Thursday, December 9, 2010
विकिलिक्सको पक्षमा आक्रमण गर्ने नेपाली पनि
विकिलिक्सको पक्ष र विपक्षमा भइरहेको साइबर युद्धमा नेपालीहरुले पनि भाग लिइरहेको खुलासा भएको छ। साइबर स्वतन्त्रता र इन्टरनेटमा सेन्सरसिपको विरोध गर्ने एनोनाइमस समूहले नेतृत्व गरेको ‘अपरेसन पेब्याक’ले अहिले विश्वभरका आफ्ना समर्थकहरुलाई विकिलिक्सको विपक्षमा रहेर आक्रमण गर्नेहरुविरुद्ध प्रत्याक्रमण गर्न आह्वान गरिरहेको छ। एउटै प्रयोगकर्ताबाट हजारौँ, लाखौँ रिक्वेस्ट पठाएर सर्भरलाई थामिनसक्नुको भार दिई साइट बन्द गर्न बाध्य बनाउने डिनायल अफ सर्भिस (डीडस) आक्रमण गैरकानुनी हो।
यो समूहले आज विकिलिक्सलाई आफ्नो सर्भर प्रयोग गर्न रोक लगाउने अमेरिकी कम्पनी अमेजनमाथि आक्रमण गर्ने घोषणा गरेको थियो। अमेजन कै सर्भरमा माइसंसार पनि रहेको छ। आक्रमणकारीहरुले अमेजन डट कममा मात्र आक्रमण गर्ने हुन् कि अमेजनको सर्भरमा नै आक्रमण गर्ने हो, त्यो उनीहरुले खुलाएका छैनन्। यदि सर्भरमा नै आक्रमण गर्ने हो भने त्यसमा होस्ट भएका हजारौँ साइट जस्तै माइसंसार पनि प्रभावित हुनसक्नेछ। तर यसको संभावना कम छ। भर्खरै, यो समूहले आज अमेजनमा नभई पेपालमा आक्रमण गर्न ट्विट गरी आह्वान गरेको छ।
अपडेट १: पेपालले विकिलिक्सको खातामा भएको सबै पैसा फिर्ता दिने घोषणा गरेको छ। तर उसले थप पैसा जम्मा गर्न भने प्रतिबन्ध कायमै राखेको छ।
अपडेटः यो समूहले अमेजनमा आक्रमण गर्ने योजना स्थगित गरेको छ र नयाँ मास्टरकार्ड, भिसा र अमेरिकी सिनेटको वेबसाइटलाई तारो बनाउने भएको छ।
एनोनाइमस समूहमा को-को छन्, खुलेको छैन। तर यसमा विश्वभरका मानिसहरु रहेको अनुमान गरिएको छ। विकिलिक्स संस्थापक जुलियन असान्जको गिरफ्तारीपछि यो समूह खुलेरै प्रत्याक्रमणमा उत्रिएको छ।
उनीहरुले सामान्य सफ्टवेयर प्रयोग गरेर वा सीधै कुनै लिङ्कमा गएर क्लिक गर्ने बित्तिकै चाहेको साइटमा आक्रमण गर्न सक्ने गरी आक्रमणलाई सहज बनाएका छन्।
यो समूहले यसअघि विकिलिक्सको खाता बन्द गर्ने स्वीस बैङ्कको साइट, मास्टरकार्डको साइट बन्द गराइसकेको छ। त्यसैगरी असान्जलाई मुद्दा लगाउने स्वीडिस प्रोसेक्युटरको साइट, विकिलिक्सको विरोधमा खुलेर लागेकी सराह पालिनको साइटमा पनि आक्रमण गरिसकेको छ।
विकिलिक्सले भने आफ्नो यो समूहसित सम्बन्ध नरहेको स्पष्ट पारेको छ। आक्रमणको बारे हामीलाई जानकारी दिइएको छैन भन्दै उसले भनेको छ- हामी यो आक्रमणको स्वागत पनि गर्दैनौँ, निन्दा पनि गर्दैनौँ।
द इकोनोमिक्सका एक संवाददाताले एनोनाइमस समूहका केहीसित कुरा गरेका थिए, त्यसमा उनले ह्याकरहरुको सूचिमा नेपालका पनि भएको उल्लेख यसरी गरेका छन्-
I am talking to members of a group called “Anonymous”, using a web-based collaborative text-editing service. It is the first such interview for all of us, and their answers begin to collide on the page. One member comes from Norway; another shows surprise, then offers that she is from New Zealand. Another writes that group members come from Nepal and Eastern Russia. They all speak through pseudonyms, but I don’t even know which psuedonym comes from what country because shortly after I read these answers, someone who calls himself “Tux” erases them all and writes
We are Everywhere. We are everyone. We are Anonymous.
यसैको पुष्टि हुने गरी माइसंसारमा केही कमेन्टहरु आक्रमण गर्न सजिलो हुने वेबसाइट र सफ्टवेयरको लिङ्क दिँदै आइरहेका छन्। माइसंसार स्पष्ट पार्न चाहन्छ- यस्तो गैरकानुनी कार्यलाई माइसंसारले समर्थन गर्न सक्दैन। जुलियन असान्ज र विकिलिक्सको पक्षमा भने माइसंसार छ। अहिलेसम्म यसले पत्रकारिताको सिद्धान्तभित्रै रहेर आफ्नो जिम्मेवारी पूरा गरेको माइसंसारको धारणा छ।
सामान्य रुपमा चर्चा हुने गरे जस्तो विकिलिक्सले अमेरिकी नेटवर्क ह्याक गरेर गोप्य दस्तावेजहरु चोरेर त्यसलाई जस्ताको तस्तै आफ्नो साइटमा राखेको हैन। यी दस्तावेजहरु उसले एक वर्षअघि नै हात पारेको हो। अमेरिकाको न्युयोर्क टाइम्स, बेलायतको गार्जियन, स्पेनको एल पाइस र जर्मनीको डेर स्पेइगेलसहित विश्वका पाँच प्रमुख प्रतिष्ठित सञ्चार माध्यमको सहकार्यमा निर्दोष र कसैलाई हानी पुग्न सक्ने व्यक्तिको नाम र सूचनालाई सेन्सर गर्दै सावधानीपूर्वक दस्तावेजहरु प्रकाशन गर्दै आएको छ विकिलिक्सले। ती पाँच सञ्चार माध्यमका करिब डेढ सय पत्रकारहरुको समूहले एक एक गर्दै विश्वभरका अमेरिकी दूतावासले पठाएका केबल जाँच्दै छानिएका दस्तावेज प्रकाशन गरिरहेका छन्। यसलाई अधिकांश सञ्चारमाध्यमहरुले पत्रकारिताको सिद्धान्त अनुरुप नै मानेका छन्। भियतनाम युद्धमा जनतालाई ढाँटेको दस्तावेज सार्वजनिक गर्न कानुनी लडाइँ लड्ने ड्यानियल एल्सवर्गले पनि विकिलिक्स कै पक्षमा बोलेका छन्। विकिलिक्सको खुलासाले पारदर्शी र जिम्मेवार सरकारको लागि सहयोग नै गर्ने उनको धारणा छ। दस्तावेज छापिनुअघि असान्जले अमेरिकी विदेश मन्त्रालयसित सम्पर्क गरी कुन कुन विषय सार्वजनिक नगर्दा ठीक होला भनी राय समेत मागेका थिए। तर अमेरिकाले चोरेको कागजातका विषयमा हामी कुनै प्रतिक्रिया दिन्नौँ भनेर पन्छिए।
आक्रमणसँगै असान्जको पक्षमा र विकिलिक्सको विरोधमा भइरहेको कार्यलाई रोक्न नैतिक दबाब दिने उद्देश्यले विभिन्न अभियान चलाइएको छ। असान्जको देश अस्ट्रेलियाको ब्रिसबेनमा आज साढे दुई सय जना जतिले असान्जको फोटो भएको मास्क लगाएर हामी सबै जुलियन असान्ज हौँ भन्दै विरोध प्रदर्शन गरेका छन्।
इन्टरनेटमा पनि विरोध जारी छ। आवाज डट ओआरजीले विकिलिक्सको समर्थनमा हस्ताक्षर संकलन थालेको छ। यसले ५ लाख हस्ताक्षर संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म २ लाखभन्दा बढी गरिसकेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment