Saturday, December 11, 2010

कानुनको 'क' थाहा नभएकाले बनाए संविधान

हामीलाई कानुनको ‘क’ पनि थाहा पाएका छैनौँ भन्दै आफूलाई गृहिणी बताउने एउटा समूहले आज नेपालको नमूना संविधान सार्वजनिक गरेको छ। यसले २ वर्षमा संविधान बनाउँछौँ भनी जनतालाई वाचा गरी चुनिएर आएकाहरुलाई नराम्रोसँग झापड दिएको छ। २ वर्षमा संविधान बनाउन नसकेपछि थपिएको एक वर्षको पनि ६ महिना बितिसक्यो। तर प्रधानमन्त्री, मन्त्री र सभासदहरु देशविदेश घुम्दै मस्त छन्।
यो समूहले बनाएको संविधान बडा अचम्मको छ। यसमा राष्ट्राध्यक्षका रुपमा संवैधानिक राजाको पनि व्यवस्था छ, राष्ट्रपतिको पनि। संविधान लागू हुनुभन्दा अघि जनमत संग्रह गर्ने रे, अनि राजाले त्यसमा ६० प्रतिशत मत ल्याए राजाको पुनर्बहाली गर्ने रे। अनि राष्ट्रपतिले ६० प्रतिशत मत ल्याए राष्ट्रपति रे। दुवैले ६० प्रतिशत ल्याउन सकेनन् भने नि ? कसो गृहिणीलाई नै राष्ट्राध्यक्ष बनाउने भनेर लेखेनछन्। त्यसैले त उनीहरुले सुरु मै भनेका होलान् नि कानुनको ‘क’ पनि थाहा छैन हामीलाई भनेर।
राष्ट्राध्यक्षको योग्यतामा त्यो संविधानमा लेखिएको छ 
[छ) तीव्र सचेत, ज्ञानी, सहासी, ज्यादै दयालु, र ज्यादै कठोर, ज्यादै जाँगरीलो, लोभ लालच नभएको, उसको आफ्नो भन्नु नै जनता, सम्पत्ति भन्नु नै देशको प्राकृतिक स्रोत जस्तै जमिन, जंगल, जलस्रोत, जडीबुटी र सीमा रेखा, इच्छा भन्नु नै सीमा रेखाभित्र रहेका प्राणी लगायत सम्पूर्ण वस्तुको आवश्यकता अनुसार सम्मानित र दण्डित गरेर सन्तुलित राज्य बनाऊनु, कर्तव्य भन्नु नै देशभित्र रहेका सम्पूर्ण प्राणीहरू लगायत अन्य सबै चल अचल कुराहरूको क्षमता र योग्यता हेरि सबैलाई व्यस्थतामा राख्नु, खुसी भन्नु नै आधारभूत कुराहरू जस्तै गास वास शिक्षा स्वस्थ्या जल मल बीउ ऊज्यालो आदिको व्यवस्था गरी देश सम्मानित भएर मुस्कुराऊनु, क्षमता भन्नु नै जनताको भावना अनुसार देश चलाऊनु र असल गुप्तचरको छनौट गर्न सक्नु जस्तै अत्यन्तै इमान्दार,भरसिलो र गोप्य व्यक्ति, पूर्व, पश्चिम, ऊत्तर,
दक्षिण,चारै दिशाको सीमा रेखाभित्र हिमाल, पहाड, तराईमा अटेका सबै नेपाली नागरिक मात्र नेपाली हो ।
(ज) रोगी, पागलपन, सन्कि, रिसाहा, धुर्त, नास्तिक, संस्कारहिन आदिबाट मुक्त भएको व्यक्ति । ]

हरे ! आजभोलिको जमानामा पनि यस्तो मान्छे पाइन्छ होला त कहीँ ? यो संविधानको नमूना हो कि दर्शन साहित्य ?
फेरि (च) नेपाल सरकारद्वारा मान्यता प्राप्‍त विश्‍वविद्यालयबाट स्‍नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने शर्त पनि रहेछ। यो संविधान लागू भयो भने त ज्ञानेन्द्र पछि राजा नै नहुने रहेछन्। पारसले स्नातकोत्तर गरेका छैनन्, ह्रदयेन्द्र अझै सानै छन्।
जे भए पनि यतिको संविधान बनाएर कामचोर सभासदहरुलाई गजबको व्यङ्ग्य भने गरेकै हुन् है यो समूहले भित्री मनसाय यिनीहरुको जे भए पनि।

No comments:

Post a Comment