Thursday, December 9, 2010

सरकारविहीन देशका अनागरिकको व्यथा

By Landscope Pill, on December 10th, 2010

प्रतिसिलिन्डर ७५ रुपैयाँ भाउ बढ्यो खाना पकाउने ग्यासमा। प्रति लिटर रु. ३ का दरले मट्टितेल, डिजेल र पेट्रोलमा भाउ बढ्यो। साप्ताहिक ३९ घण्टे लोडसेडिङ त आम विद्युत उपभोक्ताको कष्टकर दैनिक बनिरहेकै छ। खोलानालामा पानीको वहाव घट्दै जाँदा लोडसेडिङको भार बढ्ने कुरामा लगभग सबै मानसिक रुपमा तयार नै छौं।

नेपाली जनताले सरकारविहीन करिव आधा वर्षको दर्वियानमा पाएको सरकारी उपहार अर्थात कहरको एउटा नमुना मात्रै हो – पेट्रोलियम पदार्थको मुल्यवृद्धि। थाहा छैन हामी नेपाली अति विद्धान छौं वा बुद्धु। हामी कोही पनि मुल्यवृद्धिको विरोधमा संगठित प्रतिरोधमा गएनौं। कलेजका विद्यार्थीले पुलिसलाई ढुंगा हानेको, कमल थापाहरुले मुर्दावाद भनेको, उपभोक्ता मंच र यूवा कांग्रेसी नेता नविन्द्रराज जोशीहरुले आयल निगमलाई ज्ञापन पत्र बुझाएको समाचार प्रवाह गरेर हामी संचारमाध्यमहरुका प्रतिनिधिले चौथो अंगको धर्म पुरा गरेको आत्मारती लिइरहेका छौं।


हुन त काठमाण्डु वा मुख्य शहरमा आजकल सैनिक परेड छैन। सैनिकले बन्दुकका कुन्दाले कसैलाई पिटेको छैन, बुट बजाजेर जनमानसलाई तर्साएको छैन। एका दुई जुवाडे, बलत्कारी, चोर आदी पक्रेर प्रहरीले शान्ति सुरक्षाको स्थिति सुदृढ पारेको दाबी गरेकै छ। तथापि आम जनता यतिबेला स्वाधिन देशका अनागरिक हुनुको वास्तविक पात्र बनी रहेका छन्। सरकार कामचलाउ भएकै पाँच महिना हुन लाग्दा आम नागरिकका खाना, नाना, छाना सुरक्षा, स्वास्थ्य शिक्षा आदीका अधिकारको रक्षा कस्ले गर्ने?

देश गम्भीर संक्रमणबाट गुजि्ररहेको बेला पूर्वराजाको शाही ठांटबाटमा राष्ट्रपति डा. रामवरण यादव महोदय, सुदूर पश्चिम क्षेत्रको शयेर गरेर फर्किए। राजीनामा स्वीकृत भइसकेको प्रधानमन्त्री माधवकुमार नेपाल विदेश शयेरमै छन्। ठूला दलका वडका नेताहरुको विदेश यात्रा सूचि दिनहुँ बढ्दो छ।

प्रमुख विपक्षी एकीकृत माओवादीको मारमुङग्रीबाट भागेर अध्यादेशमार्फत काम चलाउ बजेट ल्याएको सरकारले त्यही अध्यादेश पारित गराउने संसद बैठक डाक्ने सार्मथ्या छैन।

सभासद हल्लिएर हिउँद काट्दै छन्। राजनीतिक दलहरु आ–आफ्नो डम्फु बजाउँदैमा मस्त छन्। देशको क्यालेण्डर बिग्रेको छ, सरकारको आयु सिद्धिएको छ। न्यायलयले दुर्जकुमार राईहरुको सम्मान सदर गरेको छ। तर जनताका लागि खै त के कहाँ छ? सबै नाजावाफ छन्। यति हुँदा हुँदै पनि जनताको एउटा झुण्ड छिटो संविधान लेख भनेर थाक्दैन न कि दाल, चामल, नुन, तेलका भाउले ढाड सेकिदा हातमा दही जमाएर बस्छ। त्यसैले अब प्रश्न सबैले आफैतर्फ सोध्ने कि – के हामीलाई सरकारविहीन देशका अनागरिक हुन किन मञ्जुर भइरहेका छौं ?

No comments:

Post a Comment