Sunday, December 12, 2010

सोभराजलाई कडा निगरानी/गोलघरभित्र राखियो


काठमाडौ, मंसिर २६ - सर्वस्वसहित जन्म कैद सजाय भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई गोलघरभित्र राखिएको छ । जेलभित्र गैरकानुनी क्रियाकलाप गर्ने, अन्य कैदीसँग झगडा गर्ने र संवेदनशील घटनाका कैदीलाई गोलघरमा राख्ने गरिन्छ ।
केन्द्रीय कारागार सुनधारामा रहेका सोभराजबाट प्रहरीले मोबाइल सेट र सिम बरामद गरेपछि थप कारबाहीस्वरूप गोलघरभित्र राखेको हो । उनीमाथि निगरानी राख्न २४ सै घन्टा एक प्रहरीसमेत परिचालन गरिएको छ ।
'जेलभित्र कहिलेकाहीं प्रहरीले छड्के जाँच गर्छ,' प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतले भने, 'सोभराजको व्यवहार शंकास्पद देखिएपछि उनलाई जाँच गर्दा मोबाइल फेला पर्‍यो ।'
स्रोतका अनुसार झन्डै एक महिनाअघि जाँच गर्न प्रहरी जेलभित्र पस्नेबित्तिकै उनी अत्तालिएका थिए । उनको साथबाट प्रहरीले एनसेल मोबाइलको दुई वटा सिम बरामद गरेको थियो । 'ठूलो घटनापछि फेरि त्यस्ता किसिमका क्रियाकलाप हुन नदिन थप कडाइ गरिएको हो,' केन्द्रीय कारागारका एक प्रहरीले भने, 'पहिले उनले प्रहरीलाई झुक्याएर मोबाइलमा कुरा गर्न सक्थे, अब त्यो सम्भावना रहँदैन ।'
एक वर्षअघि
पनि प्रहरीले उनको साथबाट मोबाइल सेट बरामद गरेको स्रोतले जनायो । घटनापछि प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले थप छानबिन गरेको थियो । सिमकार्ड र सेट भेटघाटका लागि आएको व्यक्तिले उपलब्ध गराएको हुन सक्ने प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डीआईजीपी राजेन्द्रसिंह भण्डारीले बताए ।
'भेटघाटका लागि आएको व्यक्तिले मोबाइल उपलब्ध गराएको देखिएको छ,' उनले भने, 'जेलभित्र भेटिएको हुनाले त्यसको थप अनुसन्धानका लागि फाइल जेल प्रशासनलाई जिम्मा लगाइएको छ ।' उनलाई भेट्न धेरैजसो उनकी पत्नी निहिता विश्वाश र सासू शकुन्तला जाने गरेको रेकर्डमा देखिन्छ ।
जेलमा कैदीलाई गैरकानुनी समान पुर्‍याइदिने व्यक्ति समेत कारबाहीको दायरामा पर्छन् । बाहिरका व्यक्तिलाई उनीसँगको भेटघाटमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने जेल प्रशासन र प्रहरीको मिलेमतोमै सोभराजलाई मोबाइल उपलब्ध गराएको दाबी गरे । 'कैदीलाई भेट्न जानेलाई जाँच गरेर भित्र पठाउने गरिन्छ,' ती अधिकृतले भने, 'भेट्न जानेको व्यक्तिगत प्रयोजनका मोबाइल, आइपोड, लगायतका सामान बाहिर राखिन्छ, मिलेमतोबिना मोबाइल कसरी पुग्यो ?
नेपालसहित थाइल्यान्ड, मलेसिया र इन्डोनेसियामा गरी १२ भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोगमा ५ वर्षेखि नेपाली जेलमा रहेका उनलाई गत साउन १४ गते सर्वोच्च अदालतले र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अमेरिकी महिला कोन्निजो ब्रोनिचजको हत्या गरेको अभियोगमा २०६१ साउन २८ मा जिल्ला अदालत काठमाडौंले उनलाई र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

No comments:

Post a Comment