Saturday, December 11, 2010
कक्षा ७ को गणितमा मात्रै हजार त्रुटि
गल्तीबारे किताब नै तयार-
दिलीप पौडेल, बाग्लुङ, मङ्सिर २५- एउटा पुस्तकमा कतिसम्म गल्ती कमजोरी होलान् ? एक/दुई ?, आठ /दश ?, बीस/तीस ? होइन। सरकारी विद्यालयमा पढाई हुने 'हाम्रो गणित किताव कक्षा ७' पुस्तकमा करिब १ हजार त्रुटि र कमजोरी फेला परेका छन्। जसलाई समेट्दा एउटा किताब नै तयार भएको छ।
नेपाल सरकार शैक्षिक पाठ्यक्रम विकास केन्द्रले तयार गरेर जनक शिक्षा सामग्री केन्द्र र त्रियुगा अफसेट प्रेसले प्रकाशन गरेरको पुस्तकमा करिब १ हजार त्रुटि फेला परेका हुन्। सो पुस्तक अहिले मुलुकभरका सरकारी विद्यालयमा अध्यापन भइरहेको छ।
ग्राम प्रकाश उच्च मावि लेखफाँट, पर्वतका शिक्षक नारायण मल्लले यस्तो तथ्य सार्वजनिक गरेका हुन्। गत वर्ष कक्षा ६ कै गणितका कमजोरी फेला पारेर सार्वजनिक गरेका मल्लले यो वर्ष कक्षा ७ का भएका कमजोरी सार्वजनिक गरेका छन्।
गत वर्ष मौखिकरुपमा सुझाव दिँदा कार्यान्वयन नभएपछि मल्लले यो वर्ष आफ्नै लगानीमा करिब ३० हजार रुपैयाँ खर्चिएर 'हाम्रो गणित किताव कक्षा ७ का १००० भन्दा बढी त्रुटि / कमजोरीहरु' नामको पुस्तक नै प्रकाशित गरेका छन्। पाठ्यपुस्तकमा नै त्रुटि भएपछि अधिकांश शिक्षकले सोहीअनुरुप पढाउने र बालबालिकाको मस्तिष्कमा समेत नकरात्मक छाप पर्ने मल्लले बताए। 'पुस्तक नै गलत भएपछि विद्यार्थीले पनि गलत सिक्छन्, ' मल्लले भने- कक्षा ७ को गणितमा करिब एक हजारभन्दा बढी त्रुटि फेला परेपछि आफ्नै लगानीमा कमजोरी औल्याउँदै पुस्तक नै निकालेँ।
मल्लले करिब तीन महिनाको मेहनत लगाएर पुस्तकमा भएका कमजोरी पहिचान गरेर त्रुटिबारे पुस्तक नै प्रकाशन गरेको बताए। पुस्तकमा उनले शुद्धाशुद्धिदेखि लिएर गणितमा सूत्रसमेत गलत छापिएको छ। सो गणित पुस्तकमा अङ्क गणित, ज्यामिती, एकिक नियम, बीज गणित, गुणाङ्क तालिका, अङ्ग्रेजीबाट अनुवाद गरिएका शब्द, ग्राफ, रेखाचित्र , प्रतिविम्बलगायतका कमजोरीलाई लिपिबद्ध गरेरका छन्। उनले त्रुटि जानकारी गराउन प्रकाशन गरेको पुस्तकमा गणित पुस्तकको कुन पेज, कति अध्याय, कुन चित्र, पुस्तकमा लेखिएको के र हुनुपर्ने के सबैबारे स्पष्टसँग उल्लेख गरेका छन्।
शिक्षकले जानकारी गराएपछि पुस्तक हेर्दा कक्षा ७ को गणित पुस्तकमा धेरै कमजोरी फेला परेको जिल्ला शिक्षा कार्यालय पर्वतले पनि जनाएको छ। 'नारायण सरले कमजोरीबारे पुस्तक नै प्रकाशित गरेपछि अचम्मित भएका छौँ, ' जिल्ला शिक्षा अधिकारी नारायण भट्टचनले भने- पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पुस्तकमा सयौँ कमजोरी फेला परे।' जिशिअ भट्टले कमजोरी बारेमा जानकारी गराएर असल शिक्षकको कर्तव्य पूरा गरेको पनि बताए। 'सम्बन्धित विषय शिक्षकले अध्यापन गराउँदा थाहा हुने कुरा हो, ' भट्टले भने- त्रुटिबारे शिक्षकबाट जानकारी पायौँ। यी कमजोरी सच्याउन पाठ्यक्रम विकास केन्द्रमा लेखेर पठाउछौँ।
पाठ्यक्रम विकास केन्द्रले विज्ञको सहयोग लिएर पाठ्यपुस्तक तयार गरेर प्रकाशित गर्ने गरेको छ। लाखौँ रुपैयाँ खर्चेर प्रकाशित गर्ने पुस्तकमा भएका कमजोरीमा पाठ्यक्रम विकास केन्द्र जवाफदेही हुनुपर्ने शिक्षाविद्को भनाई छ। गलत पुस्तक छापेर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने शिक्षाविद् डा.विद्यानाथ कोइरालाले बताए। 'हामीले कक्षा ११ को नेपालीमा पनि धेरै कमजोरी फेला पारेका थियौँ, ' कोइरालाले नागरिकसँग भने- हरेक कक्षामा यस्ता कमजोरी आउनु दुःखद् हो। 'पाठ्यक्रम विकास केन्द्रसँगै लेखक र भाषा सम्पादक पनि जिम्मेवार बन्नुपर्छ'- उनको भनाइ छ।
पुस्तकमा भएका कमजोरीलाई छानविन गरेर तत्काल सच्याउने पाठ्यक्रम विकास केन्दका कार्यकारी निर्देशक चित्र देवकोटाले बताए। 'पुस्तकमा धेरै कमजोरी छन् भन्ने सुनेको छु, ' देवकोटाले भने- विस्तृतरुपमा भएका कमजोरी पहिचान गरेर सच्याउन लगाउँछु।
कमजोरी पत्ता लगाएर सार्वजनिक गर्ने शिक्षक ग्राम प्रकाश उच्च मावि लेखफाँट, पर्वतको निमावि तहका गणित शिक्षक हुन्। २०५२ सालदेखि सेवा प्रवेश गरेको उनले बताए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment