न्युयोर्क- सामाजिक सञ्जाल फेसबुकका सञ्चालक मार्क जकरबर्ग र डस्टिन मोस्कोविचले आफ्नो अर्बौं सम्पतिमध्ये आधा दान दिने भएका छन्।
प्रसिद्ध लगानीकर्ता वारेन बफेट र माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सुरु गरेको अभियानमा जकरबर्गसहितका ५७ अमेरिकी अर्बपतिले दान गर्ने घोषणा गरेका हुन। बफेट, गेट्स र उनकी पत्नी मेलिन्डाले अमेरिकी अर्बपतिहरुलाई आफ्नै जीवनकालमा वा मृत्युपश्चात सम्पत्ति दानका लागि आग्रह गरेका थिए। उनीहरुको आग्रहलगत्तै बुधबारसम्म ५७ अर्बपतिले दान गर्ने इच्छापत्र पठाएका हुन। दातालाई पैसे दिनुपर्ने वा रकम खुलाउनुपर्ने भनिएको थिएन। 'हामीले प्रतिवद्धता मात्र खोजेका थियौं', बफेटले भने।
'मान्छेहरु दान गर्नका लागि अवकाशको उमेर पर्खेर बस्छन, अहिल्यै पर्याप्त दिन सकिन्छ भने किन कुरेर बस्ने,' जकरबर्गले भने। जकरबर्गले चार महिनाअघि न्यु जर्सीको एक स्कुललाई १० करोड डलर दिएका थिए। कम उमेरमै सफलताको शिखर चुम्नेको संख्या बढिरहेको अवस्थाको उपयोग गर्नुपर्ने सुझाव जकरबर्गले दिएका छन्।
'हाम्रै जीवनकालमा दानको प्रभाव कस्तो हुन्छ हेर्ने अवसर हामीले पाएका छौं,'उनले भने। फोब्स म्यागेजीनका अनुसार २५ वर्षिय जकरबर्गको खुद सम्पत्ति ४ अर्ब अमेरिकी डलर बराबर छ। उनले पटकपटक रकम नखुलाईकन दान गर्दै आएका छन्।
एओएलका सहसंस्थापक स्टीभ केस, लगानीकर्ता कार्ल इकान र माइकल मिल्कन पनि दानको घोषणा गर्ने कम उमेरका अर्बपतिको सूचीमा छन्। छोटो समयमै आफ्नो अभियानले गति लिएकोमा बफेटले प्रसन्नता व्यक्त गरेका छन्। उनले बिमा र लगानी कम्पनीमार्फत प्रचुर सम्पति कमाएका हुन। उनले आफ्नो ४४ अर्ब बराबर सम्पत्तिको ९९ प्रतिशत गेट्स दम्पतिबाट स्थापित कोषमा दान गरेका थिए। गेट्स दम्पत्तिले हालसम्म २८ अर्ब डलर दान गरिसकेका छन्।
'मैले धेरै भाग्यमानीहरु सँग
कुरा गरेको छु र उनीहरुबाट सकारात्मक जवाफ पाएको छु,' उनले भने- ' उनीहरुको दानले धेरै सकारात्मक परिवर्तन ल्याउन सक्छ।'
फोब्स म्यागेजीनका अनुसार अमेरिकामा ४ सयभन्दा बढी अर्बपति छन्। सन २००९ मा मात्रै धनी अमेरिकीहरुले २ खर्ब २७ अर्ब डलर दान गरेका थिए।
No comments:
Post a Comment