१३ माघ, काठमाण्डौ ।
बेलायतबाट संचालित वीवीसी बिश्व सेवाले प्रसारण गर्दै आएको नेपाली सेवा आगामी मार्चबाट सर्टवेभका फ्रिक्वेन्सीहरुमा बन्द गर्ने भएको छ । यो निर्णयसंगै वीवीसी नेपाली सेवा नेपालका एफएम स्टेशन र अनलाइनबाट मात्र सुन्न सकिने छ । ‘कतिपय नेपाली संचारमाध्यममा उल्लेख भएझै नेपाली सेवा नै बन्द हुन लागेको हैन- वीवीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले भन्नुभयो- ‘सर्टवेभका फ्रिक्वेन्सीमा मात्र प्रसारण बन्द गर्न लागिएको हो ।’ सर्टवेभमा स्रोता कम भएकाले यो निर्णयबाट कम स्रोतालाई मात्र असर पर्ने मिश्रले जानकारी दिनुभयो । ‘हामीसंग अहिले पनि १ सय ५० भन्दा बढी एफएम एटेशनहरु पार्टनर छन र यो क्रम बढ्दो छ’- मिश्रले भन्नुभयो-’अहिले एफएम रेडियोमार्फत वीवीसी सुनिरहेका स्रोतालाई कुनै असर पर्दैन् ।’
वेलायत सरकारबाट पाउने अनुदान कटौती भएपछि वीवीसीले बिभिन्न भाषा सेवा बन्द गर्नुका साथै थुप्रै भाषाको सर्टवेभ फ्रिक्वेन्सी बन्द गर्ने निर्णय गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । वीवीसीले नेपाली, हिन्दी लगायत धेरै भाषा सेवाका सर्टवेभ फ्रिक्वेन्सी बन्द गर्ने निर्णय गरेको छ । पुरानो प्रबिधि र खर्चिलो पनि भएकाले वीवीसीले सर्टवेभ माध्यमलाई प्राथमिकतामा नराखेको भन्दै मिश्रले आगामी दुई तीन बर्षमा धेरैवटा सेवालाई सर्टवेभबाट हटाउन लागिएको जानकारी दिनुभयो । सन् २०११ को मार्चबाट नेपाली भाषाको सेवा सर्टवेभमा प्रसारण हुनेछैन् ।
पाँच भाषाको सेवा बन्द
यसैवीच वीवीसी बिश्वसेवाले ५ वटा भाषा सेवा बन्द गर्ने भएको छ । यससंगै आगामी ३ बर्षमा बिश्वसेवाका ६ सयभन्दा बढीले रोजगारी पनि गुमाउनेछन् । कटौतीमा पर्ने भाषाहरुमा अल्बिनियाली, म्यासेडोनियाली, सर्बियाली, क्यारेबियनकालागि अंग्रेजी र अफ्रिकाका लागि पोर्चुगाली रहेको वीवीसीले जनाएको छ ।
वेलायतको बिदेश मन्त्रालयले दिंदै आएको अनुदान कटौती गरेका कारण यस्तो निर्णय लिनुपरेको वीवीसीले जनाएको छ ।
No comments:
Post a Comment