Sunday, January 30, 2011

जुद्ध वारुण यन्त्रलाई पानीको अभाव


१६ माघ, ललितपुर । 
ललितपुरको पुल्चोकस्थित जुद्ध वारुण यन्त्रलाई आगो निभाउन पानीको अभाव भएको छ । ललितपुरमा पर्याप्त पानीको स्रोत अभाव भएकोले आगो निभाउने पानी लिन अग्नि नियन्त्रक टोलीलाई बौद्ध, महाङ्काल या भैंसेपाटीसम्म पुग्नुपर्ने बाध्यता छ ।
कतै आगो लागेको खबर पाउनेबित्तिकै आगो नियन्त्रण गर्न हिंड्नुपर्नेमा सबैभन्दा पहिला पानी लिन कता जाने भन्ने चिन्ताले सताउने गरेको टोलीका सदस्य रोहितबहादुर श्रेष्ठले बताउनुभयो ।
‘टाढा पुगेर पानी भरेर आउँदा आगोले कति क्षति पुर्‍याइसकेको हुन्छ, आगो निभाउने क्रममै पानी सकियो भने त झनै बिजोकै हुन्छ,’ श्रेष्ठले भन्नुभयो ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार आगलागी भएको तीनदेखि पाँच मिनेटभित्र आगो नियन्त्रण टोलीले सेवा पुर्‍याइसक्नुपर्छ । तर ललितपुरको जुद्ध वारुण यन्त्रको अग्नी नियन्त्रक टोलीलाई भने आगलागी भएको स्थानमा पुग्ने त कहाँ हो कहाँ पहिले पानीको जोरजाम गर्नतिर लाग्नुपर्ने स्थिति छ । यस समस्यालाई आफूले पनि झेलेको कार्यालयका पूर्वकर्मचारी केवलकुमार चापागाईं बताउनुहुन्छ ।
त्यसो त कार्यालय परिसरमा एउटा इनार छ । इनारको पानी पिउनका लागि प्रयोग गरिन्छ । तर इनारको पानीले पनि पिउन नपुग्ने बाध्यता छ । इनारको पानीले खानै नपुग्ने भएकाले आगो निभाउन भनेर दमकलमा ल्याइएको पानी खानुपर्ने अवस्था रहेको कार्यालयका कर्मचारीहरू बताउँछन् ।
कार्यालयमा हाल चारवटा दमकल रहे पनि तीन वटा बिग्रेर थन्किएका छन् भने दुई हजार चार सय लिटर क्षमताको एउटा दमकलले मात्र काम गर्दछ ।

No comments:

Post a Comment