१६ माघ, काठमाडौं ।
मधेस आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्ने क्रममा भारतमा उपचार गराउन गएका एक व्यक्तिलाई पनि सहिदको सूचीमा राखिएको रहस्य खुलेको छ । गृहमन्त्रालयले सूची सच्चाए पनि मधेसवादी केही दलले भने जिउँदै रहेका जनकपुरका पवनकुमार साहलाई सहिदकै सूचीमा राखेका छन् ।
मधेसवादी दलहरुको सिफारिसमा मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई गृह मन्त्रालयले २०६७ असारमा सहिद घोषणा गरेको थियो । त्यसमा जनकपुरका पवनकुमार नामसमेत थियो सहिद परिवारले पाउने दस लाख रुपैयाँ पवनको परिवारलाई उपलब्ध गराउन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले निर्णयसमेत गरेको थियो ।
तर, दसलाख रुपैयाँ लिन साह परिवार काठमाडौं आएको थियो । क्षतिपूर्ति लिन पवनसमेत सँगै आएका थिए । पवन जिउँदै भएको थाहा भएपछि उनको नाम हटाएर गृहमन्त्रालयले सूची सच्चाएको छ । त्यसअघि मधेस आन्दोलनका २६ औं सहि दभनेर गृहमन्त्रालयको सूचीमा पवनको नाम पनि उल्लेख थियो ।
हाल जनकपुरमा पसल गर्दै आएका पवन मारिएको भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीले सहिद घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा सिफारिस गरेको थियो । तमलोपाले पवन २१ माघ ०६३ मा जनकपुरमा मारिएको भन्दै सहिद घोषणा गर्न सिफारिस गरेको थियो ।
नयाँपत्रिका दैनिकबाट