे जस्तो गरिरहँदा l

Tuesday, July 13, 2010


तिम्रो सपना पुरा हुन्न क्यारे आमा
थालानितिरै असफल हुन थालिसकेको छु l
अघि बढ्दै बढ्दै गैरहेको मैले
बीच बिचमा धरापहरु भेट्न थालिसकेको छु l

मैले देखेको त्यो स्वोर्णिम सैघार टेक्न कुद्दा कुद्दै
त्यो नकचरो घाम डुब्न थालिसकेको छ
पुग्नै लाग्दा मैले त्यहाँ
झपक्कै रात पर्न थालिसकेको छ l

पापी यो दुनियामा दुखको गाँस निल्दा निल्दै
बैंसको फुल झार्न थालिसकेको छु
अत्याचारको मैदानमा भिड्द भिड्दै
सबै परिश्रम लुटाउना थालिसकेको छु

बैगुनी दुनियामा मनहरु बाँड्द बाँड्दै
अपमानित हुन थालिसकेको छु
थामेर हातहरु छोड्दै, जोडेर मनहरु तोड्दै
गर्न थालिसकेको छ यो दुनियाँ l त्यसैले
त्यसैले आमा तिम्रो सपना पुरा हुन्न क्यारे
थालानितिरै असफल हुन थालिसकेको छु
अघि बढ्दै बढ्दै गैरहेको बेला मैले
बीच बिचमा धरापहरु भेट्न थालिसकेको छु l

साउन ५ गते नयाँ प्रधानमन्त्री चुनिने


By Jalpa Khaling, on July 13th, 2010





देशले ३४ औँ प्रधानमन्त्री साउन ५ गते पाउने भएको छ। सहमतिमा प्रधानमन्त्री छान्न दलहरु असफल भएपछि अब बहुमतीय अर्थात् जसले बढी सभासदको समर्थन जुटाउँछ उसले प्रधानमन्त्री बन्ने मौका पाउँछ। साउन ५ गते बुधबार व्यवस्थापिका स‍ंसदमा हुने चुनावमा कम्तिमा ३०१ मत ल्याउन सक्ने सभासद प्रधानमन्त्री बन्नेछ। प्रधानमन्त्री बन्नका लागि को-को उम्मेदवार बन्दैछन् भन्ने कुरा चाहिँ एक दिन अगाडि नै थाहा हुनेछ। अर्थात् साउन ४ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ।

नेताहरुका लागि यो के-के न अवसर होला। देशको सर्वोच्च कार्यकारी कुर्सीमा बसेर के-के न गरौँला भन्ने ठान्या होलान्। त्यसका लागि के के तिकडम अपनाउने विचार गरिरहेका होलान्। साना दलहरुको जति भाउ अहिले जस्तो कहिले बढ्छ र। कुन चाहिँलाई समर्थन गरे के फाइदा हुन्छ भनेर विचार गरिरहेका होलान्। हामी जस्ता सर्वसाधारण नागरिकका लागि भने प्रधानमन्त्रीको कुर्सीका लागि हुन लागेको यो निर्वाचन नयाँ बोतलमा पुरानो रक्सी राख्‍ने बाहेक केही हो जस्तो लाग्दैन।

नयाँ बोतल पनि के भन्नु, पुरानै अनुहार आउने हुन्, पुरानै कुर्सीमा बस्ने हुन्, पुरानै ढर्रामा काम गर्ने हुन्। त्यसैले पुरानै बोतलमा पुरानै रक्सी भने पनि हुन्छ।

पर्दा बेग्लै झ्याल उही
खोपडी बेग्लै खयाल उही
जिब्रो बेग्लै र्‍याल उही
छाला बेग्लै स्याल उही

जनआन्दोलन बेला अति चलेको अर्जुन पराजुलीको माथिको कविता जस्तै छैन त अहिलेको अवस्था ?

प्रधानमन्त्रीको निर्वाचन साउन ५ मा

Tuesday, 13 July 2010 14:59





माधव ढुङ्गेल, काठमाडौं, असार २९ - नयाँ प्रधानमन्त्री चयनका लागि साउन ५ गते संसदमा मतदान हुने भएको छ। सहमतिको सरकार बनाउन राष्ट्रपतिले दिएको म्याद सोमबार सकिएपछि मंगलबार बहुमतीय सरकार चयनको मिति तोकिएको हो। कार्य व्यवस्था परामर्श समितिको मंगलबारको बैठकले साउन ४ गते प्रधानमन्त्रीको नाम प्रस्ताव दर्ता र ५ गते ११ बजे प्रधानमन्त्रीको चुनाव गर्ने तय गरेको छ।
'साउन ५ गते प्रधानमन्त्रीको निर्वाचन गर्ने निर्णय भएको छ' बैठकपछि संवाददातासँग कुरा गर्दै कानुनमन्त्री प्रेमबहादुर मन्त्री सिंहले भने।

संसदको बैठकमा सम्बन्धी पत्र सभामुखले पढेर सुनाएका छन्। पत्र पढेर सुनाएपछि आजका लागि संसद बैठक स्थगित भएको छ। अब प्रधानमन्त्री चयनका लागि असार ५ गते ११ बजे संसद बैठक बस्नेछ।

राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपति रामवरण यादवले दुई पटक समय प्रदान गरे पनि दलहरु त्यसमा असफल भएका थिए। सहमतिको सरकार गठन हुन नसकेपछि अन्तरिम संविधानको धारा ३८ को उपधारा २ बमोजिम बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गरिन लागिएको हो।

Friday, July 9, 2010

फाइनलमा पुगेपछि यस्तो छ नेदरल्यान्डस

By Bhumi Thulung, on July 7th, 2010


-रवीन्द्र रिजाल/आइन्डहोभन, नेदरल्यान्डस-

आम्सटरडामजस्तो बन्धनरहित, निस्फिक्री शहरको देश भनेर चिनिन्छ नेदरल्यान्डस। युरोप भरमा अलिक खुला स्वभावका, प्याच्च बोल्ने र हठी स्वभावका तर अरू ठाउँको तुलनामा अलि कमै जातीय अपहेलना हुने ठाउँ भनेर चिनिन्छ यो। कफी गफमा प्रायजसो विषयको संवेदनशीलता नहेरी ठट्यौली गर्ने बानी सुरु सुरुमा अपच नै हुने रहेछ। फेरि कतिपय कुरामा भने आफ्नै नियम काइदा। जस्तो कि कसैले नयाँ सामान किन्यो भने मूल्य सोध्न नपाइने रे, रेष्टुराँमा खाना खान गयो भने केटा-केटी वा साथी सबैले छुट्टा-छुट्टै पैसा तिर्नु पर्ने, कसैको घरमा पहिला फोन गरेर समय नलिई नजानु रे , आदि आदि। तर गत महिनाको चुनावमा आएको मतदानको तथ्याङ्कले त्यो परिभाषालाई अलि सोच्नु पर्ने हो कि भन्ने भान हुन्छ। किनकि विशेष गरी मुसलमान समुदायका विरुद्ध खरो भएर लागेका एक नेताले अत्यधिक सफलता हात पारे।

नयाँ इतिहास रचिने भो


अफ्रिकामा पहिलो पटक भएको विश्वकप फुटबल प्रतियोगिताको उपाधि अहिलेसम्म उपाधि नजितेको टिमले जितेर नयाँ इतिहास रच्ने पक्का भएको छ। जर्मनी र स्पेनबीचको अहिले भर्खर सकिएको सेमी फाइनल खेलमा जर्मनीलाई १-०ले हराएपछि स्पेन र नेदरल्यान्डसबीच उपाधिका लागि भिडन्त हुने भएको हो। यी दुवै युरोपेली टिमले अहिलेसम्म विश्वकप जितेका छैनन्। स्पेन पहिलो पटक फाइनलमा पुगेको हो भने डच टिम ७० को दशकमा दुई पटक फाइनलमा पुगेर पनि उपाधिविहीन भएको हो। क्वार्टर फाइनलका खेलहरुदेखि नै स्पेन र नेदरल्यान्ड्सबीच फाइनल होस् भन्ने मेरो चाहना र आशा व्यक्त गर्दा कतिले खिसी गरेका थिए। यस पटक इटाली, फ्रान्स, ब्राजिल, अर्जेन्टना, जर्मनी लगायत सबै परम्परागत टिम पाखा लागे र अन्ततः यी दुवै टिमबीच नै फाइनल हुने भो।

डा. भक्तमानको अपहरण यसरी भएको रहेछ

भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण भयो। १९ औँ दिनमा उनी मुक्त हुनुअघि यो अपहरणको विषयमा धेरै चर्चा भयो। केही सञ्चार माध्यमले प्रमाणै बिना सीधै माओवादीलाई दोष दिने गरी समाचार लेखे। हिजो प्रहरीले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टले भने उनको अपहरणमा कुनै राजनीतिक दल हैन, भीमसेन पण्डित नामको आपराधिक गिरोहको संलग्नता देखाइएको छ। भारतको कानपुरमा साढे तीन किलो सुन फिरौति दिएर भक्तमानलाई रिहा गरिएको त्यसमा उल्लेख छ। अपहरित भक्तमानलाई शक्तिखोरको माओवादी क्याम्पमा राखिएको आरोप लगाइएको थियो, प्रहरीले पनि बाग्लुङमा छापा मारेको खबर आएको थियो। तर प्रतिवेदनमा अपहरणकारीले उनलाई सुरुमा धादिङ र पछि काठमाडौँ कै सामाखुसी र चण्डोलमा राखेको देखाएको छ। यदि प्रहरी रिपोर्टले भने जस्तै हो भने कुनै व्यक्ति वा समूहको स्वार्थमा सञ्चार माध्यम नराम्रोसित प्रयोग भएको देखिन्छ। पुराना कुरा नेपालीले बिर्सँदै जान्छन् भन्ने हो भने छुट्टै कुरा, नत्र सञ्चार माध्यमले यस्तो गम्भीर गल्ती गर्न हुन्नथ्यो। पत्रिकाको मात्र के कुरा प्रधानमन्त्री, मन्त्री र नेताहरुले समेत यस्तै आरोप लगाउँदै हिँडेको खबर हामीले पढेका थियौँ। अब उनीहरुले के भन्लान् ? वा भन्न केही जरुरी पनि ठान्लान् ?

प्रहरी रिपोर्टमा के छ ? हिजो पत्रकार सम्मेलनमा प्रहरीले बाँडेको प्रेस विज्ञप्तिका प्रमुख अंश हेर्नुस्, जसमा कसरी, कसले र किन डा. भक्तमानको अपहरण गर्‍यो, खुलाइएको छ।

आधारभूत तथ्य
अपहरित: डा. भक्तमान श्रेष्ठ (क्यान्सर विशेषज्ञ)
उमेर: ४८ वर्ष
कार्यकारी निर्देशक,
वी.पि. मेमोरियल क्यान्सर अस्पताल
भरतपुर, चितवन।

अपहरण मिति, समय र स्थान:
२०६७ जेठ ४ गते, राती २२१५ बजे, हाकिम चोक (हिमचुली
बिकास बैंक नजिक) भरतपुर, चितवन

अपहरण मुक्त मिति, समय र स्थान:
२०६७ जेठ २२ गते विहान अन्दाजी २३० बजे धादिङ, माझिमटार

अनुसन्धानबाट स्थापित तथ्यहरु
अपहरण तयारी र सुचना संकलनको चरण:
कालिका हेल्थ इन्स्टिच्युट चितवनबाट सीएमए तालिम लिएको र सोही समयमा
क्यान्सर अस्पतालमा व्यक्तिगत सवारी चालकको रुपमा २०६६ कात्तिक सम्म कार्यरत्त
रहेको बद्री ढुंगानाद्धारा भीमसेन पण्डितको सल्लाहमा सबै भन्दा बढी कमाई हुने
डाक्टरको चयन गर्ने काम शुरुवात भएको।

करिब ५ महिना देखि सुचना संकलन र टार्गेट सेलेक्सनको लागि भीमसेन
पण्डित, रोहित पालिवाल चितवन आउने जाने गरेको र बद्री ढुंगानासँग
सल्लाह सूचना लिने गरेको।

बद्री ढुंगानाको सुचनाको आधारमा वी.पी. अस्पताल कै डा. विजय कुमार ठाकुर र
डा. बाल कृष्ण थापा पनि संभावित लक्ष्यको रुपमा पहिचान गरेकोमा तत्काल
ठूलो रकम जम्मा गर्न सक्ने हैसियत भएको अनुमानको आधारमा डाक्टर भक्तमान
लाई लक्षित गरेको।

अपहरण तयारीको चरण:
०६७ जेठ ४ गते अपरान्ह भीमसेन पण्डित, नविन क्षेत्री र लुप्पा
तामाङ्ग काठमाडौंबाट र बद्री ढुगांना नुवाकोटबाट गई नारायणघाटमा
भेट भएको।

रोहित पालिवाल भारतबाट भैरहवा हुदै भारतीय नम्बर प्लेटको
सिल्भर कलरको मारुती अल्टो गाडीमा सोही ठाउँमा आएको।

अपहरण कारबाहीको चरण:
साँझ १८३० बजे देखि नारायणी अस्पतालमा बसेर डा. भक्तमानको
आगमनको निगरानी शुरु गरेको।

रातको २२१५ बजे डा. चितवन अस्पतालबाट निस्किएपछि बद्रीले चलाएको
मोटरसाइकलबाट भीमसेन पण्डितलाई समेत राखी पिछा गरेको।

हिमचुली बिकास वैक नजिकको मोडमा डा. क्वाटर तर्फ जाने बाटोमा
रोहित पलिवालले चलाएको भारतीय नम्बर प्लेटको गाडी डा.को गाडीमा
ठोक्याउन ल्याएको र गाडी ठोक्याएको निहुँमा विवाद झिकिएको अवस्थामा
मोटरसाइकलबाट भीमसेन पण्डित र पलिवालले चलाएको गाडीबाट लुप्पा र
नविन डा. को गाडीमा सिफ्ट भई भीमसेन समेतले डा. लाई गाडीको
ड्राइभिङ्ग सिटबाट तानी पछाडिको सिटमा राखेको।

स्थानान्तरण र बन्धक अवस्थाको चरण:
डा. को आँखामा पट्टी र हात पनि बाँधिदिएको र लुप्पाले पेस्तोल डा. को पेटमा सटाई
डा. को गाडी भीमसेनले चलाएको।

रोहित पलिवालले आफ्नै गाडी चलाएको र दुवै गाडी भित्री बाटोहरुमा केही समय
घुमाए पश्चात मुग्लिङ्गतर्फ लगिएको।

गजुरीबाट २ कि.मि. अगाडी गाडी परिवर्तन गरी रोहित पलिवालले लिई आएको
गाडीमा बैरेनीसम्म लगी त्यहाँबाट बद्री ढुंगानाले लिई आएको मो.सा. मा राखी
भीमसेन पण्डित र लुप्पाले नुवाकोट तर्फ लगेको।

भीमसेन पण्डितले सकेसम्म डा. को गाडी टाढा पुर्‍याएर छोड्नु भने अनुसार बद्रि
ढुंगानाले नविनलाई लिई जाने क्रममा दाह्रे चोकमा डा. को ब्रिफकेश फालेको र सोही
राती ०३३० बजे गाडी पोखरा पुर्‍याई छाडेको तत्तपश्चात विहान ७ बजेको
बस चढी दुवै जना काठमाडौं फिर्ता भएको।

पहिलो दिन धादिङ्ग, बैरेनी, देवीघाट, बट्टार हुदै चारघरे गा.वि.स. मुलाबारी स्थित भिमसेन पण्डितको घरमा राखेको।

जेठ ५ गते राती सो स्थानबाट परिवर्तन गरी पलिवालले लिई आएको गाडीमा बद्री
ढुंगाना समेत भई काठमाडौं सामाखुसी स्थित नारायण श्रेष्ठको घरमा भीमसेन पण्डितले
भाडामा लिएको फ्ल्याटमा राखेको।

सामाखुसीको उक्त फ्ल्याटमा डा. लाई ७ दिन राखी सकेपछि १२ जेठको राती त्यहाँबाट
चण्डोलस्थित राजाराम घिमिरेको घरमा अपहरण गिरोहको सदस्य सुनिल श्रेष्ठ मार्फत
भाडामा लिएको घरमा सारेको। उक्त घरमा डा. लाई अन्तिम दिनसम्म राखी मुक्त गर्ने
दिन सोही स्थानबाट लिएर गएको।

२०६७ जेठ ५ गते राती रोहित पलिवाल काठमाडौंबाट भैरहवा हुदै भारत
तर्फ गएको र निज भारत पुगे पश्चात पीडित परिवारलाई इन्टरनेट तथा
भीओआईपी प्रविधिको उपयोग गरी फिरौती रकमको लागि बार्गेनिङ्ग
गर्ने गरेको।

अपहरण मुक्तिको चरण:
अपहरितबाट माग भएको फिरौती साढे तीन किलो सुन भारतको कानपुर
आसपास इलाकामा जेठ १९ गतेको रात नम्बर नचिनिने गाडीमा आएको
अपहरणकारीले आकस्मिक रुपमा लिई गएको।

२१ जेठको साँझ १९३० बजे चण्डोलस्थित बन्धक राखेको घरबाट
भीमसेन पण्डित, सुनिल श्रेष्ठ र बद्री ढुंगाना सहितले २ वटा मोटर
साइकलमा डा. लाई लिई नेपालटारको बाटो हुदैं तीन पिप्ले निकालेर
कंकनी, तादी, नुवाकोट हुदै देवीघाटबाट गल्छीको बाटो लिई गएको र २२
गते विहान ०२३० बजे धादिङ्ग माझिमटारमा आँखामा पट्टी बाँधेको
अवस्थामा छोडिदिएको।



भीमसेन पण्डित र रोहित पलिवालको अपराधिक पृष्ठभूमि
अपहरण तथा शरीर बन्धक:
२०६४।०९।०२ मा विनोद कुमारको ज्यान मार्न खोजेको।
२०६४।०९।२२ मा ओमकार भचन को अपहरण।
ज्यान मार्न खोजेको:
२०६४।०५।१६ मा सचिन गुप्तालाई अपहरण गर्ने प्रयास गर्दा गोली हानेको।

हातहतियार तथा खरखजना मुद्दा:
विभिन्न अपहरण घटनामा समेत प्रयोग गर्ने गरिएको ९ एम एम पेस्तोल र गोली २६ राउण्ड २०६४।०९।२९ गते
बरामद भएको।

चोरीको गाडी एवं मो.सा.
४ वटा गाडी एवं मो.सा. समेत बरामद गरी मुद्धामा पठाएको।

कानुनी नतिजा:
९ महिना पुर्पक्षमा कारागार बसी अदालतले धरौटी राखी तारेखमा छोडेको।

के सजायँ हुन्छ उनीहरुलाई ?
अपहरण सम्बन्धी अपराधको कानुनी प्रावधान
अपहरण तथा मानव शरीर बन्धक ऐन २०६४ बमोजिम संलग्न व्यक्तिहरुलाई न्यूनतम ७ वर्ष देखि अधित्तम १५ वर्ष सम्म कैद र नाबालक तथा महिलाविरुद्ध को अपराधमा २ वर्ष थप सजाय हुने प्रावधान रहेको।
मुद्रा निर्मलीकरण ऐन अन्तर्गत आपराधिक कार्यबाट आर्जित धनविरुद्धको कानुनी कारबाही।

क-कसले गरेका थिए अनुसन्धान?
अनुसन्धानमा संलग्न अधिकृतहरुको नामावली
प्र.ब.उ. देबेन्द्र सुबेदी
प्र.ब.उ. शिब लामिछाने
प्र.नि. कृष्ण कोइराला
प्र.ना.नि. दिपेन्द्र अधिकार

अक्टोपसले भन्योः स्पेनले विश्वकप जित्छ, जर्मनी तेस्रो हुन्छ


फुटबल र खेलाडीहरुलाई नै छायामा पारेर संसार भर चर्चामा रहेको अक्टोपसले भोलि हुने तेस्रो स्थानको खेलमा जर्मनी विजयी हुने भविष्यवाणी गरेको छ। तेस्रो स्थानको लागि भोलि शनिबार नेपाली समय अनुसार मध्यरातमा उरुग्वे र जर्मनीबीच खेल हुँदैछ। पाउल नामको यो अक्टोपसले गरेको भविष्यवाणीको प्रत्यक्ष प्रसारण युरोपका विभिन्न टेलिभिजन स्टेसनहरुले गरेका थिए। त्यसैगरी पहिलो पटक उसले जर्मनी बाहेकको टिमको खेलको पनि भविष्यवाणी गरेको छ। अक्टोपसले फाइनलमा स्पेनले नेदरल्यान्डसलाई हराउने भविष्यवाणी गरेको छ।

जर्मनीबाहेकको टिमको भविष्यवाणी अहिलेसम्म उसले गरेको समाचार आएको थिएन। तर यस पटक अप्रत्याशित रुपमा अक्टोपसको चर्चा संसार भर फैलिएपछि थकिन नभए र भोक नहराए फाइनलको पनि भविष्यवाणी गर्न लगाउने उसका मालिकहरुले बताएका थिए।

aktopasale त आफ्नो काम गर्‍यो, अब काम हाम्रो हो त्यसलाई विश्वास गर्ने कि नगर्ने। यो अक्टोपसले सन् २००८ को युरो कपमा पनि ठ्याक्क ठ्याक्क मिल्ने भविष्यवाणी गरेको रहेछ। तर अहिले जस्तो ठूलो समाचार बनेको थिएन। त्यतिबेला उसले समूह चरणमा जर्मनीले पोल्यान्ड र अस्ट्रियालाई हराउने तर क्रोएसियासँग हार्ने भविष्यवाणी गरेको थियो, जुन ठ्याक्कै मिलेको थियो। क्वार्टरफाइनलमा पोर्चुगल अनि सेमी फाइनलमा टर्कीलाई जर्मनीले हराउने भविष्यवाणी पनि मिलेको रहेछ त्यतिबेला। तर फाइनलमा जर्मनीले स्पेनलाई हराउँछ भन्ने भविष्यवाणी भने उल्टो भएको रहेछ।

यस पटक पनि समूह चरणका तीन वटै खेलको सही भविष्यवाणी यसले गरेको थियो, जसमा सर्बियासँगको हार पनि सामेल छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा अक्टोपसको चर्चा भने इंग्ल्यान्डसितको विजयको भविष्यवाणी गरेपछि हुन थालेको थियो। अर्जेन्टिना जर्मनीसँग पराजित हुन्छ भन्ने भविष्यवाणी मिलेपछि उसको चर्चा झन् बढ्यो। सेमी फाइनलमा स्पेनसँग जर्मनी हार्ने भविष्यवाणी त झन् चर्चामा रह्यो र भविष्यवाणी सही साबित भएपछि त अझै उसको चर्चा बढ्यो। यही चर्चाबाट हौसिएर होला, उसका मालिकहरुले जर्मनीले नखेले पनि फाइनल खेलको भविष्यवाणी गराएका।

आज सुरुमा अक्टोपसले तेस्रो स्थानको खेलका लागि भविष्यवाणी गरेको थियो। भविष्यवाणी गराउनका लागि अक्टोपस बसेको ठाउँमा पानीमुनि दुई वटा ट्याङ्की पठाइन्छ। दुवै ट्याङ्कीमा अक्टोपसका लागि केही खानेकुरा हुन्छ। हरेक ट्याङ्कीमा छुट्टाछुट्ट‍ै देशको झण्डा हुन्छ। जुन देशको झण्डा भएको ट्याङ्कीमा गएर अक्टोपसले खानेकुरा खान्छ, त्यही देश विजयी हुन्छ भनिन्छ।

आज पनि उरुग्वे र जर्मनीको झण्डा भएको ट्याङ्की राखिएको थियो। अक्टोपस सुरुमा उरुग्वेको झण्डा भएको ट्याङ्कीमाथि केही बेर बसेको थियो। तर पछि उसले जर्मनीको झण्डा भएको ट्याङ्कीको खानेकुरा रोज्यो। त्यसैगरी स्पेन र नेदरल्यान्डसको झण्डा भएको ट्याङ्कीमा उसले स्पेनलाई रोज्यो।

भिडियो हेर्नुस् कसरी उसले जर्मनी विजयी हुने भविष्यवाणी गरेको थियो-

यो फाइनलको भविष्यवाणी-

ल है मैले समर्थन गरेको टिम नेदरल्यान्डसको विपक्षमा पो अक्टोपसले भविष्यवाणी गर्‍यो, तर पनि पार्टी फेरिँदैन है। म नेदरल्यान्डस् कै पक्षमा। स्पेनले नै जिते पनि एउटा नयाँ टिमले विश्वकप घर लैजान पाओस् भन्ने इच्छा पूरा भइहाल्ने भो क्यारे।

बरु हाँसो चाहिँ मलाई पश्चिमी मिडिया देखेर लागिरहेको छ। यिनीहरु के विधि अन्धविश्वासी भा’का! अक्टोपसमात्र हैन अब त पट्टुको भविष्यवाणीलाई पनि समाचार बनाउन थालेछन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरु रोयटर्स र एपीले सिंगापुरको एउटा पट्टु (सुगा)ले गरेको भविष्यवाणीलाई समाचार बनाउँदै गरेको देखेर तीन छक्क परेँ। हाम्रो टुँडिखेल वरपर नि यस्ता भविष्यवाणी गर्ने पट्टुहरु थुप्रै पाइन्छन्।

रमाइलो कुरा त के भने नि, मणि नामको यो सुगाले तेस्रो स्थानमा जर्मनीले नै जित्छ भने पनि फाइनल चाहिँ नेदरल्यान्डसले जित्छ भनेर भनेको रहेछ। अक्टोपसले स्पेन रोजेको छ सुगाले भने नेदरल्यान्ड। दुई वटामा एउटा भने पक्कै सही हुन्छ। कुन सही हुन्छ, पश्चिमी मिडिया फेरि त्यतै पट्टी लाग्ने होला।

Friday, July 2, 2010

सर्वोच्चको ढिलाइले भ्रष्टाचार बढ्यो


Jalpa Bikram Khaling
काठमाडौ, १७ असार
सर्वोच्च अदालतले भ्रष्टाचारका मुद्दालाई प्राथमिकता नदिँदा उच्चपदस्थ सरकारी अधिकारीमा अख्तियारी दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लामो अनुसन्धान र विशेष अदालतको फैसला हुने समयसम्म नै धेरै समय खर्च भइसक्छ । त्यसमाथि सर्वोच्चले पनि यस्ता मुद्दालाई प्राथमिकता नदिँदा भ्रष्टाचार मौलाउँदै गएको विज्ञहरू बताउँछन् ।
राज्यकोषको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको आरोपमा आयोगले पूर्वमन्त्री तथा प्रशासकविरुद्ध भ्रष्टाचार मुद्दा चलाए पनि सर्वोच्चले वर्षौं लगाउँदा भ्रष्टाचारले प्रोत्साहन पाउँदै गएको सम्बद्ध अधिकारीहरूको भनाइ छ ।
प्राथमिकतामा नपरेका भ्रष्टाचारका चार वर्ष नाघेका मुद्दाको संख्या मात्रै १ सय ६ छ । त्यसयता पनि ३ सय ३९ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाहरू पनि सर्वोच्चमा निर्णयको पखाइमा छन् । सर्वोच्चमा कुल १२ हजार मुद्दा छन् । सबै मुद्दालाई विषयगत रूपमा वर्गीकरण नगरिए पनि भ्रष्टाचारका मुद्दाको भने छुट्टै तथ्यांक राख्ने गरिएको छ ।
अदालतको यो ढिलाइले अख्तियारको प्रभावकारितामा असर परेको अख्तियारका पूर्व उच्चआयुक्त सूर्यनाथ उपाध्याय बताउँछन् । सर्वोच्चले प्राथमिकता क्रमलाई परिवर्तन गरेर पनि भ्रष्टाचारका मुद्दा फैसला छिटो गर्नुपर्ने उनको सुझाव छ । उनी भ्रष्टाचारका मुद्दालाई सार्वजनिक महत्वका दृष्टिले हेरिनुपर्नेमा जोड दिन्छन् ।
प्रो–पब्लिकका परियोजना निर्देशक केदार खड्का सर्वोच्चले भ्रष्टाचारका मुद्दामा संवेदनशीलता नदेखाएको टिप्पणी गर्छन् । “यसले सुशासनलाई असर पारेको छ र अनियमिततालाई बढावा दिएको छ,” उनले भने ।
देशको भ्रष्टाचारलाई नियन्त्रण गर्न खडा गरिएको अख्तियारजस्तो संवैधानिक निकायबाट विधि पु¥याएर जाँचबुझ गरिएर पठाएका दोषीहरूलाई ससाना कारण देखाई भ्रष्टाचार मुद्दाका फैसलामा भएको ढिलाइलाई सामान्य मान्न नहुने उनी बताउँछन् ।
सर्वोच्च अदालतमा हाल विचाराधीन रहेका भ्रष्टाचार मुद्दामध्ये ४ प्रतिवादीको मृत्यु भइसकेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पूर्वअध्यक्ष तथा पूर्वअर्थमन्त्री रवीन्द्रनाथ शर्माविरुद्ध अख्तियारले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा दायर गरेको मुद्दामा शर्माकै पक्षमा फैसला भएपछि अख्तियारले फैसला पुनरावलोकनका लागि सर्वोच्चमा मुद्दा दायर गरेको थियो । अख्तियारले ०६४ कात्तिक २२ गते दायर गरेको पुनरावेदनमा हालसम्म एकपल्ट पनि बहस भएको छैन । यो मुद्दामा अदालतले दुवै पक्षलाई झिकाउने सामान्य प्रक्रियासमेत पूरा गरेको छैन । शर्माको हाल निधन भइसकेको छ ।
स्व. शर्माविरुद्धको मुद्दा धेरै पटक पेसी चढे पनि हरेक दिन पालो नआएकाले प्रक्रिया अघि नबढेको अदालत स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्लेकी श्रीमती शान्तादेवी वाग्लेको मृत्यु भएको तीना वर्ष बितिसके पनि उनीविरुद्ध लागेको भ्रष्टाचारको मुद्दा सर्वोच्चबाट अझै फैसला भएको छैन ।
विशेष अदालतबाट भ्रष्टाचार कसुर ठहराएपछि वाग्ले परिवारले सर्वोच्चमा २०६५ मा फैसला पुनरावलोकनका लागि पुनरावेदन गरेको थियो । यस मुद्दामा स्रोत नखुलेको सम्पत्ति राखेको आरोप लगाइएको छ ।
विशेष अदालतले भ्रष्टाचार ठह¥याएको केदारनाथ ढुंगानाविरुद्धको भ्रष्टाचारको मुद्दा २०६३ सालमा उनीहरूबाट सर्वोच्चमा पुनरावेदन परे पनि फैसला नहुँदै उनको मृत्यु भइसकेको छ ।
पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलकी श्रीमतीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ, तर उनको मृत्यु भइसकेको छ । उनको पनि मुद्दाको किनारा लाग्ने कुनै संकेत छैन । यी मृत व्यक्तिहरूको मुद्दामा मृत्युको औपचारिक जानकारी नआउँदासम्म कायमै रहने बताउँदै सर्वोच्चका सह–रजिस्टार श्रीकान्त पौडेल भन्छन्, “मृतकका हकमा कैद तथा जरिवाना माफ हुन्छ ।”
सह–रजिस्टार पौडेलका अनुसार सर्वोच्चमा भ्रष्टाचारका मुद्दालाई व्यवस्थित गर्न २०६४ साल कात्तिकदेखि विशेष अभियान शाखा स्थापना गरिएको छ । अहिले सर्वोच्चमा आइतबार तथा मंगलबार भ्रष्टाचारका सात–सात मुद्दालाई पेसी चढाइन्छ । सर्वोच्चको भ्रष्टाचारको मुद्दा फाँटका एक अधिकारी भन्छन्, “सर्वोच्चका समग्र मुद्दा व्यवस्थामा समस्या रहेको छ । यसका साथै भ्रष्टाचारका मुद्दामा निवेदन तथा रिटलाई बढी प्राथमिकता दिँदा पुनरावेदन परेका मुद्दाहरू कम प्राथमिकतामा पर्ने गरेका छन् ।”
सबै न्यायाधीशको उपस्थित भएको दिन सर्वोच्चमा १२ वटा इजलास लाग्ने गर्छ । एक इजलासमा ५ वटा मुद्दाभन्दा बढीमा बहस गर्न नभ्याइने भए पनि यसतर्फ कुनै व्यवस्थापकीय ध्यान नजानाले फैसला प्रक्रियामा ढिलाइ भएको अधिकारीहरू बताउँछन् ।
पेसीको सूचीमा ७ नम्बरभन्दा पछिको क्रम संख्या रहँदा पनि मुद्दाको पालो नै नपर्ने हुन्छ । नियतवश पछिल्लो क्रमांकमा मुद्दालाई राखिने काम हुने गरेको अदालत स्रोतले बताएको छ ।
सर्वोच्च अदालत स्रोतका अनुसार भ्रष्टाचारका मुद्दामा देखिएका विद्यमान समस्याहरूमा कानुन व्यवसायीहरूले बेन्च तथा न्यायाधीश रोज्ने प्रवृत्तिले पनि भ्रष्टाचारका मुद्दा फैसलामा ढिलाइ हुने गरेको हो ।
कडा स्वभावका न्यायाधीश परेको बेन्चमा पालो परेमा पेसी हटाउँदै आउने गरिएको स्रोतको भनाइ छ । सामान्यतया यसरी पेसी हटाउन २ पटक मात्र पाइने भए पनि भ्रष्टाचारका मुद्दामा धेरै पटक पेसी हट्ने गरेका उदाहरण भएको स्रोतको दाबी छ ।
प्रमाण नजुटेको, बिरामी परेको जस्ता बहानाले बल्लतल्ल चढेको पेसी पनि भ्रष्टाचारका मुद्दामा व्यर्थ भइरहेको अधिकारीहरू बताउँछन् ।
सर्वोच्च स्रोतका अनुसार सरकारी पक्षबाट रहेका कानुन व्यवसायीहरूले पनि चार वर्ष नाघेको मुद्दामा समेत अख्तियारले फाइल उपलब्ध नगराएको कारण देखाएर पन्छिने गरेका छन् । सरकारी पक्षबाट एउटा मुद्दामा एक मात्र कानुन–व्यवसायी रहने र वैकल्पिक व्यवस्था नहुनाले समेत मुद्दा फैसलाको समय लम्बिने गरेको छ ।
हाल सर्वोच्चमा रहेका भ्रष्टाचारका मुद्दामा सरकारी सम्पत्ति हिनामिना तथा नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा केही फैसला हुने गरे पनि स्रोत नखुलेका सम्पत्तिबारेमा परेका मुद्दा भने कुनै पनि फैसला हुन सकेका छैनन् । यस्ता मुद्दाको संख्या ५ दर्जनको हाराहारीमा रहेको स्रोतले बताएको छ ।
सर्वोच्चमा विषयगत मुद्दाको इजलास स्थापना गर्ने भनिए पनि हालसम्म यस्तो व्यवस्था हुन सकेको छैन । मुलुकी ऐन अदालती बन्दोबस्तमा उल्लेख भएअनुरूपको प्राथमिकताका आधारमा काम गर्दा पनि भ्रष्टाचारका म्ुद्दा पछाडि रहेको सर्वोच्चका प्रवक्ता हेमन्त रावल बताउँछन् । उनले अकूत सम्पत्तिका मुद्दामा प्रमाण जुट्न समय लाग्नाले पनि फैसलामा ढिलाइ भएको बताए ।
मुलुकी ऐनमा गरिएको व्यवस्थाअनुसार सार्वजनिक महत्व, महिला, वृद्ध, अपांग संलग्न रहेका मुद्दाहरू प्राथमिकतामा पर्छन् । सहप्रवक्ता रावल भन्छन्, “यी कारणहरू विद्यमान रहेको हुँदा भ्रष्टाचारका मुद्दामा न्यायपालिकाले असमानता देखाउने नियतको रूपमा मान्नु हुँदैन ।” विद्यमान मुलुकी ऐन नै संशोधन हुनुपर्ने उनको तर्क छ ।
भ्रष्टाचारविरुद्धको अभियानमा सर्वोच्चले आवश्यक सहयोग नगरेको भनी सुशासनका लागि काम गर्दै आएका संघ–सस्थाहरूले आलोचना गर्दै आएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलको अधिक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपाल १ सय ४३ औं स्थानमा परेकोे छ ।
प्रशासकीय व्यक्तित्वहरूको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलामा प्रशासकीय अदालतले पनि सरकारलाई संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धिको पक्ष राष्ट्र बन्ने सुझाव दिएको छ । यसको पक्ष राष्ट्र बन्दा निजी क्षेत्रबाट हुने भ्रष्टाचारलाई पनि समेट्न सकिन्छ । यसले अख्तियारको कार्य क्षेत्र बढ्ने र निजी क्षेत्रबाट उत्प्रेरित भ्रष्टाचार नियन्त्रणको बाटो खुल्ने विज्ञहरूको भनाइ छ ।

अब के हुन्छ?


प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि नयाँ सरकारका लागि संविधानमा दुई विकल्प छन्-

पहिलो- सहमतिको सरकार
दोस्रो-बहुमतको सरकार

अन्तरिम संविधानमा राजनैतिक सहमतिको सरकार भन्नुको अर्थ हो सबै दलले साझा रुपमा यही हो हाम्रो प्रधानमन्त्री भनेर भन्ने। यस्तो सरकारको प्रतिपक्षी हुन्न। सबै दलको समर्थन त्यो प्रधानमन्त्रीलाई र त्यो सरकारलाई हुन्छ। राष्ट्रपतिले यसका लागि एक हप्ता अर्थात् २३ गतेसम्मको समय दिएका छन्। त्यतिन्जेल सबै दलको समर्थन लिएर राष्ट्रपतिकहाँ जानुपर्छ। अनि राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गर्छन्। प्रधानमन्त्रीले सहमतिमा नै मन्त्रीहरु छान्छन् अनि पूर्ण सरकार गठन गर्छन्। यदि यस्तो हुन सकेन भने संविधान अनुसार दोस्रो विकल्पमा जानु पर्ने हुन्छ। अर्थात् संसदमा निर्वाचन हुन्छ। जसले बहुमत ल्याउँछ, ऊ प्रधानमन्त्री बन्छ। अर्थात् जसको पक्षमा बढी सांसदहरुले भोट दिन्छन्, उही प्रधानमन्त्री हुन्छ।

संसदमा कुनै पनि पार्टीको बहुमत नभएकोले ६०१ सदस्यमध्ये ३०१ संख्या पुर्‍याउन विभिन्न पार्टीका सांसदहरु मिल्नु पर्छ। अनि मात्रै बहुमत जुट्छ। संसदमा सबभन्दा बढी सिट भएको माओवादी हो। दोस्रोमा कांग्रेस, तेस्रोमा एमाले र चौथोमा फोरम छ। २५ दल छन् संविधान सभामा। अरु दलहरुको थोरै संख्यामा सिट छ। ३०१ सिट पुर्‍याउनका लागि यिनै स-साना दलहरुको बार्गेनिङ पावर बढी हुन्छ यस्तै बेलामा। यति मन्त्री चाहिन्छ अनि मात्र समर्थन दिन्छु। यो यो माग पूरा गराउनु पर्छ अनि मात्रै सरकारलाई समर्थन गर्छु भन्न सक्छन् उनीहरु। माओवादी र एमाले मिल्यो भने मात्र बहुमत जुट्छ। माओवादी र अन्य सबै ससाना दल मिले पनि बहुमत जुट्दैन। माओवादी बाहेक अन्य सबै दलहरु मिले भने चाहिँ बहुमत जुट्छ- माधव नेपालको सरकार त्यसरी नै बनेको थियो। यो सरकार बनाउन फुटेको फोरमको समर्थन महत्त्वपूर्ण थियो, त्यही भएर उसले उपप्रधानमन्त्री पाएको थियो। कांग्रेसले बरु सुरुमा उपप्रधानमन्त्री पनि पाएको थिएन।

यस्तो बहुमतको सरकार बन्न अझै केही दिन लाग्छ। २३ गतेसम्म सहमतिको सरकार बन्न दावी लिएर कोही आएन भने राष्ट्रपतिले बहुमतको सरकार बनाउन संसदलाई पत्र लेख्‍छन्। अनि संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनको लागि मिति घोषणा गर्छ। निर्वाचनको परिणामपछि बहुमत पाएका सांसद प्रधानमन्त्री नियुक्त हुन्छन्।

बहुमतको सरकार बन्नु भनेको प्रधानमन्त्रीको कुर्सीमा नयाँ अनुहार मात्रै फेरिने हो। कर्मचारी कुट्दै हिँड्ने मन्त्रीलाई कारबाही गर्न नसक्ने, सरकारलाई समर्थन गर्न नालायकहरुलाई पनि प्रधानमन्त्री बनाउनु पर्ने आदि अनेकौँ बाध्यता त्यो प्रधानमन्त्रीले पनि सहनु पर्ने हुनसक्छ। माधव नेपाल सरकार जस्तो नेपालको इतिहासको दोस्रो सबैभन्दा बढी मन्त्री भएको सरकार बनाउनु पर्ने हुनसक्छ। सहमतीय सरकार बन्यो भने अहिलेलाई धेरै राम्रो हो। यो सामान्य अवस्थाको सरकार पनि हैन, अल्पमत बहुमतको कुर्सीको खेल खेल्न। यो त संविधान नबनुन्जेलका लागि संक्रमण कालको सरकार हो। मुख्य जिम्मेवारी संविधान बनाउनु हो। सँगसँगै शान्ति प्रक्रिया टुंग्याउनु हो। त्यो क्रममा दैनिक प्रशासन चलाउन सजिलो पार्न सरकार बनाउनु परेको हो। तर यहाँ संविधान दोस्रो प्राथमिकतामा र सरकार पहिलो प्राथमिकतामा भइरहेको थियो।

दलहरुले देश र जनताप्रति जिम्मेवार भएर निर्णय गर्ने क्षमता देखाएर उपयोग गर्न सके भने यो एउटा अवसर हो। सकेनन् भने उही अन्यौल र अनिश्चय कायम हुन्छ। देश अगाडि जाँदैन, जहाँको तहीँ रहन्छ, अझ पछाडि फर्कने खतरा हुन्छ।

अबका केही दिनमा दलहरुबीच धेरै वार्ता हुनेछन्। सरकार बनाउन खुला र गोप्य धेरै सम्झौता हुनेछन्। विदेशीहरुले गरेको हस्तक्षेप केही खुला रुपमा देखिने छन्, केही भने गोप्य रुपमा हामीलाई थाहै हुनेछैन।

Thursday, July 1, 2010

सेमी फाइनलका लागि मैदान तयार



विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेशका लागि भिडन्त गर्ने अन्तिम आठ देशहरुको टुंगो लागेको छ। शुक्रबारदेखि हुने क्वार्टरफाइनलका खेलहरुले सेमी फाइनलको भिडन्तका लागि मैदान तयार गर्नेछ।

विश्वकपका अब आठ वटा खेल मात्र बाँकी छन्। ३२ वटा टिम अब घटेर आठ वटामा सीमित भएको छ। आठ वटामा सीमित हुँदासम्म एसियाली देशको पत्ता साफ भइसकेको छ। अब मैदानमा ल्याटिन अमेरिकी र युरोपेली देशहरुको जगजगी छ। एउटै अपवाद अफ्रिकी देश घाना रहेको छ।

खेल तालिका हेर्दा शुक्रबार हुने खेलमा ल्याटिन अमेरिकी देश उरुग्वेले दुई पटक विश्वकप जितिसकेकोले अफ्रिकी देश घाना अगाडि बढे हुन्थ्यो भन्ने हिसाबले समर्थन गरिनेछ। ब्राजिल र नेदरल्यान्ड्सबीचको खेलमा मेरो समर्थन सशक्त खेल प्रदर्शन गरिरहेको नेदरल्यान्डसलाई हुनेछ।

त्यसैगरी शनिबार हुने खेलहरुमा अर्जेन्टिना र जर्मनीबीचको खेलमा जर्मनीलाई मेरो समर्थन रहनेछ। दुवै टिम फाइनल नभए कम्तिमा सेमी फाइनलसम्म भए पनि रहे हुन्थ्यो। तर यो संभव छैन। अर्जेन्टिना एउटा पनि खेल नहारी सशक्त रुपमा अघि बढिरहेको छ। तर युवा टिम जर्मनीले अर्जेन्टिनालाई कडा चुनौति दिने आशा छ। अर्को खेलमा स्पेनले पाराग्वेलाई पराजित गर्ने देखिन्छ। यसरी मेरो समर्थनका टिम जिते भने अन्तिम चारमा घाना र नेदरल्यान्डस अनि जर्मनी र स्पेनबीच भिडन्त हुनेछ।

यो भयो समर्थनको कुरा, तर किन किन विश्वकपको इतिहास हेर्दा भने एकापट्टीबाट ब्राजिल र अर्कोतर्फबाट अर्जेन्टिना नै फाइनलमा पुग्छन् जस्तो लाग्छ। यस पटकको विश्वकप नयाँ तर राम्रो टिमले जितोस् भन्ने मेरो आशा हो। हेरौँ, अब धेरै दिन बाँकी छैन- कसले विश्वकपको उपाधि हात पार्ने हो, छिट्टै थाहा हुनेछ।

विश्वकपबाट दिक्क भएकाहरुले अब केही दिन आराम पाउने भएका छन्। किनभने अन्तिम चारका लागि भिडन्त अब शुक्रबारदेखि मात्रै हुँदैछ।

माधव नेपालले राजीनामा दिए, अब के?


प्रधानमन्त्री माधवकुमार नेपालले आजै राजीनामा देलान् भन्ने कसैले सोचेका थिएनन्। उनी राजीनामा दिने मूडमा छन् भन्ने खालका समाचार त आइसकेको थियो, तर मन्त्रीहरुले अनि सरकार समर्थक नेताहरुले विकल्प तयार नभई राजीनामा नदिने अडान दोहोर्‍याइरहेका थिए। यस्तो लाग्थ्यो मानौँ प्रधानमन्त्री चाहेर पनि राजीनामा दिन सकिरहेका छैनन्। संविधान सभाको म्याद थप गर्न जेठ १४ गते मध्यरातमा भएको तीन बूँदे सहमतिमा राजीनामाको बूँदा पनि थियो। एक महिनापछि बल्ल त्यो कार्यान्वयन भएको छ। राजीनामापछि राजनीतिक गतिरोधको एक अध्याय अन्त्य भएको छ। सहमति र सहकार्यमा अगाडि बढ्ने बाटो खुलेको छ। यो एउटा सकारात्मक पक्ष हो। तर गतिरोधको स्थिति हल भइसकेको भने छैन। राजीनामापछि अब के? बाटो स्पष्ट छैन।

राजीनामापछि अर्को सरकार नबनेसम्म अहिलेको सरकारले कामचलाउको हैसियत राख्‍नेछ। प्रमुख दलहरुको सहमतिमा राष्ट्रिय सरकार बनाएर संविधान निर्माण तथा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनु अहिलेको आवश्यकता हो। यसका लागि अहिले दलहरुबीच जुन अविश्वासको खाडल छ, त्यसलाई पुर्नु पर्छ। माओवादीले जनमत बढी प्राप्त गरेकोले सरकारको नेतृत्वको हक उसैलाई जान्छ। अहिलेलाई उसैलाई सरकारको नेतृत्व गर्न दिएर द्रुत गतिमा संविधान निर्माण र सेना समायोजनका विवाद हल गराउनु ठीक हुन्छ। संविधान बनाउन अब ११ महिनाभन्दा कम समय बाँकी छ। अहिलेसम्म कार्यतालीका समेत बनिसकेको छैन। अस्तिको म्याद थप हेर्दा फेरि समय थप्‍नु ठूलो कुरा रहेन, तर त्यसो गर्दा नैतिकता गुमाउँछन् दलहरुले। नयाँ संविधान घोषणा गरेर त्यस अनुसार नयाँ निर्वाचन नभएसम्म यो संक्रमण काल कायमै रहन्छ। देशलाई लामो समयसम्म संक्रमण कालमा राखिराख्‍नु उचित हुँदैन।

सहमति र सहकार्य अनि अहिले दलहरुबीच कायम रहेको अविश्वास हटाउनका लागि उनको राजीनामा राम्रो सुरुवात हो। तर विशेष गरी भारतीय दबाबलाई बेवास्ता गरी राष्ट्रिय हितलाई सर्वोपरी मानेर एक सार्वभौमसत्ता सम्पन्न देशका रुपमा निर्णय गर्न दलहरु कतिको अगाडि बढ्ने हुन्, त्यसले आगामी बाटो निर्धारण गर्छ। बाहिरबाट हेर्दा जे देखिए पनि वास्तवमा अहिले देशको स्रोतसाधन र शक्तिमा हालिमुहाली जमाएको यथास्थिति चाहने वर्ग र अग्रगामी परिवर्तन चाहने वर्गबीच संघर्ष पनि भइरहेको छ। यो संघर्ष कुन रुपमा अघि बढ्छ, त्यसले पनि आगामी बाटो स्पष्ट पार्छ।

सबै कुरा राम्रो भए यस्तो हुनेछ-
-अब केही दिनमा नै राष्ट्रिय सहमतिको सरकार बन्नेछ।
-बहुमतीय हैन, सहमतीय प्रणाली लागू हुनेछ।
-बाँकी रहेको ११ महिनाभित्र संविधान निर्माणको कार्यतालीका बन्नेछ।
-सहमतिको दस्तावेजका रुपमा नेपालको पहिलो जनताले आफै लेखेको नयाँ संविधान घोषणा हुनेछ।
- नयाँ संविधान अनुसार संसदको निर्वाचन हुनेछ र नयाँ सरकार बन्नेछ।

आशा गरौँ, यस्तै होस्। तर यस्तो पनि हुनसक्छ है। यस्तो चाहिँ नहोस्-
-अब प्रधानमन्त्री को बन्ने, त्यसैमा मारामार। भारतले प्रचण्ड चाहिँ हुन्न है भन्ने, माओवादी चाहिँ प्रचण्ड नै बन्नु पर्छ भन्ने अडान लिइरहने। प्रधानमन्त्री बन्न कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलको मारामार पर्ने, एमालेमा झलनाथ खनाल र केपी ओलीको पर्ने। फोरममा गच्छदार र उपेन्द्र यादवको पर्ने। सरकार ढलेपछि कुन चाहिँ पक्ष बलियो हुन्छ र कुन चाहिँ सरकारमा जाला जस्तो हुन्छ, त्यसैको पक्षमा बहुमत सभासद पुग्ने।
-कुटनीतिक मर्यादाविपरीत भारतीय राजदूत राकेश सुद नेताहरुको घरदैलोमा छिरी यसो गर र उसो गर भनी निर्देशन दिने।
-३०१ सभासद पुर्‍याएर सरकार बनाउन पहिले जस्तो खरिद बिक्री सुरु हुने।
-नयाँ दिल्लीको ‘आशिर्वाद’ लिन उपचार वा अरु के केको बहानामा नेताहरु भारततिर छिर्ने। फर्केर के के न उपलब्धि गर्‍या जस्तो याँमानका फूलमाला लाएर एअरपोर्टमा पत्रकार सम्मेलन गरी भारतले यसो यसो भन्यो भन्ने।
-भारतको इशारामा फेरि कुनै अर्को निर्वाचन हारेका व्यक्तिलाई सभासद बनाई प्रधानमन्त्री पदमा आसीन गराउने।
-को प्रधानमन्त्री बन्ने भन्ने कुरा मिलाउन नै तीन महिना लाग्ने, तीन महिनापछि बनेको सरकारको तीन दिन पनि नबित्दै विरोध सुरु हुने। अनि संविधान निर्माण र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने कार्य फेरि अलपत्र पर्ने।
-अन्ततः देशलाई फेरि युद्धमा धकेल्ने।