Friday, December 10, 2010
विश्वविद्यालय र क्याम्पसलाई ब्यारेकमा परिणत गर्ने दाहालको चेतावनी
काठमाडौं, मंसिर २४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धिविरुद्ध प्रतिक्रान्तिकारीका षड्यन्त्र अझै रहिरहे विश्वविद्यालय र क्याम्पसलाई 'ब्यारेक'मा परिणत गर्ने चेतावनी दिएका छन् ।
दाहालले विश्वविद्यालय र क्याम्पसलाई ब्यारेकमा परिणत गरेर नेपाली क्रान्तिलाई निर्णायक मोडमा पुर्याउने दाबी गरे । 'जुन षड्यन्त्र अहिले प्रतिक्रान्तिकारीबाट भएको छ, त्यो षड्यन्त्र अझै तीब्र र घनिभूत हुने हो भने हाम्रा सवै विश्वविद्यालयहरु, क्याम्पसहरु एउटा व्यारेकमा परिणत हुन जरुरी छ,' शुक्रबार कीर्तिपुरमा अनेरास्ववियु (क्रान्तिकारी)को सम्मेलन उदघाटन गर्दै दाहालले भने, 'जसले अन्तिमरुपमा प्रहार गर्न सकोस् र नेपाली क्रान्तिलाई निर्णायक मोडमा पुर्याउन सकियोस् ।'
दाहालले युवा विद्यार्थीहरु फौजीकृतरुपमा अगाडि नआउने हो भने प्रतिक्रान्तिकारीहरुले मुलुकलाई धरापमा पार्ने दाबी गरे । 'म तपाईंहरुलाई जरुरी पर्नेवित्तिकै सवै यूनिभर्सिटी व्यारेकमा परिणत हुन र विद्यार्थीहरु फौजमा परिणत हुन तम्तयार हुन आव्हान गर्दछु,' दाहालले भने ।
नेपाली क्रान्तिमा तुषारापात हुन नदिने उल्लेख गर्दै दाहालले क्रान्तिको आफ्नो दलले नयाँ मोडेल दिने बताए । उनले नेपाली क्रान्तिको उपलब्धी अपहरण गर्न देशभित्र र बाहिरका शक्तिहरुले षड्यन्त्र सुरु गरेको जिकिर गरे ।
दाहालले गोरखाको पालुङटारमा भएको छैटौं विस्तारित बैठककाक्रममा परिवर्तनलाई रोक्न खोज्ने शक्तिहरुले माओवादीलाई फुटाउन र कमजोर पार्न निकै ठूलो मिहिनेत गरेको आरोप लगाए । विस्तारित बैठकमा नेतृत्वका लागि तछाँडमछाड नगरेको दाबी गर्दै दाहालले ७ हजारले ७ दिनसम्म नेपाली क्रान्ति पूरा गर्न लोकतान्त्रिक बहस गरेको स्पष्ट पारे ।
दाहालले सम्मेलनबाट संगठनलाई विभक्त नगरी एकताबद्ध भएर नयाँ रणनीति र नेतृत्व लिएर फर्कन विद्यार्थीहरुलाई आहृवान गरे । कार्यक्रममा उपाध्यक्षद्वय मोहन वैद्य, बाबुराम भट्टराईलगायतका नेता सहभागी थिए ।
उदघाटन समारोहमा अनेरास्ववियु अध्यक्ष माधव ढुंगोल, नेविसंघका कार्यवाहक अध्यक्ष गणेशराज विष्टलगायतले अखिल क्रान्तिकारी को १८ औं राष्ट्रिय सम्मेलनको सफलताको शुभकामना दिए ।
पाँच दिनसम्म चल्ने सम्मेलनमा क्रान्तिकारीका ४२ जिल्ला र केन्द्र गरी १ हजार ८ सय १८ प्रतिनिधि तथा पर्यवेक्षक सम्मेलनमा सहभागी हुनेछन् । बन्द सत्र शनिबारबाट सुरु हुने अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिए ।
तीन उम्मेदवार
क्रान्तिकारीको नयाँ नेतृत्वको लागि अध्यक्षमा तीन जना प्रतिस्पर्धी भए पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा भएको छैन । उपाध्यक्षद्वय युवराज चौलागाईं, रामदीप आचार्य र महासचिव हिमाल शर्माले अध्यक्ष दाबी नछाडेपछि पहिलेकै अध्यक्ष लेखनाथ न्यौपानेलाई दाहोर्याउने सम्भावना छ ।
न्यौपानेले सात वर्षदेखि विद्यार्थी संगठनको नेतृत्व गर्दै आएकाले पुनः इच्छुक नभए पनि पार्टीले जिम्मा दिएपछि नहट्ने बताइसकेका छन् । स्रोतका अनुसार चौलागाईं दाहाल पक्ष, आचार्य उपाध्यक्ष मोहन वैद्य र शर्मा अर्का उपाध्यक्ष बाबुराम भट्टराई पक्ष हुन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment